कारोबार


झोलुङ्गे पुलको जिल्लामा म्याग्दी जोड्ने अर्को पुल

झोलुङ्गे पुलको जिल्लामा म्याग्दी जोड्ने अर्को पुल

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १३:१३, काठमाडौँ

बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ। बागलुङ नगरपालिका–४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका १ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ। 

झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिने क्रम जारी छ। बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षभित्रै बागलुङ नगरपालिका–४ कुडुँले फेदीबाट म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर जोड्नेगरी झुलुङ्गे पुल निर्माण सुरु भएको थियो। 

कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल निर्माण सम्पन्न भइसकेर हस्तान्तरणको मात्रै काम बाँकी रहेको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए। 

‘बागलुङ र म्याग्दी जिल्ला जोड्ने झोलुङ्गे पुलको  निर्माण सकिएको छ’, खड्काले भने ‘पुल हस्तान्तरणको प्रक्रियामा पुगेका छौँ, पुल निर्माण सम्झौता अनुसारको सबै काम सम्पन्न गरेका छौँ।’ 

सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजन काठमाडौँले म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुँले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गत असोजमा शिलान्यास गरिएको थियो। कुडुँलेदेखि रत्नेचौर जोड्ने उक्त झोलुङ्गे पुल रु तीन करोड ५० लाखमा निर्माण गरिएको छ।

उक्त पुल निर्माणसँगै एक घण्टाको बाटो पाँच मिनेटमा छोट्टिएको बागलुङ नगरपालिका ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले जानकारी दिए। 

पुल बनेपछि रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने क्षत्रीको भनाइ छ। 

गत असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको असोजमा पुल शिलान्यास गरिएको थियो। पुल निर्माण गर्न बागलुङतर्फ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका थिए। 

म्याग्दीका रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार र व्यापार व्यवसायलगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहजता थपेको छ। 

बागलुङ बजार र रत्नेचौरलाई पर्यटनसँग जोडेर विकास गर्न पुलले सहयोग गर्ने  स्थानीयवासीको भनाइ छ। बेनीको रत्नेचौर र बागलुङको कुडुँले फाँटमा तोरी फुल्ने सिजनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेकोमा यसवर्ष पुल निर्माणसँगै पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको स्थानीय टेकबहादुर रावलले जानकारी दिए। 

पुल निर्माणसँगै बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालय अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ। रत्नेचौर, ज्यामरुककोट लगायतका स्थानीय बासिन्दा प्रशासनिक कामका लागि मात्रै बेनी जाने र अन्य आर्थिक कारोबारका लागि बागलुङ आउने भएकाले सहज हुने भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad