कारोबार


सुर्खेतबाट ३ हजार ९ सय खसी काठमाडौँ पठाइयो

सुर्खेतबाट ३ हजार ९ सय खसी काठमाडौँ पठाइयो

फाइल फाेटाे


नेपालखबर
असोज १४, २०७९ शुक्रबार १९:५९, सुर्खेत

बडादसैँका लागि सुर्खेतबाट तीन हजार नौ सय खसीबोका राजधानी पठाइएको छ। सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध महिला सदस्यले पालेका तीन हजार ९५८ वटा खसी काठमाडौँ पठाइएको हो। 

चाडपर्वसँगै बजारमा खसीबोकाको अभाव देखिएका बेला महिलाले उत्पादन गरेका खसीबोका काठमाडौँमा पठाएको ‘पशु वस्तुको मूल्य श्रृङ्खलामा आधारित सानाकिसानको संस्था सवलीकरण परियोजना’ का संयोजक पदमबहादुर दलामीले जानकारी दिए। उक्त परियोजना हेफर इन्टरनेसनल नेपाल र सुन्दर नेपाल संस्थाले सञ्चालन गरेको हो।

परियोजनामार्फत उद्यमी महिलाले उत्पादन गरेका खसीबोकाको न्यूनतम मूल्यसमेत निर्धारण गरिएको छ। जसअनुसार जिउँदो खसी प्रतिकिलो रु ५०० देखि रु ५३० मूल्य तोकिएको छ। पशु क्वारेन्टाइन मापदण्डअनुसार स्वस्थ प्रमाणपत्रका आधारमा खसीबोका खरीद गरेर काठमाडौं पठाइएको पनि परियोजना संयोजक दलामीले जानकारी दिए। 

सुर्खेत जिल्लास्थित सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था, त्रिवेणी, सफल, उपहार सामाजिक, भेरी किनारा सामाजिक, सम्झौता, लाटीकोइली र उत्तरगङ्गा सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँ लक्षित खसीबोका बिक्री गरिरहेका छन्। सहकारीले दसैँतिहारको अवधिमा मात्र ६ हजार ८०० खसीबोका बिक्री गर्ने लक्ष्य राखेको परियोजना संयोजक दलामीले जानकारी दिए।

महिलालाई व्यावसायिक बाख्रापालनबाट आत्मनिर्भर गराउन कृषि तथा पशुपालन व्यवसायमा सहकारीले सदस्यलाई वित्तीय सहयोग गरिरहेको छ। सहकारीले माछापुच्छ्रे बैङ्क, एभरेस्ट बैङ्क, आरएमडीसी, आरएसडीसी र राष्ट्रिय सहकारी विकास बैङ्कलगायत वित्तीय संस्थासँग समन्वय गरी सदस्यलाई सहुलियत कर्जा उपलब्ध गराउन थालेपछि सदस्य व्यावसायिक बाख्रापालन व्यवसाय गरिरहेका छन्। 

परियोजनामार्फत प्राविधिक र बजारीकरणमा पनि सहयोग गरिरहेको संयोजक दलामीले जानकारी दिए। परियोजनाले सहकारीको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउनका साथै महिला सदस्यलाई बाख्रापालनसम्बन्धी तालिम पनि दिइरहेको छ। सहकारीले सङ्कलन केन्द्रमार्फत खसीबोकाको बजारीकरण गर्न थालेपछि उद्यमी महिलाले उचित मूल्य प्राप्त गरेको बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad