ad ad

कारोबार


भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : यात्रुलाई अनेक समस्या, एयरलाइन्सलाई चुनौतीको चाङ

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : यात्रुलाई अनेक समस्या, एयरलाइन्सलाई चुनौतीको चाङ

फाइल तस्बिर


वसन्त अर्याल
कात्तिक १९, २०७९ शनिबार ९:३१, काठमाडौँ

मकवानपुरका सुवास थिङ पहिलो पटक रोजगारीका लागि मलेसिया जाँदै थिए। थिङलाई बुधबार राति १२ः१० (बिहीबार बिहान) बजे उडान छ भन्दै काठमाडौं बोलाइयो। उनले हिमालय एयरलाइन्सको टिकट काटेका थिए। 

त्रिभुवन विमानस्थला जाने तयारीमा रहेका थिङलाई म्यानपावर कम्पनीले कार्यालय बोलायो। म्यानपावरले उडान काठमाडौंबाट नभइ भैरहवाबाट हुन लागेको जानकारी दियो। 

बिहीहबार हिमालयले भैरहवाबाट पहिलो उडान भर्दै थियो। काठमाडौंबाट उड्न तयार यात्रुलाई भैरहवा लैजाने व्यवस्था गरियो। म्यानपावर कम्पनीले सुवाससहित मलेसिया जाने यात्रुलाई बसमार्फत भैरहवा पुर्‍याए।

‘शुरुमा भैरहवाबाट उडान हुने कुनै जानकारी थिएन,’ बोर्डिङ पास लिई जहाज चढ्न कुरिरहेका थिङले सुनाए, ‘म्यानपावर कम्पनीले नै भैरहवा ल्याइदिएको हो।’

१५–२० वटा कम्पनीका यात्रु भैरहवा पुगेका थिए। म्यानपावर कम्पनीले नै ४ वटा बसमा काठमाडौं आएका यात्रुलाई रातारात भैरहवा पुर्‍याएका थिए। 

‘काठमाडौंबाट उडान हुनुपर्ने हो। तर हुन सकेन। भैरहवामा नयाँ उडान गर्ने भनेर हाम्रो टिकट यताबाट मिलाइदिएछ,’ उनले भने, ‘१३ घण्टासम्म नाइट बसको यात्रा गर्दा गाह्रो भयो।’ 

उनीसँगै मलेसिया जना लागेका अजित सुमीले भैरहवा आसपासकालाई एयरपोर्ट आउन सजिलो भए पनि काठमाडौंतिरकालाई ग्राहो हुने सुनाए। 

उनीहरु काठमाडौंबाट भैरहवा आउँदा अप्ठेरो भए पनि गौतमबुद्ध विमानस्थलबाट पहिलो यात्रुका रुपमा जान पाउँदा खुसी देखिए। 

‘हिमालयको पनि पहिलो उडान हामी पहिलो यात्रु । यहाँबाट उडान गर्न पाउँदा एकदमै उत्साहित छौँ,’ थिङले थपे। 

थिङ र सुमी दुवैजना पहिलो पटक विदेश जाँदै थिए। उनीहरु पहिलो पटक लामो यात्राको जहाज चढ्दै थिए। 

त्रिभुवन विमानस्थल हेरेका उनीहरुलाई काठमाडौंको भीगभन्दा भैरहवा धेरै शान्त लाग्यो।

‘फस्ट फस्ट भएर होला माहोल (चाप) त कम देख्यौँ,’ सुमी भन्छन्, ‘हिमालयको पहिलो उडानमा हामी नै पर्‍यौं। खुसी लागेको छ।’ 

विमानस्थलमा चाप कम हुँदा खुल्ला देखिन्छ। जेठ २ गतेबाट जजिरा एयरले भैरहवा–कुवेत उडान शुरु गरे पनि नयाँ कम्पनी थपिन सकेका थिएनन्। कात्तिक १७ गतेसम्म जजिरा एयरले २१ हजार ७०३ यात्रु ओसारपसार गरेको छ। 

यात्रुहरु भैरहवाबाट उडान गर्न पाउँदा उत्साहित भएपनि दुःख सँगसँगै रहेको छ। वैदेशिक रोजगारीका लागि जाने एक पटक काठमाडौं आउनु पर्ने बाध्यता नै छ। 

श्रम कार्यालय भैरहवामा खुले पनि मेनपावर कम्पनी, मेडिकल, भिषा सेन्टर काठमाडौंमा रहँदा वैदेशिक रोजगारीका लागि जाने काठमाडौं आउनुपर्ने बाध्यता छ। 

कात्तिक १७ गतेबाट हिमालय एयरलायन्सको जहाज थपिएको छ। हिमालयको न्यारोबडी जहाज नियमित भैरहवाबाट मलेसियाको क्वालालम्पुरसम्म उडान भर्दैछ। 

‘धार्मिक पर्यटक र वैदेशिक रोजगारीका लागि जाने यात्रुलाई लक्षित गर्दै भैरहवाबाट उडान थालेका छौँ,’ हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘अहिले नियमित चार्टड उडान गर्दै छौं। भैरहवाको बजार हेरेर सेडुल फ्लाईट गर्छाैं।’

प्राधिकरणले काठमाडौंबाट उडान गर्ने हिमालय र नेपाल एयरलाइन्सका केही उडान कटौती गर्दै भैरहवा जान कडाइ गरेको छ।

प्राधिकरणले कडाइ नगर्दासम्म वायुसेवा कम्पनी भैरहवा आउन तयार नहुँदा कडाइ गरेको बताएको छ। 

‘नयाँ विमानस्थल सञ्चालन गर्दा केही समस्या हुन्छ। विस्तारै समाधान गर्दै जानुपर्छ,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘केही समस्या छन् भनेर उडान शुरु नगर्ने भन्ने त हुन्न। जे जस्ता देखिन्छन् समाधान गर्दै जानुपर्छ।’

प्राधिकरणले अन्तराष्ट्रि हवाई कम्पनीलाई आकर्षित गर्न गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवाहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले असुल गर्ने अवतरण शुल्क, विसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क, सुरक्षा शुल्कमा एक वर्षका लागि पूर्ण छुट दिएको छ। 

त्यस्तै नेपाल वायुसेवाले असुल गर्ने ग्राउन्ड हेण्डलिङ सेवामा एक वर्षका लागि ५० प्रतिशत छुट दिएको छ। भैरहवा विमानस्थलमा बोइङ ७७७ र ३३० एयरबस उडान तथा अवतरण गर्न सक्छन्। 

भैरहवामा यात्रु र जहाजलाई चुनौतीका चाङ
अन्तराष्ट्रिय विमान प्रवेशका लागि एयर रुट सिधा छैन। भैरहवा आउन जहाज सिमरा पुगेर आउनुपर्ने बाध्यता छ। यहीकारण कम्पनीको अप्रेटिङ खर्च बढ्ने बताउँदै आएका छन्। 

एयर रुटमा अर्घाखाँचीको सिमेन्ट उद्योगको चिम्नी कटौती गर्नुपर्ने अवस्था रहेको छ। प्राधिकरण सञ्चालक समितिले चिम्नी हटाउने निर्णय गरिसकेको छ। 

गौतमबुद्ध विमानस्थलमा भारतीय यात्रुको आवगमनमा समेत समस्या छ। भारतीय यात्रुहरुले भैरहवाबाट अन्तराष्ट्रिय उडान गर्न एनओसी भारत सरकारबाट उपलब्ध गराउन सकेको छैन।

विभिन्न संघ संगठनहरुले पर्यटनका लागि टुर प्याकेज बनाउन नसक्दा उडान भर्ने एयरलाइन्सले पनि यात्रु पाउन नसकेको विमानस्थलका अधिकारी बताउँछन्। 

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द्रप्रसाद दाहालले तत्काल विमानस्थल सञ्चालनका लागि होटल व्यवसायी, ट्राभल एन्ड टुरिजम, उद्योग वाणिज्य संघ, पर्यटन बोर्ड, पर्यटन मन्त्रालयले समेत भैरहवा विमानस्थलको प्रचार गर्नुपर्ने बताए। 

‘श्रम तथा रोजगार कार्यालयले व्यक्तिगत श्रम स्वीकृति, अभिमुखीकरण तालिम प्रदायक संस्थाको छनोट, विमा, स्वास्थ्य संस्था, म्यानपावर कम्पनी, भिषा सेन्टर र श्रम स्वीकृतिको कार्य पूर्णरुपमा भैरहवाबाट हुन सकेको छैन,’ दाहालले भने। 

त्यस्तै गौतमबुद्ध विमानस्थल आन्तरिक हवाई उडानबाट जोडिनसकेको छैन। यात्रुलाई विराटनगर वा नेपालगञ्जबाट भैरहवा आउनुपरे सडकमार्ग वा काठमाडौं हुँदै हवाईमार्गबाट पोखरा जानुपर्छ। 

प्राधिकरणले विदेश यात्रागर्ने आन्तरिक यात्रुलाई २५ प्रतिशतसम्म भाडा छुट दिने एयरलाइन्स कम्पनीसँग सहमति भएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .