पोखराको पुरानो विमानस्थललाई ट्रेनिङ सेन्टर बनाउने तयारी भएको छ।
नागरिक उड्डयन प्राधिकरणले काठमाडौं उपत्यकामा रहेको तालिम केन्द्र पोखरामा सार्ने तयारी गरेको हो।
जोमसोम उडान, हेलिकप्टर र अल्ट्राराइट पुरानो विमानस्थलबाट भइरहेको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पुरानो विमानस्थललाई ४ वटा काममा प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ।
‘रनवेसहितको पूर्वाधार पोखरामा रहेकोले यसलाई तालिम केन्द्र बनाउने छलफल चलिरहेको छ’, नेपाल नागरिक प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले भने, ‘निर्णय भने हुँन बाँकी नै रहेको छ।’
नयाँ विमानस्थलमा हेलिकप्टर उडानको लागि ठाउँ छैन। पुरानैबाट गर्नुपर्ने बाध्यता रहेको छ। प्राधिकरणले पुरानो विमानस्थललाई केहि समयअघि व्यवसायीक रुपमा प्रयोग गर्न सकिने बताएको थियो।
‘प्राधिकरणको तालिम केन्द्रलाई पोखरा लैजाने की भन्ने रहेको छ’, उनले भने, ‘रनवे देखी एटीसीसम्मका सबै सुविधा पोखरामा हुँदा त्यहाँ लैजाँदा उपयुक्त हुने देखिएको छ।’
प्राधिकरणले तालिक केन्द्रसहित सडक छेउँमा सटर निकालेर व्यावसायिक भाडामा दिन सकिने विकल्पसंगै रहेको बताए।
‘टे«निङ सेन्टरसंगै केही ठाउँ व्यवसायीक रुपमा दिन सकिन्छ,’ उनले भने,‘सडक छेउँको ठाउँमा सटर निकालेर व्यवसाय गर्न भाडामा दिन सकिन्छ।’
पुस १७ देखि पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। आन्तरिक तर्फका उडान अन्तराष्ट्रिय विमानस्थलमा हुन लागेसंगै पहिलाको विमानस्थलको उपयोगिताको विषयमा छलफल चलिरहेको छ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले पुरानो विमानस्थललाई यथास्थितीमा राख्दै उपयोग गर्नु पर्ने महानगरको धारणा रहेको बताए।
‘प्राधिकरणले विमानस्थललाई के गर्ने स्पष्ट रुपमा हामीसंग छलफल गरेको छैन,’ उनले भने, ‘अहिलेकै अवस्थामा उपयोग बढ्ने गरी राख्नुपर्छ।’
प्रतिक्रिया