कारोबार


गौतमबुद्ध विमानस्थलको फेरि म्याद थप्ने तयारी, १४ प्रतिशत काम अझै बाँकी

गौतमबुद्ध विमानस्थलको फेरि म्याद थप्ने तयारी, १४ प्रतिशत काम अझै बाँकी

प्रकाश न्यौपाने
पुस १३, २०७६ आइतबार ७:२५,

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न अवधि पछि सरेको सर्‍यै छ।

पछिल्लोपटक सन् २०१९ को अन्तिममा सक्ने भनिए पनि यसकाे निर्माण अझै तीन/चार महिना नसकिने निश्चित भएको छ। आयोजनाको १४ प्रतिशत निर्माणको काम अझै बाँकी छ।

‘अहिलेसम्म ८६ प्रतिशत काम सकिएको छ। बाँकी काम केही महिनामा सक्छौं’, आयोजना प्रमुख इ.प्रवेश अधिकारीले भने।

निर्माणको काम पछिल्लोपल्ट द्रुतगतिमा अघि बढेको भए पनि यहिल्यै सकिन्छ भन्ने निश्चित छैन। मुख्य संरचनाहरु तयार हुँदै छन्। केही तयार भइसकेका छन्। धावनमार्ग, टर्मिनल भवन (आगमन र प्रस्थान), प्रशासनिक भवन, ट्याक्सी वे, एप्रोन, नदी डाइभर्सनलगायतका महत्वपूर्ण काम निर्माण सकिएको छ।

gautambuddha airport 2

जहाज पार्किङ, कन्ट्रोल टावर, धावनर्मामा मार्किङ गर्ने काम अन्तिम चरणमा छ। धावनमार्गमा लाइटिङको काम जारी छ। ‘सुरुमा राम्रो काम भएको थियो।

त्यसपछि बीचमा लगभग एक वर्ष विभिन्न कारणले निर्माणले राम्रो गति लिन सकेन। अहिले कामले गति लिएको छ’, विमानस्थल निर्माण आयोजना प्रमुख अधिकारीले भने।

आयोजनाको काम दु्रत गतिमा भए पनि निर्माण कम्पनीले फेरि म्याद थपको प्रस्ताव गरिसकेको छ। यसले गर्दा पनि पर्यटन व्यवसायी भ्रमण वर्ष २०२० भित्रै विमानस्थल संचालनमा आउँदैन की भन्ने आशंकामा छन्। किनकी यही विमानस्थल संचालनको अपेक्षाले पर्यटन व्यवसायीले लुम्बिनी क्षेत्रमा अर्बौं लगानी गरिसकेका छन्।

डिसेम्बर ३१ (२०१९)मा विमानस्थलको सबै काम सम्पन्न गरेर उडानका लागि आवश्यक पक्रिया अघि बढाउने बताइएको थियो। तर, काम सकिएको छैन। अघिल्लो बिहीबार मात्रै आयोजनाले नागरिक उड्डयन प्राधिकरणलाई तीन महिना समय थप गर्न माग गर्दै पत्राचार गरेको छ।

‘पटक–पटक आयोजनाको म्याद थप्दा पर्यटन क्षेत्रमै अन्यौलता छाएको छ। अब पनि यस्तै गरी विलम्ब गर्ने हो भने कयौं व्यवसायीको लगानी डुब्छ। सिंगो मुलुकको गहनाका रुपमा रहेको यो विमानस्थल जतिसक्दो छिटो संचालनमा ल्याउनुपर्छ’, पर्यटन व्यवसायीसमेत रहेका सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष थानेश्वर पौडेलले भने।

निर्माण कम्पनी नर्थ वेष्ट सिभिल एभियसनले तोकिएको समय डिसेम्बर ३१ भित्र निर्माणको काम नसकिने भएपछि अघिल्लो हप्ता नै म्याद थप गर्न माग गर्दै आयोजनालाई पत्र लेखेको थियो।

‘उसको पत्रका आधारमा आयोजनाले हालसम्म भएका सबै प्रगतिहरु अध्ययन गरी तीन महिनामा निर्माण सम्पन्न हुनसक्छ भन्ने निक्र्याैल निकालेको छ। सोहीअनुसार तीन महिना समय थप्न केन्द्रीय कार्यालयमा पत्राचार गरेका छौं’, आयोजना प्रमुख अधिकारीले नेपालखबरसँग भने।

gautambuddha airport 3

यो म्याद थप अन्तिमपल्ट भएको उनले जनाए। यसअघि तीनपटक म्याद थप भइसकेको छ। पहिलोपल्ट २०१८ को १८ जनवरी देखि जुन १५ सम्म, दोस्रोपल्ट २०१८ जुन १५ देखि जुन २८ (२०१९) सम्म र तेस्रोपल्ट २८ जुन २०१९ देखि डिसेम्बर ३१ सम्म म्याद थप भएको थियो।

विमानस्थलमा अहिले पूर्वाधारका अधिकांश कामहरु सकिएका छन्। फिनिसिङका काम बाँकी छन्। यस्तै, प्रवेशद्वार निर्माण, टर्मिनल भवन अगाडि ट्याक्सी पार्किङको काम, सूचना उपकरणहरु जडान, विद्युतीकरण गर्ने काम बाँकी छन्। टयाक्सी पार्किङको बाँकी काम १ महिनाभित्र सकिने दावी गरिएको छ।

विद्युतीय, सूचना एवं मौसम सम्बन्धि जानकारी दिने उपकरणहरु जडान, सीसी क्यामेरा जडान, एक्सरे मेसिन जडानलगायत उपकरणका काम तीन महिना भित्र सकेर २०२० को अप्रिलमा क्यालिब्रेसन फलाइट गर्ने लक्ष्य राखिएको अधिकारीले जनाए। अन्तर्राष्ट्रिय उडान भर्न ठीक छ/छैन भनेर क्यालिब्रेसन फलाइट गरिन्छ।

२०७४ पुसभित्र निर्माण सक्ने गरी २०७१ माघ १ गतेबाट विमानस्थल निर्माण सुरु गरिएको हो। २०७२ सालमा आएको महाभूकम्प, तराई मधेश आन्दोलन, भारतीय नाकाबन्दी, निर्माण कम्पनी र स्थानीयं सप्लायर्सबीच बिबाद, निर्माण सामग्रीको अभाव जस्ता कारणले विमानस्थल निर्माणमा समस्या आएको थियो। सरकारले विमानस्थल व्यवस्थापन जीटुजी मोडलमा लैजाने निर्णय गरिसकेको छ।

कुन देशलाई व्यवस्थापनको जिम्मा दिने अझै निर्णय भएको छैन। यसले गर्दा पनि अझै ६ महिना विमानस्थल संचालनमा आउन मुस्किल छ। अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनको मापदण्डअनुसार विमानस्थल ‘फोर–इ’ स्तरको हो।

वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने लक्ष्यसहित यो विमानस्थल निर्माण भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad