ad ad

कारोबार


पोखरा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट : ४ प्रविधिको मुख्य परीक्षण

पोखरा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट : ४ प्रविधिको मुख्य परीक्षण

वसन्त अर्याल
मंसिर २, २०७९ शुक्रबार १६:१५, काठमाडौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण अर्थात् क्यालिब्रेसन फ्लाइट यही मंसिर १४ गते हुँदै छ। 

यान्त्रिक परीक्षणको लागि एरो थाईको जहाज नेपाल भित्रिसकेको छ। 

नयाँ विमानस्थलमा परीक्षण तथा नियमित व्यावसायिक उडान गर्नुपहिले क्यालिब्रेसन फ्लाइट गरिन्छ। सञ्चालनमा रहेका विमानस्थलको पनि नियमित परीक्षण गर्नुपर्छ। 

क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो। 

यसमा विशेष जहाज ल्याएरै उडान र अवतरण गर्नुपर्छ। 

‘एरो थाईको जहाज नेपालमा आइसकेको छ’, प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘पोखरा परीक्षणपछि अन्तर्राष्ट्रिय उडान गर्न ठीक छ वा छैन। के–के सुधार गर्नुपर्छ, थाहा हुन्छ।’

एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा यान्त्रिक उडान गर्नेछ। जहाजले यान्त्रिक उडानमार्फत विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे/नगरेको जाँच गर्नेछ। 

प्राविधिक जनशक्तिसहित नेपालमा एरो थाईको जहाज आएको हो। यस्तो उडानमा उड्डयन उपकरण र उडान विधिको परीक्षण गरिन्छ। परीक्षणको लागि विशेष विमान चाहिन्छ। क्यालिब्रेसन फ्लाइटको जहाज सानो हुन्छ। यस्तो फ्लाइटमा विज्ञहरु सहभागी हुन्छन्।  

प्राधिकरणका अनुसार विमानस्थलमा जडान गरिएको लाइट मिलेको छ कि छैन। रेडियो फ्रिक्वेन्सी, धावनमार्गका लाइटलगायत सबै चेक गर्नको लागि क्यालिब्रेसन उडान गर्दै छ। 

‘हामीले १ किलोको ढक किन्यौँ भने हजार ५० ग्राम हुनसक्छ। ९ सय ५० ग्रामको पनि हुनसक्छ। त्यसलाई मिलाएर हजार ग्रामकै बनाउनुपर्छ’, प्राधिकरणका एक इन्जिनियरले भने, ‘क्यालिब्रेसन फ्लाइट भनेको यस्तै हो। उडान गर्दा उपकरण राखेको मिल्यो कि मिलेन। रेडियो फ्रिक्वेन्सीले डिजाइनअनुसार काम गर्यो कि गरेन सबै परीक्षण हुन्छ।’

जहाज ल्यान्डिङको लागि राखेको लाइटको एंगलिङ मिल्यो कि मिलेन सबै चेक हुने ती इन्जिनियरको भनाइ छ। यान्त्रिक परीक्षणपछि उडानका क्रममा देखिएको अवस्थाको पहिचान गरी रिपोर्ट तय गरिन्छ । सम्पूर्ण उपकरणले ठीक ढंगले काम गरेको रिपोर्ट आएपछि परीक्षण उडान र त्यसपछि व्यावसायिक उडान गरिन्छ।

कम्युनिकेसन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि भने जहाज उडान र अवतरणको बाटो खुल्नेछ । त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रुट स्थापित गर्नुपर्ने हुन्छ ।

एरो थाईको जहाज

यी ४ प्रविधिको मुख्य परीक्षण
नयाँ विमानस्थलको यान्त्रिक परीक्षणमा ४ वटा प्रविधि तथा उपकरणको परीक्षण गरिन्छ। डीभीओर, आईएलएस, डीएमआई र पीएपीआईको मुख्य परीक्षण गरिन्छ।

डोप्लर भेरी हाई फ्रिक्वेन्सी ओम्नी रेञ्ज (डीभीओआर)को परीक्षण महत्वपूर्ण हुन्छ। यो भनेको ग्राउन्ड बेस रेडियो नेभिगेसन सहयोग हो। जसले एयर ट्राफिक कन्ट्रोल रुट, टर्मिनललगायतको विषयमा पाइलटलाई जानकारी दिन्छ। 

इन्स्ट्रुमेन्ट लेन्डिङ सिस्टम (आईएलएस)को परीक्षण गरिन्छ। आईएलएस भनेको राति वा मौसम खराबीको समयमा पाइलटलाई धावनमार्गको विषयमा जानकारी दिइन्छ। उक्त उपकरण जडान गरेको विमानस्थलमा राति वा मौसम खराबीको समयमा पनि विमान अवतरण गराउन सकिन्छ।  

डिस्टेन्स मेजरिङ इक्विपमेन्ट (डीएमई)को परीक्षण हुन्छ। जसमा रेडियो नेभिगेसनको सहयोगमा जहाज र विमानस्थलको दूरी कति छ भनी पाइलटले प्रयोग गर्छन्। विमानस्थलमा भएको रेडियो सिग्नल र जहाजको रेडियो सिग्नलबीच कुराकानी हुन्छ। 

त्यस्तै, प्रोसेसन अप्रोच पाथ इन्डिकेटर (पीएपीआई)को परीक्षण हुन्छ। यो भनेको विमानस्थलमा जडान गरिएका लाइट हुन् जसले जहाज अवतरणको समयमा धावनमार्गमा सही अवतरण गर्न सहयोग पु¥याउँछन्। विमानस्थलमा जडान गरिएका लाइटले जहाजलाई धावनमार्गमा गुड्न सहयोग पुग्छ।   

आन्तरिक विमानस्थलको समेत यान्त्रिक परीक्षण हुँदै
नियमित उडान भरिरहेका जहाजबाट क्यालिब्रेसन फ्लाइट नहुने भएकाले एरो थाईको जहाज नै चाहिएको हो।

प्राधिकरणकाअनुसार एरोथाई थाइल्यान्डको प्रतिष्ठित हवाइ कम्पनी हो। थाई एयरवेजका लागि एटीसीलगायत प्राविधिक जनशक्ति एरोथाईले नै उपलब्ध गराउँछ। 

प्राधिकरणका प्रवक्ता निरौलाले टेन्डरमार्फत नै एरोथाईको जहाजले यान्त्रिक परीक्षण गर्न पाएको बताए। 

‘एरो थाईको जहाजले पोखरा मात्रै होइन हाल सञ्चालनमा रहेका विमानस्थलको समेत परीक्षण गर्दै छ’, प्रवक्ता निरौलाले भने, ‘नेपालगञ्ज, धनगढी, सुर्खेतलगायतका विमानस्थलको पनि परीक्षण हुँदै छ।’

हरेक वर्षजस्तो प्राविधिक चेकजाँच गर्नुपर्नेमा कोभिड महामारीको कारण अधिकांश आन्तरिक विमानस्थलको परीक्षण हुनसकेको थिएन। 

एरो थाई कम्पनीले गत वर्ष फागुन ६ गते मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .