पेडा भन्ने बित्तिकै तपाईं हाम्रो मुख रसाउँछ। त्यसमाथि बरमझियाको पेडा चाखेकाहरु पेडाको स्वादमा नलोभिने कमै होलान्।
यात्राको क्रममा तपाईं सप्तरीको कञ्चनरुप नगरपालिका–१ बरमझिया पुग्नुभयो भने जतातजै देख्नुहुनेछ पेडा पसल। पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बरमझियालाई ‘पेडाको हव’ भन्दा पनि फरक नपर्ला। बरमझिया पेडाकै कारण प्रसिद्ध छ।
बरमझियामा एकसय भन्दा धेरै पेडा पसल छन्। बरमझियासँगै जोडिएको सप्तरीकै तिरहुत गाउँपालिका–१ महादेवपट्टीमा पनि पेडा पसल धेरै छन्।
बरमझिया र महादेवपट्टीमा मिल्दाजुल्दा नामकै दर्जनौँ पेडा पसल देख्दा तपाईंलाई अचम्म लाग्न सक्छ।
‘पुरानो बुढो बाजेको पेडा पसल’, ‘सबैभन्दा पुरानो बाजेको पेडा पसल’, ‘असली बुढो बाजेको पेडा पसल’, ‘पुरानो बैजनाथ बाजेको फेमस पेडा पसल’, ‘सबैभन्दा पुरानो पेडा पसल’!
यहाँ पेडा पसल गर्ने प्रायः सबैले आफ्नो पसलको नाममा असली, बुढो बाजे, पुरानो बाजे, सबैभन्दा पुरानो बाजे, बैजनाथ बाजे, बैधनाथ बाजे जस्ता शब्द राख्न छुटाएका छैनन्।
मिल्दाजुल्दा नामका दर्जनौँ पेडा पसल देख्दा कुन असल, कुन कमसल, कुन पुरानो, कुन नयाँ पसल हो, ग्राहकलाई छुट्याउनै मुस्किल पर्छ। मिल्दाजुल्दा नामका दर्जनौँ पसल देख्दा ग्राहक अलमलमा पर्छन्।
०१५ सालमा पूर्वपश्चिम राजमार्ग बनेकै थिएन। बरमझियामा सानो बजार लाग्थ्यो। ग्रामीण क्षेत्रमा प्रशस्त दूध पाइन्थ्यो। तर, बजारमा दूधको माग र खपत पनि त्यति थिएन। त्यतिबेलै स्थानीय बैजनाथ साहले दूधका विभिन्न परिकार बनाएर बेच्ने सोच बनाए। दूधका विभिन्न मिठाईसँगै उनले पेडा पनि बनाउन थाले।
बिस्तारै उनले बनाउने पेडाको स्वादमा मानिसहरु लोभिँदै गए। माइत मावल जानेले कोसेलीको रुपमा उनकै पेडा खोज्न थाले। पेडाको व्यापार बढ्दै गयो। बैजनाथ साहले पनि आफ्नो कारोबार बढाउँदै लगे।
बैजनाथ साहले करिब ५५ वर्षसम्म बरमझियामा पेडा बनाए। मानिसहरुलाई पेडाको स्वाद चखाए। पेडाबाटै प्रसिद्धि पनि कमाए। १० वर्षअघि उनी बिते। हाल उनका छोरानातीले ६५ वर्ष पुरानो ‘बैजनाथ साह पेडा भण्डार’ सम्हालेका छन्। जहाँ दैनिक पचासौँ हजारको कारोबार हुन्छ।
नेपालखबरकर्मी ‘बैजनाथ साह पेडा भण्डार’मा पुग्दा ग्राहकको भिड थियो। अधिकांश ग्राहक पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रु थिए।
साहको पेडा भण्डारमा पेडा किन्ने मात्रै होइन, खाना र खाजा खानेको पनि भिड थियो। त्यो भिड अगाडिको भण्डारमा चार पाँच जना कामदार खुवालाई पेडाको रुप दिँदै थिए। नजिकै अगेँनामा ठूला ठूला कराई र डेक्चीमा दूध भक भक उम्लिँदै थियो।
‘०६० सालसम्म पनि यहाँ हाम्रोबाहेक कसैको पेडा पसल थिएन,’ बैजनाथ साहका नाती विवेक साहले नेपालखबरसँग भने, ‘यो ठाउँमा तपाईंले अहिले जतिपनि पेडा पसल देख्नुभयो, ती सबै पछिल्ला १०/१५ वर्षयता खुलेका हुन्। उनीहरु सबैले ग्राहकलाई झुक्याउन आफ्नो पसलको नाममा असली बाजे, बुढो बाजे, पुरानो बाजे, सबैभन्दा पुरानो बाजे, बैजनाथ बाजे, बैधनाथ बाजे जस्ता शब्द राखेका छन्।’
बैजनाथ साह बाँचुन्जेल पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने नयाँ पुराना सबैजसो ग्राहक असली पेडा खोज्दै उनकै पसलमा पुग्थे। उनीसँग भलाकुसारी गर्थे। स्वादिलो पेडा किनेर घर लैजान्थे।
उनी बितेपछि पेडा खोज्दै जाने ग्राहक भाँडिन थाले। आफ्ना पुराना ग्राहक उस्तै नाम गरेको नजिकैको अर्को पसलमा गएको देखेपछि बैजनाथ साहका छोरा/नातीमाथि आफ्ना पितापुर्खाले सिर्जना गरिदिएको व्यापारको विरासत जोगाइराख्ने चुनौति थपियो।
पुराना ग्राहकलाई जोगाइ राख्न र नयाँ ग्राहकलाई आकर्षित गर्न हाल उनीहरुले बैजनाथ साहको शालिक निर्माण गरेर पसल अघि राखेका छन्।
‘पसल अघि यो शालिक राखेपछि खासमा ‘असली पेडा पाइने पसल यहि हो’ भन्दै पुराना ग्राहक पनि अहिले हाम्रैमा आउन थाल्नु भएको छ,’ हजुरबाको शालिक अघि उभिँदै विवेकले भने, ‘आफ्नो कर्मप्रति विश्वास नभएकाहरुले अहिले पनि कमसल पेडा बेच्न हाम्रो नाम दुरुपयोग गर्ने प्रयत्न गर्न भने छाडेका छैनन्।’ आफ्ना बाजेका नामबाट खुलेका दर्जनौँ पसलहरुप्रति उनले असन्तुष्टि जनाए।
विवेक पेडा बनाउने दूध किसानसँग किन्छन्। हजुरबाको पालामा दूध दिने गाईभैँसी आफैँले पालेका थिए। अहिले उनीहरुले गाईभैँसी पालेका छैनन्।
‘हाम्रो पसलमा दैनिक पाँच सय लिटर भन्दा धेरै दूध खपत हुन्छ। दुई चारवटा गाईभैँसी पालेर अहिले हुँदैन,’ विवेकले भने, ‘सप्तरीसँगै सिरहा, र उदयपुरबाट पनि अहिले हामी दुध ल्याउँछौँ। कोशीटप्पुबाट पनि केही दूध ल्याउने गरेका छौँ।’
अपुग दूध उनी कलेक्सन सेन्टरहरुसँग प्रतिलिटर ९६ रुपैयाँ हालेर किन्छन्। किसानसँग किन्दा दूध त्यति महंगो पर्दैन। कलेक्सन सेन्टरहरुसँग किन्दा भने प्रतिकिलो ९६ रुपैयाँ नै हाल्नुपर्छ।
दैनिक पाँच सय लिटर दूधको उनी पेडासँगै खुवा र मिठाइहरु बनाउँछन्। ११ जना कामदारले उनको भण्डारमा रोजगारी पाएका छन्।
पछिल्लो समय उनले आफ्नो होटललाई लाइन होटलको रुपमा विकास गरेका छन्। पेडा पसलको नाममा खुलेका वरपरका अन्य लाइन होटलले आफ्नो भान्सामा माछामासुसमेत राखेका छन्। उनले भने आफ्नो पसललाई अहिलेसम्म शाकाहारीकै रुपमा चलाएका छन्।
विवेक विभिन्न भेराइटिका पेडा बनाउँछन्। पिस्ता पेडा, काजु पेडा, मसला पेडा, केशर पेडा, सुगर फ्रि पेडा उनले बनाउने पेडाका भेराइटी हुन्। उनी पेडा प्रतिकिलो नौँ सयदेखि १४ सय रुपैयाँ सम्ममा बेच्छन्। सामान्य पेडा प्रतिकिलो ९५० र सुगर फ्रि पेडा प्रतिकिलो १४ सयसम्ममा बेच्ने गरेको उनले सुनाए।
विवेकको पसल नजिकै छ अनिल साहको पेडा भण्डार। अनिलले आफ्नो पसलको नाम ‘बरमझियाको पुरानो बाजेको पेडा भण्डार’ राखेका छन्। सबैले ‘पुरानो र बाजे’ जोडेर पसलको नाम राखेको देखेपछि आफूले पनि त्यही खाले नाम राखेको उनले बताए।
उनले यही नामबाट काठमाडौंमा पनि पेडा पसल सञ्चालन गरेका छन्। ‘यहाँ बनाएको केही पेडा हामी बिक्रीको लागि काठमाडौँ पठाउँछौँ,’ अनिलले भने, ‘अहिलेसम्म पेडाको व्यापार सन्तोषजनक छ।’
आफूले बनाउने पेडा स्वाद र गुणस्तरमा सबैभन्दा अब्बल हुने दाबी उनले गरे।
‘भन्न त यहाँ सबैले आफ्नो पेडालाई असल र अरुकोलाई कमसल भन्छन्। यो व्यापारीहरुको बानी नै हो,’ अनिलले भने, ‘खासमा पेडा बनाउने सबैको विधि एउटै हो। कसैले शुद्ध दूधको मात्रै पेडा बनाउँछन्। कसैले दूधमा केही मात्रामा चिनी र अन्न पनि हाल्छन्।’
आफूले भने ४० किलो दूधमा एकडेढ किलोसम्म चिनी हालेर पेडा बनाउने गरेको उनले सुनाए। ‘चिनी नराखी बनाएको पेडा स्वादिलो हुँदैन,’ उनले भने, ‘पेडामा थोरै चिनी त राख्नै पर्छ। जतिसुकै मिठो तरकारी बनाए पनि नुन नहाल्दा स्वाद नभएजस्तै चिनी नराखी बनायो भने पेडा पनि मिठो हुँदैन।’
एक किलो पेडा तयार गर्न पाँच लिटर दूध चाहिने उनले बताए। ‘म प्रतिकिलो ८ सयको दरले पेडा बच्छु,’ उनले भने, ‘दूध नै महंगो छ। मेहनत गरेपछि केही रकम त मुनाफा पनि राख्नै पर्यो नि!’
प्रतिक्रिया