कारोबार


हिमालयले भैरहवाबाट नियमित उडान गर्छ, ग्राउन्ड ह्यान्डलिङ दिनुपर्छ : विजय श्रेष्ठ

हिमालयले भैरहवाबाट नियमित उडान गर्छ, ग्राउन्ड ह्यान्डलिङ दिनुपर्छ : विजय श्रेष्ठ

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १३:१०, काठमाडौँ

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब नियमित चार्टर्ड उडान गर्ने बताए। 

उनले अहिले भैरहवाको बजार परीक्षण गर्न चार्टर्ड उडान शुरु गरेको बताएका हुन्। 

‘हामीले भैरहवाको बजार अध्ययनसँगै तालिकामा आधारित उडान गर्छौँ,’ श्रेष्ठले भने, ‘चार्टर्ड उडान कहिलेकाहीँ गर्ने होइन, दैनिक उडान हुन्छ।’

बिहीबार हिमालय एयरलायन्सको जहाजले भैरहवाबाट मलेसियाको क्वालालम्पुर १३५ यात्रु लगेको थियो। 

भैरहवाबाट कुवेत सिधा उडान हुँदै आएकोमा अब भैरहवाबाट मलेसिया सिधा उडान शुरु हुने भएको छ। 

नेपालमा धार्मिक पर्यटक अर्थात बुद्धिस्ट मंक, वैदेशिक रोजगारीमा जानेका लागि सुविधायुक्त उडान गर्ने हिमालयको योजना सुनाए। 

श्रेष्ठले भैरहवाको विमानस्थललाई वैकल्पिक रुपमा नभई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा बुझेको बताए। 

पूर्वधार र क्षमताको हिसाबले हेर्दा अन्तराष्ट्रिय हवाई उडानको क्षमता रहेको बताए।  

‘आईकाओ, क्यानको स्टन्डर्डअनुसार सेफ्टी अडिट (सुरक्षासम्बन्धी) गर्दा राम्रो नै पाएका छौँ,’ उनले भने, ‘अपरेसन अडिट (विमानस्थल सञ्चालन गर्दा हुने बाधा अवरोध) गर्दा आइडल त पाएनौँ, तर अन्तर्राष्ट्रिय उडान गर्न सक्ने अवस्थामा छ।’

सरकारले राष्ट्रिय गौरवका रुपमा निर्माण गरेका आयोजनालाई एयरलाइन्स कम्पनीले पनि आफ्नो भनेर अंगिकार गर्नुपर्ने बताए। 

‘विमानस्थल भनेको एउटा इकोसिस्टम हो। विमानस्थलका संरचनाले मात्रै पुग्दैन,’ श्रेष्ठ भन्छन्, ‘एयरलायन्स कम्पनी, ग्राउन्ड हेन्डलिङ सेवाप्रदायक, पेट्रोलियम व्यवसायी, होटल व्यवसायी, ट्राभल व्यवसायीसँगै सरकारी सर्भिसहरु खुलेमात्रै एयरपोर्ट चल्छ।’

भैरहवा विमानस्थलमा हिमालयको जहाज

‘भैरहवाका कमर्सिलय ग्राउन्ड ह्यान्डलिङ पाउनुपर्छ’
हिमालय एयरलाइन्सले भैरहवा विमानस्थललाई आफ्नै ठानेर प्रयोग उडान गर्न थालेको बताए। 

‘गौतम बुद्ध विमानस्थललाई आफ्नो ठानेर सञ्चालन गर्न तयार छौँ’, उनले भने, ‘तर सरकारले हामीलाई केही हेर्नुपर्छ।’ 

उनले कुनै बहानामा भेदभाव गर्न नहुने बताएका छन्। ‘वैदेशिक लगानी भएको कम्पनीलाई सरकारले जेठो छोरा पनि होइन कान्छा छोरा पनि होइन माइलो, ठाइँलो जसरी हेपेको स्थिती छ,’ उनी भन्छन्, ‘हामीले सरकारको प्रोजेक्टलाई आफ्नै ठान्ने तर सरकारले हामीलाई वास्ता गरेको छैन।’

सरकारलाई हिमालय एयरलायन्सले १४ अर्ब रुपैयाँ बुझाएको छ। हिमालयको नोक्सान १४ अर्ब रुपैयाँ रहेको उनले जानकारी दिए। नेपालको हवाई क्षेत्रमा सबैभन्दा धेरै दक्ष जनशक्ति उत्पादन हिमालय एयरलाइन्सले गरेको श्रेष्ठ दाबी गर्छन्। 

हिमालयले त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड हेन्डलिङ (चेकिङ गर्ने प्रक्रिया, पासपोर्ट, भिषा मिलाउने, कार्गो व्यवस्थापन) गर्न अनुमति पाए पनि कार्यन्वयन हुन सकेको छैन। 

‘प्राधिकरणसँग हामीले त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड हेन्डिलिङ र भैरहवामा कमिर्सीयल हेन्डिलिङ गर्न पाउनु पर्ने माग गर्दै आएका छौं,’ उनले भने।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .