कारोबार


निगमको उडान पुनः सञ्चालन

निगमको उडान पुनः सञ्चालन

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार २२:१, काठमाडौँ

विमान परिचारिका ‘क्याबिन क्रु’ को आन्दोलनका कारण अवरुद्ध नेपाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडान पुनःसञ्चालन भएको छ।
      
दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि आज बिहानदेखि अवरुद्ध उडान सुरु भएको निगमले जनाएको छ। निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच दिनभर छलफल गरेर सहमति भएसँगै उडान पुनःसञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। उनका अनुसार बुधबार बिहान निर्धारण गरिएका उडान राति मात्रै भएको थियो भने आज बिहानैदेखि निगमको कुनै पनि उडान भएको थिएन। 

‘हिजो दिउँसोदेखि नै उडान अवरुद्ध भएको थियो, निर्धारित उडान राति मात्रै भएको थियो। आज बिहानैदेखि उडान हुनसकेको थिएन। सहमतिपछि केहीबेर अघिबाट उडान सञ्चालन भएको छ’, प्रवक्ता खड्काले भनिन्। 

राति ८ बजेपछि भारतको नयाँ दिल्ली र साउदी अरेबियाको रियादका लागि उडान गरिएको छ।

निगममा कार्यरत सबै क्याबिन क्रु को करार नवीकरण गर्ने सहमतिपछि उनीहरु काममा फर्किएका हुन्। करारमा रहेर १५ वर्ष सेवा गरेका दुई जना क्रु मेम्बर आरती महर्जन र स्मिता गुवाजुलाई बीना कारण करार नवीकरण नगरी सेवाबाट हटाउन खोजिएको भन्दै सबै क्रु मेम्बरले उडानमा सहभागी नभएर विरोध जनाएका थिए।

नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले विज्ञप्ति जारी गर्दै निगम व्यवस्थापनले समयमै करार नवीकरण नगरेको, परिचयपत्र समयमा नदिएको तथा सेवा सुविधामा पनि विभेद गरिएको आरोप लगाएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad