कारोबार


निजी क्षेत्रको मनोबल कमजोर भएको छ : गोल्छा

अर्थतन्त्रमा देखिएका समस्याले निजी क्षेत्र निराश : अग्रवाल
निजी क्षेत्रको मनोबल कमजोर भएको छ : गोल्छा

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १५:२६, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताएका छन्। 

शुक्रबार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले बजारमा तरलता चरम अभाव, उद्योगको उत्पादन क्षमतामा कमी, बैंकको ब्याजदर वृद्धिलगायत सरकारको नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको बताएका हुन्। 

उनले सरकारले लामो समय आयात प्रतिबन्ध गर्दा राजस्व संकलनमा कमी आएकाले सरकारको दैनिक खर्च गर्नसमेत समस्या हुने गरेको बताए। उनले सरकारले मुलुकको वर्तमान अर्थतन्त्रमा वास्तविकता परीक्षण गर्न आवश्यक रहेको बताए। 

अध्यक्ष गोल्छाले अहिले ५० लाख विदेशमा रहेका युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको बताए। उनले देशभित्र नै युवाहरुलाई रोजगारी दिन नसक्नु उद्योगी व्यवसायी र सरकारको कमजोरी भएको बताए। 

उनले मुलुकभित्रै युवाहरुले भविष्य खोज्न सक्नुपर्ने बताए। उनले युवाहरुलाई देशभित्र नै रोजगारी दिन नसक्नु चुनौतीपूर्ण अवस्था भएको बताए। अध्यक्ष गोल्छाले ६० वर्षदेखि नेपालमा उद्योग क्षेत्रका समस्या एउटै भए पनि अहिलेसम्म एउटै समस्या यथावत् रहेको बताए। उनले देशभित्र नै औद्योगिक विकास गरी उचित मूल्य दिन सक्नुपर्ने बताए। 

उनले बढ्दै गएको व्यापार घाटा कम गर्नको लागि देशमा औद्योगिक विकास गर्न जरुरी रहेको बताए। उनले सरकारले उद्योगलाई बचाउनसके मात्रै अहिले देखिएको अर्थतन्त्रको समस्या समाधान हुने बताए। 

अध्यक्ष गोल्छाले उद्योग क्षेत्रका समस्या समाधान हुनको लागि राजनीतिक स्थायित्व आवश्यक रहेको बताए। उनले सरकार राजश्वमुखी अर्थतन्त्रमा गएकाले कसरी उत्पादन र रोजगारमुखी बनाउने योजना सरकारसँग नभएको आरोप लगाए। 

उनले सरकारले निश्चित उद्योगहरुलाई ब्याजदरमा अनुदान दिनुपर्ने बताए। गोल्छाले नेपालमा मूल्यअभिवृद्धि हुने, धेरै रोजगारी सृजना गर्ने र धेरै निर्यात गर्ने उद्योगलाई सरकारले ब्याजमा अनुदान दिनुपर्नेमा जोड दिए। उनले वर्तमानको आर्थिक संकटले सरकार र निजी क्षेत्र धरासायी भएको बताए। 

उनले वाणिज्य बैंकहरु नाफा कमाउने उद्देश्यकै हुने हुँदा ब्याजदरको अस्थिर अवस्थामा बैंकलाई भन्दा उद्योग बचाउन सरकारले उद्योगको ब्याजमा अनुदान दिनुपर्ने जिकिर गरे। 

निजी क्षेत्र निराश छ : अग्रवाल
त्यस्तै, उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्रमा देखिएका समस्याले निजी क्षेत्र निराश रहेको बताए। उनले पछिल्लो समय तलरलताको चरम अभाव, बैंकको ब्याजदर १८ प्रतिशतसम्म वृद्धि,मागमा समेत ठूलो रुपमा संकुचन भएकाले निराशा छाएको बताए। 

उनले उद्योगीहरुले उद्योगमा लगानी गर्ने वातावरण नभएकाले ७० प्रतिशत उद्योगीहरुले लगानी रोकेर राखेको बताए। उनले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध सदस्यहरुलाई सहुलियत माग गरे। 

उनले परिसंघले अगाडि सारेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमार्फत ४ वर्षमा वार्षिक १ हजार उद्योग दर्ता गर्ने,वर्षमा उद्योगको योगदान २२ प्रतिशत बनाउने १ लाख ५० हजार युवालाई वार्षिक रोजगारी सिर्जना गर्ने र निर्यातलाई ४ मिलियन डलर पु¥याउने उदेश्य रहेको बताए। 

उनले सरकारले पछिल्लो समय अर्थतन्त्र तथा उद्योग क्षेत्रमा देखिएका समस्या समाधानको लागि प्राथमिकताका साथ तत्काल एक्सनमा जान आवश्यक रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .