ad ad

कारोबार


काठमाडौंका आकाशमा ‘होल्ड’ हुनेछैनन् जहाज, भैरहवाले गर्दै छ उडान ‘सेयर’

अब व्यावसायिक कार्गो र सबै प्यासेन्जर चार्टर्ड उडान भैरहवाबाट
काठमाडौंका आकाशमा ‘होल्ड’ हुनेछैनन् जहाज, भैरहवाले गर्दै छ उडान ‘सेयर’

वसन्त अर्याल
कात्तिक १७, २०७९ बिहिबार ७:४५, काठमाडौँ

सञ्चालनमा आएको ५ महिनासम्म पनि ‘बिजनेस’ नपाएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब भने उडानको चहलपहल बढ्ने देखिएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान भर्ने स्वदेशी हवाइ कम्पनीलाई उडान भर्न बाध्य पारेपछि देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस पाउने भएको हो। 

उक्त विमानस्थल गत जेठ २ देखि औपचारिक सञ्चालनमा आएको थियो। तर जजिरा एयरवेजबाहेक त्यहाँबाट अन्य कम्पनीले उडान थालेका छैनन्।  

अब भने प्राधिकरणले हिमालय र नेपाल एयरलाइन्सलाई भैरहवाबाट उडान भर्न अनिवार्य गरेको छ। 

सोसँगै हिमालय एयरलाइन्सले बिहीबारदेखि भैरहवाबाटै नियमित चार्टर्ड उडान गर्दै छ। त्यसका लागि कम्पनीले भैरहवामा आफ्ना प्रविधिक पठाइसकेको छ। 

भैरहवा विमानस्थलमा वाइडबडी (रासस)

यसबाहेक नेपाल एयरलाइन्स पनि भैरहवाबाट उडान भर्न तयार देखिएको छ।

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले उडान संख्या बढेसँगै विमानस्थलको बिजनेस बढ्ने बताए। 

‘हिमालयले बिहीबारबाट दैनिक चार्टर्ड उडान गर्दै छ। नेपाल एयरलाइन्सले १ महिनाभित्रै उडान गर्छु भनेको छ’, दाहालले नेपालखबरसँग भने, ‘यसबाहेक एयर अरेबियाका अधिकारी पनि भैरहवा आएका थिए। उनीहरुले समेत नियमित उडान गर्ने बताएका छन्।’

भैरहवा विमानस्थलको खर्च उठाउन दैनिक ४–५ उडान हुनुपर्छ। तर अहिलेसम्म जजिरा एयरवेजले मात्रै हप्ताको ३ वटा उडान गरिरहेको छ। ३० अर्ब बढी लगानी भएको विमानस्थलमा स्वदेशकै हवाइ कम्पनी जान नमानेपछि नियामक निकाय कडा रुपमा प्रस्तुत भएको हो।  

एयर अरेबियाका अधिकारीले समेत नेपालकै ध्वजावाहकले भैरहवाबाट किन उडान नगरेको भन्दै प्राधिकरणसँग प्रश्न गरेका थिए। विदेशी कम्पनीले नै प्रश्न उठाउनथालेपछि नेपाली कम्पनीहरुप्रति कडा हुन प्राधिकरण बाध्य भएको हो।  

प्राधिकरणले अक्टोबर ३० बाट २५ मार्च २०२३ सम्म शीतकालीन उडानतालिका सार्वजनिक गर्दै हिमालय र नेपाल एयरलाइन्सका १० प्रतिशत उडान कटौती गरेको छ। पुरानै तालिकाअनुसार उडान गर्न खोजेको नेपाल एयरलाइन्सको जहाज प्राधिकरणले काठमाडौंमै रोकिदिएको थियो। 

प्राधिकरणका उडान अनुमति शाखा प्रमुख ज्ञानेन्द्र भुलले ४–५ महिनाअघिबाटै हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सलाई आग्रह गरे पनि उडान गर्न नखोजेपछि भैरहवा जान कडाइ गरेको बताए। 

‘३ वटा उडान वा सोभन्दा बढी उडान भएकालाई भैरहवाबाट उडान गर्नुपर्ने निर्णय गरेका छौँ। अहिले १० प्रतिशत उडान भैरहवाबाट गर्नुपर्छ’, उनले नेपालखबरसँग भने। 

योसँगै दैनिक काठमाडौंबाट ४ वटा उडान गरेको छ भने एउटा भैरहवा जानुपर्नेछ। 

‘३ भन्दा बढी उडान गर्ने विदेशी कम्पनीलाई डिसेम्बर १५सम्म (मंसिर मसान्त) समय दिएका छौँ’, भुलले थपे, ‘ती कम्पनीले अनिवार्य भैरहवाबाट उडान गर्नुपर्छ, नभए उडान अनुमति दिँदैनौँ।’

प्राधिकरणले भैरहवामा राज्यको अर्बौँ लगानी भएको बताउँदै त्रिभुवन विमानस्थलमै कोचिएर आकाशमा जहाज होल्ड हुने अवस्था अन्त गर्नुपर्ने तर्क गर्दै आएको छ। 

त्यसमाथि त्रिभुवन विमानस्थलको ट्याक्सी वे मर्मतसम्भार गर्नुपर्ने अवस्था रहेकाले कम्पनीहरुले निश्चित उडान भैरहवाबाट गर्नुको विकल्प नरहेको प्राधिकरणको भनाइ छ। 

केही समयअघि प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई अनिवार्य उडान नगरे काठमाडौं उडान थप नगर्ने पत्र काटेको थियो। 

‘विदेशी एयरलायन्सलाई जबर्जस्ती भैरहवा जाऊ भन्न सकिँदैन। नेपाली ध्वजावाहकले आफ्नो देशको विमानस्थल हो, आफैँ पनि सोच्नुपर्यो नि!’, प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीले भने, ‘वायुसेवा कम्पनी बिजनेस बढाउन भैरहवा जानैपर्छ, नभए रोकिन्छ।’

श्रमिकलाई काठमाडौं आउनैपर्ने बाध्यता
गौतमबुद्ध विमानस्थलको बिजनेस बढाउन प्राधिकरण आक्रामक भए पनि अरु वैदेशिक रोजगारीका लागि विदेशिने श्रमिकका लागि सम्बन्धित कार्यालय नखुल्दा काठमाडौं आउनुपर्ने बाध्यता ज्युँकात्युँ छ। 

‘श्रम स्वीकृति भैरहवाबाट हुनलागे पनि मेनपावर कम्पनी, मेडिकल र भिसा सेन्टर काठमाडौंमा हुँदा अप्ठ्यारो छ’, महाप्रबन्धक दाहालले भने, ‘सबैको कार्यालय भैरहवामै खुल्नुपर्छ।’

त्यसबाहेक भैरहवाबाट उडान गर्न सिधा हवाइ रुट पाउनसकिएको छैन भने मौसमसम्बन्धी उपकरण राख्दा समेत भारतीय क्षेत्र छोएको भन्दै अनुमति छैन। 

जजिरा एयरवेजको जहाज पहिलोपटक भैरहवा विमानस्थल आइपुग्दा स्वागत गरिँदै (रासस)

व्यावसायिक कार्गो र सबै प्यासेन्जर चार्टर्ड उडान भैरहवाबाट
प्राधिकरणका प्रवक्ता जगतनाथ निरौलाले व्यावसायिक कार्गो र चार्टर्ड उडान भैरहवाबाट हुने बताए। 

‘कार्गो पूर्णरुपमा भैरहवाबाट उडान गर्नुपर्ने निर्णय भएको छैन। कार्गोको प्रकृतिअनुसार त्रिभुवन वा गौतमबुद्ध विमानस्थलको लागि स्वीकृत गर्छौँ’, निरौलाले भने, ‘विशेष प्रकृतिका चार्टर्ड, नेपाल सरकारको अनुरोधमा हुने चार्टर्ड काठमाडौंबाट हुन्छन्। व्यावसायिक प्रकृतिका अधिकांश चार्टर्ड भैरहवाबाट हुन्छ।’

उनले यात्रु बोकेर हुने सबै चार्टर्ड उडान भैरहवाबाट हुने बताए। 

‘अहिलेसम्म अनुमति लिएकाले काठमाडौंबाट उडान गर्न पाउँछन्। अब चार्टर्ड उडानको अनुमति लिनेले भैरहवाबाट मात्रै पाउँछन्’, उनले थपे। 

तर काठमाडौंलाई लक्षित गरी ल्याउने वस्तु भैरहवाबाट मात्रै चार्टर्ड गर्न दिए व्यवसायीलाई अप्ठ्यारो हुनसक्छ। प्राधिकरणले भने भैरहवामा कार्गो गर्नेलाई शुल्क नलाग्ने व्यवस्था गरेकाले व्यवसायीलाई फाइदा हुने दाबी गरेको छ। 

‘त्रिभुवन विमानस्थलमा कार्गो व्यवसायीले बढी शुल्क तिर्नुपर्छ तर भैरहवाबाट कार्गो गर्दा थोरै मात्र तिरे पुग्छ’, निरौलाले भने, ‘भैरहवा, विराटनगर नाकाबाट काठमाडौं सामग्री ल्याइरहेका छन्। ल्याउन नसक्ने भन्ने हुँदैन।’

आन्तरिक उडानमा सस्तो टिकट 
भैरहवा विमानस्थल प्रयोग गरी विदेश उडान तथा अवतरण गर्ने यात्रुले आन्तरिक हवाइ यात्रा गर्दा छुट दिने तयारी पनि प्राधिकरणले गरेको छ।

प्राधिकरण र आन्तरिक हवाइ सेवाप्रदायक कम्पनीबीच विदेश जाने वा विदेशबाट आउनेलाई छुट दिने विषयमा छलफल भएको छ। 

‘कुनै पोखराको यात्रुलाई भैरहवा विमानस्थल प्रयोग गरी विदेश जानुपर्दा आन्तरिक विमानस्थलमा सस्तो भाडा लिन सकिन्छ’, प्रवक्ता निरौलाले भने, ‘विदेशबाट अवतरण गरी भैरहवाबाट काठमाडौं जानुपर्दा सस्तो टिकट उपलब्ध गराउने सहमति भइसकेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .