कारोबार


अवैध आयात रोक्न पोल्ट्री व्यवसायीको माग

अवैध आयात रोक्न पोल्ट्री व्यवसायीको माग

नेपालखबर
माघ १६, २०७९ सोमबार १५:३०, झापा

झापाका पोल्ट्री व्यवसायीहरुले भारतीय कुखुराको अवैधरूपमा आयात रोक्न सरकारसँग माग गरेका छन्।

आर्थिक मन्दी र भारतीय कुखुराको अवैधरूपमा भएको आयातले आफूहरुको व्यवसाय खस्केकाले सीमाबाट हुँदै आएको यस्तो आयात रोक्न उनीहरुले माग गरेका हुन्।

भारतबाट सस्तो मूल्यमा आयात हुने जिउँदो कुखुरा र मासुको आयातले यहाँका पोल्ट्री व्यवसाय सङ्कटमा परेकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा  कुखुरा व्यवसायी सङ्घका जिल्लाअध्यक्ष विवेक निरौलाले जोड दिए। आफूहरुको मागका सम्बन्धमा प्रदेश–१ मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग भेट गरी ज्ञापन पत्रसमेत बुझाइएको उनले बताए।

कोरोनाको महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण व्यापार पनि सिथिल भएको पोल्ट्री व्यवसायीको भनाइ थियो। भारतबाट आउने अण्डा, कुखुरा र मासुको आयात रोक्न सके पनि यहाँका व्यवसायीलाई राहत मिल्ने भएकाले मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराइएको अध्यक्ष निरौलाको भनाइ थियो।

उनका अनुसार जिल्लामा दैनिक करिब ४० हजार केजीसम्म कुखुरा खपत हुँदै आएको छ। आर्थिक मन्दीका कारण ४० प्रतिशत माग घटनाका साथै मूल्यसमेत घटेको र तीन वर्ष अघिसम्म जिल्लामा करिब आठ हजार किसान पोल्ट्री व्यवसायमा आवद्ध भए पनि अहिले यो सङ्ख्या चार हजारको हाराहारीमा भएको अध्यक्ष निरौलाको भनाइ थियो। 

कुखुराको मासु र अण्डामा झापा आत्मनिर्भर भए पनि अवैधरुपमा आयात हुने अस्वस्थ्यकर मासु तथा अण्डालगायत उपभोग्य बस्तु नियन्त्रण नहुँदा आफूहरुले समस्या भोग्नु परेको दमक १० का पोल्ट्री व्यवसायी नवराज न्यौपानेले बताए। दमक, विर्तामोड, भद्रपुर र कन्काई नगरपालिकामा ठूलो परिणममा पोल्ट्री व्यवसाय सञ्चालित छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .