कारोबार


पहिलो चौमासिकमा आयकर र भ्याट संकलन लक्ष्यभन्दा कम

पहिलो चौमासिकमा आयकर र भ्याट संकलन लक्ष्यभन्दा कम

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १४:२३, काठमाडौँ

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्यअभिवृद्धि कर (भ्याट) संकलन लक्ष्यभन्दा न्यून देखिएको छ।

आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा अन्तःशुल्कतर्फको राजस्व मात्रै लक्ष्यअनुसार संकलन भएको देखिएको हो।
  

विभागका अनुसार आयकर पहिलो चौमासिक लक्ष्यको ८१ दशमलव नौ प्रतिशत बराबर संकलन भएको छ। कात्तिक मसान्तसम्ममा ४८ अर्ब ९१ करोड सात लाख ५८ हजार आयकर संकलन गर्ने सरकारी लक्ष्य छ। यो अवधिसम्मको वास्तविक आयकर संकलन भने ३८ अर्ब २९ करोड ६६ लाख ५३ हजार रहेको छ। 

गत आव २०७८/७९ को पहिलो चौमासिकमा ४७ अर्ब २२ करोड ९० लाख ९६ हजार आयकर संकलन भएको थियो। पहिलो चौमासिकमा भ्याट असुली पनि लक्ष्यभन्दा न्यून छ। कात्तिक मसान्तसम्ममा ४१ अर्ब ९४ करोड ७६ लाख ६० हजार भ्याट संकलन गर्ने सरकारी लक्ष्य रहेकामा ३४ अर्ब ४७ करोड ८४ लाख १९ हजार बराबर मात्रै असुली भएको हो। 

त्यो पहिलो चौमासिक लक्ष्यको ८२ दशमलव १९ प्रतिशत बराबर हो। यो अवधिमा अन्तःशुल्कतर्फको राजस्व लक्ष्य भने भेटिएको छ। चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ३० अर्ब ६५ करोड ३८ लाख चार हजार अन्तःशुल्क संकलन गर्ने लक्ष्य राखिएकामा ३४ अर्ब ६० करोड ७२ लाख ४२ हजार असुली भएको हो।

 सो असुली पहिलो चौमासिक लक्ष्यको एक सय १२ दशमलव ९२ प्रतिशत बराबर हो। त्यस्तै घरबहाल कर लक्ष्यको ६९ दशमलव ७४ प्रतिशत बराबर मात्रै उठेको छ। कात्तिक मसान्तसम्ममा एक अर्ब ६९ करोड १३ लाख घरबहाल कर उठाउने विभागको लक्ष्य छ। यो अवधिमा ६४ करोड ४२ लाख तीन हजार बराबर मात्रै उठेको हो। 

शिक्षा सेवा कर पनि लक्ष्यभन्दा न्यून छ। यो अवधिसम्ममा ५३ करोड २३ लाख ५२ हजार शिक्षा कर उठाउने लक्ष्य रहेकामा ५० करोड ८६ लाख ९५ हजार मात्रै उठेको छ।

स्वास्थ्य सेवा कर भने लक्ष्यभन्दा बढी उठेको छ। पहिलो चौमासिकमा एक अर्ब ३६ करोड ११ लाख २० हजार बराबर स्वास्थ्य सेवा कर उठाउने लक्ष्य रहेकामा एक सय ८३ दशमलव १५ प्रतिशत अर्थात् दुई अर्ब ४९ करोड २९ लाख १६ हजार असुली भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .