गत मंगलबार बिहान करिब १०ः३० बजेतिर ललितपुरको भनिमण्डलमा एक ग्राहक फेथ वर्क्सको आउटलेटस् खोज्दै थिइन्।
बास्केटबल कोर्टको विपरीत खोजेको आउटलेट्स देखेपछि खुसी हुँदै उनले भनिन्, ‘फेथ वर्क्स यही रहेछ। कति खोज्दै हिँडेँ!’
आउटलेट्स स्टोरभित्र छिर्दै गर्दा उनले सुनाइन्, ‘क्यामेरा ब्याग चाहिएको थियो।’
साथीहरुले यही आउटलेट्समा जान उनलाई सुझाएका थिए।
‘फेथ वर्क्स ब्याग एन्ड एसेसरिज’ मा पुग्ने अधिकांश ग्राहक फोन गर्दै वा गुगल म्यापमा खोज्दै पुग्छन्। यो सन् १९९३ मा सुरु भएको कम्पनी हो।
‘काठमाडौं, भक्तपुरबाट समेत हाम्रो आउटलेट्स खोज्दै यहाँ आउनुहुन्छ’, कम्पनीकी निर्देशक तारा मोक्तान लामाले भनिन्, ‘फोन अथवा गुगल म्यापमा खोज्दै आएको देख्दा खुसी लाग्छ।’
बन्दको मुखबाट जोगिएको कम्पनी
फेथ वर्क्स लामाका जेठाजु वर्णवास श्रेष्ठले सुरु गरेका हुन्। पास्टर समेत रहेका श्रेष्ठले यसलाई धेरै समय दिन सकेनन्। केही समय उनका भाइ र छोराहरुले व्यवसाय हेरे। तर व्यावसायिक रुपमा चल्न सकेको थिएन। कम्पनी घाटामा गइरहेको थियो। कोभिड महामारीसँगै कम्पनी बन्दै हुने अवस्थामा थियो।
‘कोभिड अघिसम्म भतिजले यो व्यवसाय हेर्दै आएका थिए। उनी विदेश गएपछि मैले हेर्न थालेको हुँ’, निर्देशक लामाले भनिन्, ‘पहिला यहीँ नजिकै सानो सटरमा आउटलेट्स थियो। घाटामा गइरहेको फेथ वर्क्सलाई नयाँ तरिकाबाट लैजानुपर्छ भनेर लागेको थिएँ।’
पारिवारिक व्यवसायको रुपमा रहेको फेथ वर्क्स समय र श्रमिक नपाउँदा ग्रोथ हुनसकेको थिएन। ताराले सम्हालेसँगै व्यवसायले ग्रोथ लिँदै जान थालेको छ।
‘पछिल्लो पुस्ताले नेपाली प्रोडक्टलाई सपोर्ट गर्ने प्रचलन बढेको छ। मैले पनि यही व्यवसायलाई समय दिएको छु’, उनले भनिन्, ‘त्यसैले पहिलाभन्दा हाम्रो डिमान्ड र सेल्स बढ्दै गएको छ।’
पहिले बन्दै गर्ने सुरमा रहेको फेथ वर्क्सको कारोबार पहिलेभन्दा बढेको उनको अनुभव छ।
बढ्दै छ ग्राहक–मोह
नेपाली उत्पादन प्रयोग गर्नुपर्छ भन्ने जागरुकताले बजारमा टिक्न फेथ वर्क्सलाई सहज हुँदै गएको छ।
‘फेथ वर्क्सले जुन किसिमको पहिचान र मार्केट पाउनुपर्ने हो, पाएन भनेर नै व्यवसाय सञ्चालन गर्नुपर्छ भन्नेमा पुग्यौँ’, उनले थपिन्, ‘व्यवसाय सम्हालेर राम्रो गरेँजस्तो लाग्छ।’
३० वर्षमा मानिसको सोचमा परिवर्तन हुँदै गयो। व्यवसायलाई सफल बनाउन समय र आवश्यकताअनुसार फेथ वर्क्सले आफ्नो रणनीति परिवर्तन ग¥यो।
तारा बेलायतमा अध्ययन गरी नेपाल फर्किएकी हुन्। युवालाई कस्तो डिजाइन, कस्तो प्रोडक्ट आवश्यक छ त्यो उनलाई थाहा छ। त्यसैअनुसार अहिले उत्पादनमा ध्यान दिइरहेकी छिन्।
‘डिजाइन र एसेसरिज थप हुँदै गए पनि उत्पादन भनेका ब्यागहरु नै हुन्’, लामाले भनिन्, ‘फेथ वर्क्स सुरु सुरुमा क्रिश्चियन समाजमा बढी लोकप्रिय थियो। अहिले सबैले प्रयोग गर्छन्।’
ताराको बिजनेसको मोटो ‘बिल्ट टु लास्ट’ छ। १०–१५ वर्षदेखि फेथ वर्क्सका ब्याग बोकेरै हिँड्नेहरु समेत छन्। ब्याग हत्तपत्त नबिग्रिने भएकाले पनि ग्राहकले फेथ वर्क्सलाई रुचाएका छन्।
‘बच्चादेखि नै यो ब्याग चलाएँ। नच्यातिएर नयाँ ब्याग किन्दिनु भन्दै बाबा मम्मीसँग रुनुपथ्र्यो’, तारालाई कुनै ग्राहकले इन्स्टामा सुनाएका थिए।
यसले पनि फेथ वर्क्सको गुणस्तरबारे धेरै बुझिन्छ।
कलेज ब्यागदेखि ट्रेकिङसम्म
फेथ वर्क्समा युनिसेक्स ब्याग प्याक मुख्य उत्पादन छ। दैनिक अफिसको लागि प्रयोग गर्नेदेखि स्कुल–कलेजका ब्याग समेत यहाँ पाइन्छ।
‘४–५ दिनको लागि ट्रेकिङ जाने होस् वा अफिस, स्कुल, कलेज जहाँ पनि प्रयोग गर्न मिल्ने प्रोडक्ट रहेका छन्’, उनी भन्छिन्, ‘ग्राहकलाई रंग र आकार रोज्ने विकल्प छ।’
कम्पनीमा चाहिने कच्चापदार्थ नेपाली बजारबाटै खरिद गर्दै आएको उनको भनाइ छ।
‘फेब्रिक, लेदर, जिपरलगायतका वस्तु यहीँबाट खरिद गर्छौँ’, उनले सुनाइन्, ‘केही महंगो परे पनि ए ग्रेडकै वस्तु उठाउँछौँ।’
फ्रेब्रिकको बारेमा थाहा हुनेले ब्याग हेर्दा र छाम्दा नै त्यसको गुणस्तर चिन्छन्। गुणस्तरको विषयमा चासो राख्नेलाई बढी थाहा हुन्छ।
फेब्रिकमा नाइलन १००० डीदेखि १२०० डीसम्मको प्रयोग गर्दै आएको उनले जानकारी दिइन्। झोलाको केही भागमा प्रयोग हुने लेदर ‘जेन्युन’ हुने उनको दाबी छ।
फेथ वर्क्सको आउलेट्स स्टोरसँगै अनलाइनबाट कारोबार हुन्छ। इन्स्टा, फेसबुक पेजबाटै अर्डर गर्न सकिन्छ। कार्गो कम्पनी अरामिक्ससँग सहकार्य गरी फेथ वर्क्सले होम डेलिभरी समेत गर्दै आएको छ।
ताराका अनुसार काठमाडौं उपत्यकामा एकै दिनमा डेलिभरी हुन्छ भने बाहिर दूरीअनुसार १–२ दिनमा डेलिभरी भइसक्छ।
‘कुनै संस्था, स्कुलले बल्क अर्डर समेत दिने गरेका छन्’, उनी भन्छिन्, ‘बल्क अर्डर गर्दा उहाँहरुकै डिमान्डअनुसारको डेलिभरी पनि गर्छौँ।’
प्रोडक्टको गुणस्तरअनुसार आफ्ना उत्पादनको मूल्य कम नै रहेको उनी बताउँछिन्।
‘बजारमा रहेका धेरै कम्पनीको ब्याग नटिक्ने गुनासो आइरहन्छ। हाम्रोमा त्यो गुनासो छैन’, उनले भनिन्, ‘लेदर र फेब्रिक प्रयोग गरेका ब्याग धेरै समय टिक्ने गरेका छन्।’
फेथ वर्क्सका ब्यागको मूल्य २५ सयदेखि ३५ सय रुपैयाँसम्म रहेको उनको भनाइ छ। यसमा कभर निःशुल्क हुन्छ। कम्पनीका भेन्चर ब्याग बढी बिक्री हुनेमा पर्छ।
‘ब्याग बिक्रीमात्रै होइन १ वर्षको वारेन्टी पनि दिन्छौँ’, उनले भनिन्, ‘लाइफटाइम मेन्टेनेन्स सस्तो मूल्यमा गरिदिन्छौँ।’
फेथ वर्क्सले मार्केटिङ र ब्रान्डिङमा बढी खर्च गरेको छैन।
‘जति पनि ग्राहक आउँछन् एउटाको सर्कलबाट रिफर भएर लैजाने बढी छन्’, उनले भनिन्, ‘नेपाली ब्रान्डमा यस्तो क्वालिटी र यस्तो फिनिसिङको ब्याग पाइँदैन भन्ने सुन्ने गरेका छौँ।’
नेपालबाहिर ब्रान्डको उपस्थिति नभए पनि केहीले बल्कमा अर्डर गरी लैजाने गरेको उनको भनाइ छ। अभिभावकले फेथ वर्क्सका ब्याग खरिद गरी विदेशमा पठाउने गरेको सुनाइन्।
रोजगारी दिने उद्देश्य तर टिकाउन गाह्रो
‘स्वदेशमा रोजगारी नपाएर विदेश जानुपर्ने बाध्यता देखेर उहाँले सुरु गर्नुभएको थियो’, कम्पनी खोल्नुको उद्देश्यबारे उनी भन्छिन्, ‘यहीँ नै रोजगारी सिर्जना गर्न सकियोस् भन्ने थियो।’
फेथ वर्क्सले म्यानुअल्ली नै प्रोडक्ट उत्पादन गर्दै आएको छ। ९ जनाले काम गर्दै आएका छन्। मासिक करिब ४०० ब्याग उत्पादन हुन्छन्। दक्ष जनशक्तिलाई नेपालमा राखिरहन एकदमै मुस्किल रहेको उनको भोगाइ छ।
‘केही समय काम गरेर विदेश जान चाहने नै धेरै हुन्छन्’, उनी भन्छिन्, ‘बजारभन्दा राम्रो पारिश्रमिक दिँदा पनि श्रमिक पाउन मुश्किल छ।’
भारतमा कामदार पाउन सहज भए पनि यहाँ अप्ठ्यारो रहेको उनले सुनाइन्।
‘सुरुदेखि नै हामीलाई एउटा समस्या पर्दै आएको छ– दक्ष जनशक्तिको अभाव’, तारा भन्छिन्, ‘विदेशमा मरिमेटेर काम गर्दा बढी आम्दानी हुन्छ भन्दै बाहिर जाने धेरै छन्।’
नेपाली ब्रान्डको उत्पादन महंगो हुने ग्रहाकको धारणा छ। फेयर ट्रेड सिद्धान्तको आधारमा व्यवसाय गर्दै आएको उनी बताउँछिन्।
‘लोकल ब्रान्डलाई सपोर्ट गरौँ भन्दा जुन पनि महंगो हुने गरेको सुनिन्छ’, उनले भनिन्, ‘हाम्रा ब्याग महंगा छैनन्। सस्टेनेबल विथ अफोर्डेबल (सुपथ मूल्यसँगै टिकाउ) छन्।’
नेपाली बजारमा चिनियाँ र भारतीय ब्रान्ड नै बढी भित्रिने गरेका छन्। चिनियाँ ब्रान्डका ब्याग २ देखि ३ हजार रुपैयाँमा पाइन्छ। लामो समय नटिक्ने समस्या धेरैले सुनाउँछन्।
‘लामो समय नटिक्दा पनि चिनियाँ सामान यस्तै हो भनी स्वीकार गर्नुहुन्छ’, उनले भनिन्, ‘तर नेपाली प्रोडक्टमा १ वर्षको वारेन्टी नै दिँदा पनि गुणस्तरबारे बुझ्नुहुन्न।’
ब्रान्ड र गुणस्तरमा ख्याल गर्ने ग्राहकले यति सस्तोमा पाइन्छ भनी लैजान्छन्। फेथ वर्क्सका प्रोडक्ट फेसनेबल होइनन् तर कलर, लेदर मिक्स डिजाइनले ‘ड्रास्टिक’ ब्रान्डको रुपमा ग्राहकले लिने गरेको उनको भनाइ छ।
आउटलेट्स बढाउँदै फेथवर्क्स
ग्राहकबाट बौद्ध चाबहिल, बूढानिलकण्ठ एरियाबाट यहाँ आउन टाढा भयो भन्ने गुनासो आएकाले फेथ वर्क्सले आउटलेट्स विस्तारको तयारी गरेको छ।
काठमाडौंका ग्राहकलाई सहज बनाउन नयाँ आउटलेट खोल्न सकिने विषयमा सल्लाह गरिरहेको उनले जानकारी दिइन्।
हाल एउटामात्रै आउटलेट्स हुँदा खोज्दै आउनुपर्ने धेरै ग्राहकले गुनासो गरेका छन्। फेथ वर्क्सको उत्पादन क्षमता कम छ। आउटलेट्स खोल्नलाई क्षमता पनि बढाउनुपर्ने उनले बताइन्।
‘बजारमा धेरै कम्पनी आफ्नो लोगो पनि नराखी बिक्री गर्दै आएका छन्’, तारा भन्छिन्, ‘हामीलाई गुणस्तर र ब्रान्डविनै बिक्री गर्न कुनै आवश्यक छैन। ग्राहकले विश्वास गर्नसक्ने ब्रान्ड कायम राख्दै विस्तार गर्छौँ।’
कमिसन बेसमा स्टोरहरुलाई प्रोडक्ट दिन सकिने विषयमा योजना बनाइरहेको तारा बताउँछिन्।
प्रतिक्रिया