एक वर्षदेखि गुल्मी अस्पतालले प्लान्टको स्थापना गरेर अक्सिजन उत्पादन गरिरहेको छ। कोरोना महामारीको समयमा अक्सिजन अभाव हुँदा बिरामीले ज्यान गुमाउनुपरेपछि नेपाल पत्रकार महासङ्घ गुल्मी, जिल्ला उद्योग वाणिज्य सङ्घ गुल्मी र नेपाल सरकारसमेतको पहल तथा सक्रियतामा प्लान्ट स्थापना भएको हो।
गुल्मी अस्पतालमा एक वर्षअघिसम्म बुटवलबाट सिलिन्डरमा अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता थियो। गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले पहिला अक्सिजन बाहिरबाट ल्याउँदा ढुवानीको समस्या र धेरै बिरामी भर्ना गर्न नसकिने समस्या हुने गरेको सम्झिए। कोरोना महामारीको समयमा सङ्घसंस्था र सरकारको सहयोगबाट जिल्लामै अक्सिजन उत्पादन हुँदा बिरामीलाई राहत भएको छ। विसं २०७८ मङ्सिरदेखि अक्सिजन उत्पादन हुन थालेको हो।
अस्पतालमा अहिले दैनिक ४० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ। एक सिलिन्डरमा ६ हजार ५ सय लिटर अक्सिजन हुन्छ। अक्सिजन साना, मझौला र ठूला गरी तीन तहका सिलिन्डरमा भरिन्छ। सानो रु पाँच सय, मझौला एक हजार र ठूलो एक हजार दुई सयमा बिक्री गरिन्छ। तर अस्पतालले सेवामूलक तरिकाले मात्र अक्सिजन उत्पादन गरिरहेको छ।
खपत कम हुँदै गएपछि अस्पतालले हप्तामा सोमबार र बिहीबारमात्र उत्पादन गरेको छ। पचास जना बिरामीलाई अहिले पनि एकैपटक मुटु र फोक्सोको दमसम्बन्धी उपचार गर्न सकिने अस्पतालका डा पच्याले जानकारी दिए। ‘सेवामूलकरूपमा अक्सिजनको उत्पादन गरेका छौँ’, उनी भन्छन्, ‘सामाजिक सङ्घसंस्थाको अगुवाइबाट निर्माण भएपछि धेरै राहत भएको छ।’ अस्पतालले अब सघन उपचार कक्ष (आईसीयू) सञ्चालन गर्नेछ।
जिल्ला उद्योग वाणिज्य सङ्घले सबै व्यवसायीबाट सहयोग उठाएर अक्सिजन प्लान्टका लागि भवन निर्माण गरिदिएको छ। कूल रु १४ लाख ४६ हजारमा सङ्घले भवन बनाएको अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए। ‘महामारीको समयमा जनताप्रति उत्तरदायी भएर सहयोग उठाएका हौँ’, पौडेलले भने।
अक्सिजन प्लान्ट बन्नुमा सुरुमा नेपाल पत्रकार महासङ्घको सक्रियतामा सहयोग उठाउनु हो। महासङ्घले कूल रु ५० लाख प्लान्ट निर्माणमा मात्र सहयोग गरेको थियो। नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले महामारी मात्र नभई अन्य समयमा पनि बिरामीलाई अक्सिजन अभाव नहोस् भनेर अभियान थालेको बताए।
‘महामारीको समयमा अक्सिजन अभाव हुँदा गुल्मेली तड्पनुपरेको थियो’, उनी भन्छन्, ‘अभियानले सार्थकता पाउँदा गुल्मेली पत्रकार खुसी छौँ।’ महासङ्घले अक्सिजन प्लान्ट निर्माण, अन्य स्वास्थ्य सामग्री सहयोग र प्लान्ट बन्नुभन्दा पहिला बुटवलमा सिलिन्डर भर्ने कार्यमा पनि सहयोग गरिएको थियो।
अक्सिजन प्लान्टको मेसिन खरिदमा रु एक करोड ३१ लाख र भवन निर्माणमा रु १४ लाख ४६ हजार खर्च भएको छ। जसमा नेपाल सरकारको रु एक करोड, पत्रकार महासङ्घको रु ५० लाख र वाणिज्य सङ्घको रु १४ लाख ४६ हजार खर्च भएको हो। केही रकम बचतसमेत भएको छ। अक्सिजन प्लान्टको उद्घाटन तत्कालीन सांसद प्रदीपकुमार ज्ञवालीले गरेका थिए।
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले सिङ्गो जिल्लावासीको प्रयत्नबाट अक्सिजन उत्पादन गर्न सफल भएको बताए। ‘सरकार र नागरिकको सहकार्यको उत्तम नमूना अक्सिजन प्लान्ट हो’, उनी भन्छन्, ‘अक्सिजनमा जिल्ला आत्मनिर्भर बनेजस्तै अन्य उत्पादनमूलक र सेवामूलक क्षेत्रमा पनि सहकार्यबाट अगाडि बढ्नुपर्छ।’ रासस
Shares

प्रतिक्रिया