ad ad

कारोबार


विश्वकपमा व्यापारीकरण : नेपालमै उठाइँदै ७२ करोड, तर धेरै नेपालीले हेर्न पाउँदैनन्

तोकियो प्रतिसेटअप बक्स ५ सय रुपैयाँ अतिरिक्त शुल्क
विश्वकपमा व्यापारीकरण : नेपालमै उठाइँदै ७२ करोड, तर धेरै नेपालीले हेर्न पाउँदैनन्

फाइल तस्बिर


दीपक भट्ट
कात्तिक ३, २०७९ बिहिबार २०:५३, काठमाडौँ

विश्वकप फुटबलका लागि अन्ततः प्रतिसेटअप बक्स ५ सय रुपैयाँ उठाउने निर्णय भएको छ। 

केवल टेलिभिजन व्यवसायी, नेपालमा विश्वकप फुटबल प्रसारण अधिकार लिएको मिडिया हब र प्रसारण गर्ने टेलिभिजन च्यानलबीच प्रतिग्राहक ५ सय रुपैयाँ उठाउने निर्णय भएको हो।

यसैगरी नेपालमा विश्वकप फुटबल निजी क्षेत्रको हिमालयन टेलिभिजनबाट देखाइने भएको छ। प्रसारणका लागि कान्तिपुर र हिमालयन टेलिभिजनले चासो राखेका थिए। 

विश्व फुटबल महासंघ (फिफा) सँग यो वर्ष टेरिटोरी लक हुने व्यवस्थासहित प्रसारण अधिकार लिएको मिडिया हबका अनुसार ग्राहकसँग थप शुल्क लिने निर्णय भएको हो। 

अब प्रतिसेटअप बक्सअनुसार पैसा उठाउने सूचना दिन मात्रै बाँकी छ। मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले नेपालखबरलाई बताएअनुसार यो वर्ष सबै गरेर ४० करोडको लागतमा फिफाबाट अधिकार लिइएको थियो। 

जसअनुसार उपभोक्ताबाट थप रकम लिन लागिएको धितालले बताएका छन्।

‘७ देखि ८ लाख ग्राहकले थप शुल्क तिर्ने अनुमान छ। नेटटीभी, क्लियर टीभी, डिस होम, भायोनेटलगायत सबै च्यानलका सेटअप बक्स आधारित भएर थप शुल्क लिने निर्णय भएको हो,’ उनले भने। 

ओटीभी प्लेटफर्मबाट समेत विश्वकप देखाउन अन्तिम छलफल भइरहेको छ। त्यसमा नेपाल टेलिकम र एनसेलसँग छलफल भएको छ। तर निर्णय भइसकेको छैन। 

एनसेल र एनटीसीमध्ये एकले अधिकार लिए २० देखि २२ करोड रुपैयाँसम्ममा कुरा मिलाउने गरी छलफल हुँदै छ। दुई कम्पनीले लिँदा कम्पनीहरूबाटै प्रस्ताव गर्न मिडिया हबले भनेको छ। 

धिताल भन्छन्, ‘सम्भवत: ओटीटी प्लेटफर्मबाट समेत विश्वकप देखाइने छ।’ 

मिडिया हब प्रालिका कार्यकारी निर्देशक सोम धिताल आफैँ नेपाल विज्ञापन संघका अध्यक्षसमेत हुन्। 

यो वर्षको विश्वकपमा १० करोड हाराहारीमा विज्ञापनबाट मात्रै आम्दानी हुने अनुमान उनको छ। 

उनीहरूको अनुमानलाई आधार मान्ने हो भने टेलिभिजन ग्राहकसँग पैसा लिँदा ४० करोड आम्दानी हुने देखिएको छ।

८ लाख ग्राहकबाट ५ सयको दरले ४० करोड शुल्क संकलन हुन्छ। नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीका अनुसार नेट भीभीका १४ लाख हाराहरी ग्राहक छन्। 

अन्य सबै गरेर २० लाख हाराहारीमा टेलिभिजनका ग्राहक रहेको देखिन्छ। तीमध्ये ४० देखि ५० प्रतिशतले थप शुल्क तिर्न सक्ने अनुमान छ। 

जसअनुसार ८ लाख ग्राहकले थप शुल्क तिरेमा ४० करोड रुपैयाँ आम्दानी टेलिभिजनको ग्राहकबाट उठ्ने अनुमान छ। त्यसमा थप ओटीटी प्लेटफर्मबाट २० देखि २२ करोड रुपैयाँ असुल गर्नेगरी छलफल भएको छ। 

पैसा कस–कसले पाउँछन्?
कतारमा हुने विश्वकप फुटबलका खेलको प्रसारणमा संलग्नहरूको अनुमानअनुसार टेलिकम कम्पनीबाट २२ करोड, ८ लाख ग्राकबाट ४० करोड, विज्ञापनबाट १० करोड गरेर ७२ करोड आम्दानी हुन सक्छ। 

विज्ञापनबाट पनि गतिलो आम्दानी हुने अनुमान गरिएको १० करोड जुन टेलिभिजनबाट प्रसारण हुन्छ, उसैलाई र मिडिया हबकहाँ जान्छ। आपसी समझदारीमा आम्दानी बाँडफाँट गर्ने गरी छलफल भएको छ। 

तर, त्यसको भुक्तानी लिन समय लाग्न सक्ने देखिएको छ। विज्ञापनदाताले भुक्तानी गरिसकेपछि उनीहरूको हातमा पैसा पर्छ। 

तर, जुन पैसा ग्राहकबाट उठाइन्छ, त्यो रकम विश्वकपअगाडि नै जम्मा हुन्छ। त्यो पैसा केवल टीभी व्यवसायी र मिडिया हबको हातमा जान्छ।

ग्राहकबाट उठाइने रकमको ७० प्रतिशत मिडिया हबले र बाँकी ३० प्रतिशत केवल टेलिभिजनहरूले लिने सहमति भएको छ। 

अध्यक्ष पराजुलीका अनुसार डिलर सबडिलर जसले पैसा उठाउँछन्, उनीहरूलाई छुट्याउनुपर्ने हुन्छ। त्यसपछि बाँकी ७० प्रतिशत मिडिया हबलाई दिने उनको भनाइ छ। 

‘पैसा धेरै उठाएको देखिए पनि धेरैतिर बाँडफाँड हुने भएकाले त्यो रकम स्वाभाविक हो’, उनले भने।

ग्राहकलाई मर्का पर्दैन?
अध्यक्ष पराजुलीका अनुसार यसरी निश्चित च्यानललाई पैसा तिर्ने व्यवस्था भारत लगायत अन्य देशमा पहिलेदेखि नै छ। 

‘नेपालमा यस्तो व्यवस्था नभएकाले नेपालीलाई नयाँ लागिरहेको छ’, उनले  भने, ‘तर यो स्वाभाविक प्रक्रिया हो।’

नयाँ प्रयोग भएकाले ग्राहकहरू केही अलमलमा परेको उनले बताए।

‘नेपालमा यो नितान्त नयाँ प्रयोग भएकोले केही असहज लागेको हो। तर यो विश्वकप हेर्न थप शुल्क तिर्नैपर्छ। त्यसमा पछि हटिँदैन’, उनले भने। 

रकम धेरै उठाइँदैछ नि भन्ने प्रश्नमा उनले भने,  ‘कुनै एक तहमा मात्रै पैसा जाने भए धेरै हुन्थ्यो। तर त्यसको भ्यालुएड तीन लियरमा हुने भएकाले यति रकम स्वाभाविक हो।’

विज्ञापन संघमै असन्तुष्टि
यो विषयमा नेपाल विज्ञापन संघ फुटेको छ। नयाँ संगठनका रूपमा जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय विज्ञापन संघ दर्ता भएको छ। 

यसरी फुट्नुलाई विश्वपकसँग पनि जोडिएको छ। तर संघका अध्यक्ष सोम धिताल विश्वकप प्रसारण र संगठन फुट्नुलाई संयोग मात्रै भएको बताउँछन्। 

‘केही साथीहरूले विज्ञापन संघको काम कारबाहीलाई लिएर असन्तुष्टि जनाउनुभएको हो। तर त्यसमा विश्वकप जोडिएको छैन’, उनले भने, ‘विश्वकप प्रसारण बिजनेस र त्यससँग सम्बन्धित काम हो। संगठन भनेको हाम्रा हकहितका विषय राख्ने ठाउँ हो। यसमा उनीहरूको असहमति छैन।’

ग्राहकबाटै थप पैसा किन?
पहिलेका विश्वकपमा टेलिभिजन च्यानललाई तिर्ने नियमित शुल्कमै प्रतियोगिता हेर्न पाइन्थ्यो। तर यसपटक यो प्रणालीभन्दा फरक व्यवस्था (सब्सक्रिप्सन लिनुपर्ने) लागू गरिएको छ।

नेपालमा त्यसका लागि उपभोक्ताले अतिरिक्त शुल्क पनि तिर्नुपर्ने भएको हो। विश्वकप खेल प्रसारणको अधिकार यो वर्ष मिडिया हब प्रालिले पाएको छ। 

मिडिया हबले विश्व फुटबल महासंघसँग प्रसारण अधिकार लिँदा ‘टेरिटरी लक’ हुने प्रावधानकोसमेत अधिकार लिएको छ। 

जुन फिफाले यो वर्षदेखि लिएको नीतिअनुसार नै भएको हो। अर्थात् विश्वको कुनै पनि देशको च्यानल नेपाली केबल नेटवर्कमार्फत आउँछ भने त्यसमा विश्वकप प्रसारण हुँदैन।

यसले विदेशी च्यानलबाट विश्वकप नदेखिने र नेपाली च्यानलले नेपाली भूमिमा मिडिया हबले अनुमति दिएबाहेक टेलिभिजन च्यानलमा प्रसारण हुने छैन। 

यो वर्ष नयाँ व्यवस्थाअनुसार प्रसारण गर्न लागिएकोले थप शुल्क उठाउने निर्णय भएको मिडिया हबको भनाइ छ। 

मिडिया हबको अनुमानअनुसार २० लाख टेलिभिजनका ग्राहकमध्ये बढीमा ८ लाखले मात्रै थप शुल्क तिर्न सक्छन्। जुन अनुमान सही भए धेरै नेपालीले विश्वकै सबैभन्दा लोकप्रिय फुटबलको महाकुम्भ हेर्न पाउने छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .