कारोबार


वीरगञ्जमा नेपाल बीमा प्राधिकरणको प्रदेश कार्यालय उद्घाटन

वीरगञ्जमा नेपाल बीमा प्राधिकरणको प्रदेश कार्यालय उद्घाटन

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १७:०, काठमाडौँ

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज मधेश प्रदेशको बीगञ्जमा प्राधिकरणको प्रदेश कार्यालयको उद्घाटन गरेका छन्।

यसअघि, सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरिएका प्राधिकरणका प्रदेश कार्यालयहरूको उद्घाटन भइसकेको छ ।

प्राधिकरणको प्रदेश कार्यालयबाट बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालनका साथै बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापन, बीमकको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण, बीमाको दायरा विस्तारका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय लगायतका कार्य सम्पादन हुनेछन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न अनुमति दिएका लघुबीमा कम्पनीहरूले केही महिनाभित्रै काम सुरू गर्ने बताए।

अध्यक्ष सिलवालले पालिकाहरूले बजेट तर्जुमा गर्दा नै बीमाको प्रवद्र्धन एवम् पहुँच विस्तारका लागि व्यवस्था गर्नु उपयुक्त हुने बताउँदै पालिकाका कामहरूसँग आबद्ध गरेर अनिवार्यरूपमा घर तथा सम्पत्तिको बीमा गर्ने व्यवस्था गर्न आग्रह गरे।

अध्यक्ष सिलवालले ग्रामीण क्षेत्रका मात्र नभई सहरी क्षेत्रका न्यून आय भएका वर्गलाई समेत बीमाको दायरामा ल्याउन पालिकाहरूले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।

अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूबाट नै बीमाका अधिकाङ्श सेवाहरु सेवाग्राहीले प्राप्त गर्नसक्ने जानकारी दिए।
बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा कम्पनीहरू शहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा केन्द्रित हुनुपर्ने र हरेक किसानसम्म बीमाको पहुँच पुग्नुपर्ने बताए।

प्रमुख सिंहले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानीका लागि अनावश्यक कागजात माग्ने, झुलाउने र समयमा दाबी भुक्तानी नदिने जस्ता गुनासाहरू आउने गरेको उल्लेख गर्दै बीमाप्रतिको विश्वास बढाउनका लागि समयमै दाबी भुक्तानी हुनुपर्ने बताए।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवालले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानी दिने बेलामा अनावश्यक कागजातहरू मागेर हैरान पार्ने गरेको गुनासो गरे।

जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमा दाबी भुक्तानी छिटोछरितो रूपमा दिन निर्देशन दिँदै आएको र सोही अनुसार हाल दाबी भुक्तानी सामान्यीकरण हुँदै गएको बताए।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले २०७९ असार मसान्तसम्ममा मधेश प्रदेशमा म्यादी जीवन बीमालेख समेत गरी बीमाको दायरामा आएको जनसंख्या ९.२० प्रतिशत र निर्जीवन बीमातर्फ कुल कृषि तथा बाली बीमामध्ये ६.७५ प्रतिशत मात्र कृषि तथा बाली बीमा रहेको पाइएको जानकारी दिए।

कार्यकारी निर्देशक पौडेलले मधेश प्रदेशमा जीवन बीमाका साथै निर्जीवन बीमाअन्तर्गत कृषि, पशुपन्छी तथा जडिबूटी बीमाको पहुँच विस्तारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका उपप्रमुख, विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुख, उद्योगी व्यवसायीहरू, नेपाल राष्ट्र बैंकका पदाधिकारी, नेपाल बीमक संघका प्रतिनिधि, विभिन्न सरकारी निकायका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता र संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad