टर्कीका भूकम्पपीडितलाई नेपालले स्वास्थ्य सामग्री र न्यानो कपडा पठाउने भएको छ।
टर्की सरकारको मागअनुसार ती सामग्री पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए।
टर्किस एयरलाइन्सबाट सोमबार बिहान सामग्री पठाउन लागिएको हो। ती सामग्री विमानस्थलमा लोड भइरहेको छ।
शुक्रबार नै पठाउने भनिए पनि टर्कीले क्लियरेन्स दिन समय लगाएपछि केही दिन ढिला भए पनि पठाउन लागिएको हो।
‘हामीले कूटनीतिक च्यानलबाट टर्कीलाई के सामग्री आवश्यक छ भनेर सोधेका थियौँ। टर्कीले मुख्य गरी तीन प्रकारका सामग्री माग गरेको थियो। त्यहीअनुसारका सामग्री पठाउन लागिएको हो। महिला र बालबालिकाका लागि थप सामग्री पनि पठाउँदै छौँ’, पोखरेलले नेपालखबरसँग भने।
नेपालले टर्कीलाई औषधिहरु, स्वास्थ्य उपकरणहरु र न्यानो कपडा पठाउने तयारी गरेको छ। त्यहाँ अहिले चिसो मौसम छ भने वर्षा र हिउँ पनि परिरहेको छ। त्यहाँको मौसम माइनस १० डिग्रीसम्म झरेको छ।
भूकम्पपीडितको उपचारमा आवश्यक औषधि, स्वास्थ्य उपकरण र न्यानो कपडाहरुमा ब्ल्यांकेट, ज्याकेट र ट्रयाकसुट पठाउन लागिएको हो।
टर्की सरकारले ती सामग्री तत्काल आवश्यक रहेको भन्दै परराष्ट्र मन्त्रालयमार्फत लेखिपठाएको थियो।
ती सामग्रीहरु सरकारको गोदाममा भएका र नेपाल रेडक्रसलगायत निजी क्षेत्रबाट संकलन गरेर पठाउन लागिएको हो। अहिले विमानस्थलमा सामग्री तौलिने काम भइरहेको छ।
जनशक्ति नचाहिने
नेपालबाट स्वास्थ्यकर्मीसहितको उद्धार टोली पठाउने निर्णय भए पनि जनशक्ति भने अहिले आवश्यक नरहेको टर्कीले जवाफ दिएको छ।
टर्कीले जनशक्ति आवश्यक नपर्ने भनेपछि अहिले सामग्री मात्रै पठाउन लागिएको स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले बताए।
टर्की पठाउने जनशक्ति भने नेपाली सेनाले तयारी अवस्थामा राखेको थियो।
‘जे जति पठाउने निर्णय सरकारबाट हुन्छ त्यहीअनुसार पठाउने गरी जनशक्ति तयारी अवस्थामा राखेका छौँ। सरकारबाट आदेश आउनासाथ हामीसँग टोली मुभ हुने अवस्थामा छ’, नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने, ‘के कति पठाउने र कहिले पठाउने भन्ने निर्णय सरकारले गर्नुपर्छ।’
गत सोमबार टर्कीको सिरियासँगको सीमावर्ती सहर ग्याजिएन्टेपमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। दुवै प्रभावित देशमा यो समाचार तयार पार्दासम्म २९ हजार जनाको मृत्यु भइसकेको छ (अल जजिरा) भने हजारौँ मानिस घाइते छन्।
प्रतिक्रिया