कारोबार


चुनावलाई लक्षित गर्दै ऊर्जामन्त्रीले ल्याइन् ‘अबको भिजन, गुणस्तरीय जीवन’

चुनावलाई लक्षित गर्दै ऊर्जामन्त्रीले ल्याइन् ‘अबको भिजन, गुणस्तरीय जीवन’

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १६:३९, काठमाडौँ

चुनाव मिति नजिकिँदै जाँदा नेताहरु मतदाताको विश्वास जित्ने प्रयासमा छन्। 

सोही सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि चुनाव जितेपछि गर्ने कामबारे मतदातालाई सुसूचित गरेकी छिन्। 

मन्त्री भुसालले ‘अबको भिजन, गुणस्तरीय जीवन’ सार्वजनिक गरेकी हुन्। 

‘विगतमा ललितपुरबासीबाट पाएको माया र विश्वास आज मेरो राजनीतिक जीवनको महत्वपूर्ण सम्पतिका रुपमा अभिलेखित हुनपुगेको छ। आज फेरि म जनताबाट अनुमोदित भएर राष्ट्रिय राजनीतिमा ललितपुरका जनताको प्रतिनिधित्व गर्ने दौडमा छु’, उनले भनेकी छिन्, ‘जति धेरै मत त्यति धेरै आत्मविश्वास र राष्ट्रिय राजनीतिमा जिम्मेवारी प्राप्त हुन्छ । सदाझै अझ प्रभावकारी र सशक्त तथा सेवामैत्री, प्रगतिउन्मुख र स्वाभिमानी जनप्रतिनिधिका रुपमा महत्वपूर्ण भूमिका खेल्नेछु।’

ललितपुरबासीका लागि कला, संम्पदा, संस्कृति र परम्पराको प्रवद्र्धन समृद्धिको महत्वपूर्ण आधार भएकाले यसलाई नै यहाँका हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोड्नुपर्ने उनको भनाइ छ। 

व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवद्र्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू गर्नुपर्ने बताउँदै उनले त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक रहेको उल्लेख गरेकी छिन्। 

यसरी अबको पाँच वर्षमा ललितपुरबासीको गुणस्तरीय जीवन जिउने आधार तयार हुने उनको भनाइ छ। 

‘जुन समाजवादको प्रस्थान विन्दु पनि हो । त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न हामी प्रतिबद्ध छौँ’, उनले भनेकी छिन्। 

मन्त्री भुसाल ललितपुर क्षेत्र नं ३ बाट चुनाव लड्दै छिन्। 

यस्ता छन् ऊर्जामन्त्रीले औँल्याएका गुणस्तरीय जीवनका लागि तीन आधारभूत पिल्लर (जस्ताको त्यस्तै) 

क) अर्थतन्त्र
ख) पर्यावरण/वातावरण
ग) समाज


(क) पर्यटनमा आधारित अर्थतन्त्र

गुणस्तरीय जीवनका लागि एक महत्वपूर्ण खम्बा भनेको अर्थतन्त्र हो । यहाँको अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग व्यापक परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।

  • ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार गरिने ।
  • रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गरिने ।
  • हस्तकला (मूर्ति, काष्ठ, चित्र) केन्द्रहरूको स्तरोन्नति गरिने ।
  • पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गरिने ।
  • स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनःनिर्माण, संरक्षण र उपयोग गरिने ।
  • पर्यटन उद्यमलाई प्रोत्साहन गरिने ।

(ख) पर्यावरणमैत्री पूर्वाधार

ललितपुरबासीले सुन्दर पर्यावरणमा रमाउन पाउनुपर्छ । स्वच्छ वातावरणमा रहेर सामाजिक–आर्थिक गतिविधि गर्न पाउनुपर्छ । त्यसका लागि पर्यावरणमैत्री पूर्वाधार विकास गर्ने र ललितपुरबासीले गर्व गर्न लायक शहर निर्माण गर्न म विगतमा झै प्रतिबद्ध छु ।

  • निर्माणाधीन बाग्मती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने । 
  • विकास निर्माणका निकायहरुबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने ।
  • गुणस्तरीय सुरक्षित सडक र सुविधा सम्पन्न यातायात व्यवस्था गरिने ।
  • अध्ययन सम्पन्न भएका स्थान (ग्वार्को, सातदोबाटो र एकान्तकुना) मा फ्लाइओभर निर्माण गरिने ।
  • स्थानीय सरकारको सहकार्यमा प्राकृतिक स्रोतको संरक्षण, उपभोग÷स्थानीय स्रोतको सामुदायिकीकरण गरिने ।
  • स्वच्छ पर्यावरणका लागि विद्युतीय साधनकोे प्रवद्र्धन गरिने ।
  • जनसहभागितामुलक सरसफाइ तथा वृक्षारोपणलाई प्रोत्साहन गरिने ।
  • कृषि पर्यटनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बजारीकरण गरिने ।

    
(ग) समतामूलक समाज
स्वतन्त्रतासहितको समतामूलक समाज निर्माणका लागि युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित सबै समुदायका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गरिनेछ ।

  • हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन । 
  • महिला हिंसाको उन्मूलन, हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका ।
  • महिलाको वित्तीय अधिकार÷आर्थिक आत्मनिर्भरताका कार्यक्रम ।
  • स्थानीय युवाका लागि रोजगारमूलक तालिम, फेलोशिप, इन्टर्नशिप र व्यवसायको अवसर ।
  • बहुराष्ट्रिय कम्पनीसँग युवा उद्यमीलाई जोडिने ।
  • ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गर्ने ।
  • क्लब र समूहलाई सबल तुल्याई परिचालन । 
  • शैक्षिक तथा उद्यम ऋणको कार्यान्वयनमा सहजीकरण । 
  • ज्येष्ठ नागरिक र दीर्घ रोगीका लागि स्वास्थ्यमा विशेष पहुँचको सुनिश्चितता । 
  • ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचनाको निर्माण तथा प्रवद्र्धन ।
     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .