अस्ट्रेलियामा करिब १० वर्ष बसेका पोषण र ४ वर्ष बिताएका पुजनलाई सुख सुविधाको कमी थिएन।
त्यसका बाबजुद त्यहाँ बसिरहन उनीहरुको मनले मानेन। दुवैले नेपाल फर्किएर फास्ट फुड व्यवसाय गर्ने योजना बनाए। योजनासँगै सहोदर दाजुभाइ पोषण र पुजन नेपाल स्वदेश फर्किए।
मिल्दोजुल्दो संस्कृति भएको भारतमा फास्ट फुड स्टार्टअप राम्रै चलेको थियो। उनीहरुलाई पनि लाग्यो– नेपालमा पनि यो व्यवसाय मज्जाले चल्छ।
दुई भाइ भारतको दिल्ली गए। त्यहाँको फास्ट फुड अवलोकन गरे। आफैँ बस्ने बूढानीलकण्ठ क्षेत्रमा फास्ट फुड सञ्चालन गर्ने र मेनुमा मोःमो र चाउमिन राख्ने।
तर दिल्लीमा लिएको बिरयानीको स्वादले त्यो कन्सेप्ट नै बदलिदियो। जिब्रो लठ्ठ पार्ने मुगला एक्सप्रेसको बिरयानीमा साँच्चै फरक स्वाद थियो। त्यसले उनीहरुलाई पनि बिरयानी व्यवसायमा प्रोत्साहित गर्यो।
‘जानी बुझी राखेको बिरयानी फरक थियो’, पुजन भन्छन्, ‘वास्तविक बिरयानी यस्तो हुँदो रहेछ भन्ने भयो।’
भारतबाट फर्किएपछि उनीहरु फेरि बजार घुमे। म्याकडोनाल्डको जस्तो स्टोर राख्ने र मासलाई तान्ने कन्सेप्ट पनि बनाए। तर नेपाली ग्राहकको रुचिअनुसार नहुनेजस्तो लाग्यो।
बूढानीलकण्ठमा राजु स्वादिस्ट मोःमो र सबवे रेष्टुरेन्ट थियो। सबवे डाइनिङसहितको रेष्टुरेन्ट थियो भने राजु स्वादिस्ट मम सामान्य। अगाडि ठेलाजस्तो र टुलमा बसेर खानुपर्ने।
‘मूल्य र स्वाद दुवैमा उस्तै थियो तर ग्राहक मःम खान राजु स्वादिस्टमै भीड लागेको बढी देख्यौँ’, ग्राहकको मनोविज्ञानबारे उनले भने, ‘बढी सुविधा भएको रेष्टुरेन्टभन्दा आफूलाई सहज हुनेमा ग्राहक बढी जाँदा रहेछन्।’
हुन पनि कुनै रेष्टुरेन्टमा ग्लास लगाएको छ भने महंगो रै’छ भन्ने ग्राहकको बुझाइ छ। त्यही कारण डेकोरेटेड फास्ट फुडमा सामान्य मानिस जान डराउने देखेपछि लगानी गर्न हच्किए। आर्थिक हैसियत भए पनि खर्च गर्न तयार भएनन्।
‘एकै पटक ५ वटा आउटलेट्स खोल्ने योजना सम्भव हुन्छ जस्तो लागेन’, पोषण भन्छन्, ‘अब के हुन्छ भनी सोच्दा दिल्लीको बिरयानी स्वाद याद आयो।’
दुई भाइ बिरयानीमै केन्द्रित हुन सहमत भए। नेपालमा धेरै रेष्टुरेन्ट लक्षित भएकाले ‘डेलिभरी र टेकवे’ शैलीमा बिरयानी चलाउने।
फुड डेलिभरी हुँदा चिसो हुने ग्राहकको गुनासो सुनेका उनीहरु यसको समाधान पनि निकाल्ने, व्यवसाय पनि चलाउने निर्णयमा पुगे।
‘अन्य फुडको तुलनामा बिरयानीलाई हाँडीमा राख्दा तातै पठाउन सकिन्छ भन्ने लाग्यो’, पोषणले भने, ‘घरमै हाँडीका ‘रेसिपी’ बनाउँदै प्रयोग गरेँ। हाँडीमा ८–१० पटक ट्रायल गर्यौँ। आफूहरुले भनेजस्तो बनाउन सकिने विश्वास लाग्यो।’
उनीहरुको व्यवसाय अघि बढ्यो। नाम राखे ‘हाँडी बिरयानी’। नेपालीहरु सुन्दा नै आकर्षित हुने। लोप हुनथालेको हाँडी प्रयोगमा पनि आउने। काइदाको आइडियासँगै भक्तपुरको प्रजापति बस्तीबाट हाँडी ल्याउन थाले। हाँडीमा नै सर्भ गर्दा ग्राहकले पनि सहज माने।
हैदरावाद र लखनऊ बिरयानीको ‘फ्युजन’
भारतमा मुख्य ३ शैलीको बिरयानी चर्चित छ– हैदराबाद, लखनऊ र कलकत्ता। कलकत्ता बिरयानीमा आलु र अण्डासँगै चिकेन फ्राई हुन्छ।
लखनऊ बिरयानीमा चामल र चिकन छुट्टै पकाएर मिश्रण गरिन्छ। हैदराबाद शैलीमा भने काँचो चामल र मासुलाई दम दिएर पकाइन्छ। यो शैलीमा पकाउँदा मासुको रस चामलसँग मिल्छ।
‘हामीले यी ३ वटा बिरयानीको स्वादभन्दा फरक बनाऔँ। यसलाई फ्युजन (संयोजन) गराऔँ भन्ने लाग्यो’, पुजनले थपे, ‘हाँडी बिरयानीमा मासु ५० प्रतिशत पकाउने र राइस (चामल) ४० प्रतिशत पाक्छ। त्यसपछि हाँडीमा राखेर ओभनमा राखी पकाउँछौँ।’
जुन हैदरावाद र लखनऊको फ्युजन हो। यसलाई उनीहरु नेपालीशैलीकै बिरयानी भन्न रुचाउँछन्। फ्युजन गराउन मोःमोबाट प्रभावित भएका हुन्। मःम तिब्बतको रेसिपी भए पनि नेपालमा चर्चित हुँदा विश्वमा नेपाली डिसको रुपमा प्रचार भइरहेको छ।
हाँडी बिरयानीमा ५ स्वाद चाख्न पाइन्छ– मटन (खसीको मासुसँग), चिकन (कुखुराको मासुसँग), भेज (मासुरहित), एग (अण्डा) र प्राउन (झिँगेमाछा)। यसमा चिकन बिरयानीको मार्केट सेयर ६० प्रतिशत रहेको उनीहरुको भनाइ छ।
‘३० प्रतिशत मटन छ भने १० प्रतिशत भेज र फिस अर्डर हुन्छ’, उनीहरु भन्छन्।
त्यसो त मासु भातलाई मोलेर ल्याए बिरयानी हुन्छ भन्ने सोच धेरै नेपालीमा पाइन्छ। तर अहिले बिरयानीप्रतिको बुझाइ परिवर्तन हुँदै गएको छ। मानिसहरु ‘अथेन्टिक’ बिरयानी खोज्नथालेका छन्।
‘मासु भात मोलेर आउने बिरयानीभन्दा हाम्रो फरक थियो। अथेन्टिक सुख्खा–सुख्खा बिरयानी छ भन्ने गुनासो आउँथ्यो’, पुजन भन्छन्, ‘वास्तविक बिरयानी यस्तो हुन्छ भन्नुपर्यो। अहिले ग्रेभी बिरयानी कसैले दिए गाली खान्छ।’
नेपालमा हैदरावाद बिरयानीले छुट्टै कुजिनको रुपमा बिरयानीलाई चिनाएको थियो। हाँडी बिरयानी आएपछि नेपालीले आफ्नै परिकारको रुपमा लिनथालेको उनीहरुको बुझाइ छ।
भारत, बंगलादेशमा केही समय बसेका ग्राहकले बिरयानी मन पराउने गरेको पुजन सुनाउँछन्। ‘२५ वर्षमाथि मिड एज (मध्य उमेर)का ग्राहकले बढी बिरयानी पारख गर्नुहुन्छ’, उनले थपे।
हाँडी बिरयानीले बिरयानीसँगै मुगल रेसिपीमा कवाफ, करी, हाँडी मासु पनि सर्भ गर्दै आएको छ। रेष्टुरेन्टमा बिरयानी भनेरै पुगे पनि स्वादको लागि कवाफ, करी पनि लिने गरेको उनले सुनाए।
डेलिभरीको कन्सेप्टमा सुरु
व्यवस्थापन अध्ययन गरेका दुवै भाइ खानपिनका सौखीन हुन्। पुजन खाना बनाउन निकै रुचाउने गरेका छन्। उनले अष्ट्रेलियामा २ वर्ष किचनमै काम गरेका थिए। त्यही अनुभव यहाँ रेसिपी बनाउन प्रयोग गरेका छन्।
‘मैले टेक वे र डेलिभरीसँगै रेष्टुरेन्टको मोडलमा जाऊँ भन्थेँ। भाइले टेक वे र डेलिभरी मात्रै गरौँ भन्यो’, दाजु पोषणले सुनाए, ‘अन्तिममा डिल्लीबजारमा टेक वे र डेलिभरी गर्न सक्ने ठाउँमात्रै भाडामा पाइयो। त्यहीँ सुरु गर्न म पनि सहमत भएँ।’
२०७५ मंसिरमा भाडामा लिएर उनीहरुले चैतसम्म परीक्षण गरे। धेरै परीक्षण गर्दा अलमलमा पर्नथाले। ओपनिङअघि फेरि लखनऊ घुम्न निस्किए। त्यहाँको बिरयानी खाएपछि ठीक ठाउँमा भएको लाग्यो।
त्यो बेलासम्म छेउछाउकाले यिनीहरु डुब्ने त होइनन् भन्ने शंका गर्न थालेका थिए।
ओपनिङ गरेपछि सबैका शंका हटे। उनीहरु आफ्नो गन्तव्यमा निरन्तर अघि बढे।
‘ओपनिङ गर्नुअघि १० महिना बजारमा बितायौँ। त्यसपछि पछाडि फर्किएर हेर्नुपरेन’, पोषण भन्छन्, ‘हामी सफल हुनुमा पूर्वतयारी, पढाइ र अस्ट्रेलियाको अनुभवले काम गर्यो।’
टेक वे, डेलिभरी कन्सेप्टमा सुरु गरेपछि उनीहरुले फुडमाण्डु, भोज लगायतसँग कुरा गरे। तर सिंगल डेलिभरी नगर्ने र कमिसन बढी हुँदा आउटसोर्स नगरेको पोषण बताउँछन्। २२ देखि २३ प्रतिशत कमिसन तिर्दा नाफा कम हुने देखेर डेलिभरी गर्न सक्ने मात्रै अर्डर लिए।
‘आफ्नै डेलिभरी ब्वाई हुँदा तातो खाना ४५ मिनेटमा पुर्याउन सक्छौँ’, पुजन भन्छन्।
टेक वे र डेलिभरी मात्रै सुरु गरे पनि पछि पछि ग्राहक नै बिरयानी खोज्दै डिल्लीबजार आउन थाले। बस्ने ‘डाइनिङ’ थिएन। ग्राहकले खोज्दै आउन थालेपछि स्टोरको रुपमा राखिएको एउटा तल्लामै डाइनिङ सुरु गरे। ४ महिनामै रेष्टुरेन्टमा बदल्नुपरेको उनी बताउँछन्।
अहिले डिल्लीबजारमा ६५ प्रतिशत डेलिभरी र डाइनिङ ३५ प्रतिशत छ। त्यस्तै कुमारीपाटीमा ९० प्रतिशत डाइनिङ र १० प्रतिशत डेलिभरी हुन्छ। बिरयानी खाने ग्राहक बिहान, दिउँसोभन्दा साँझ नै बढी हुने उनीहरुको भनाइ छ। नेपालीहरु डेलिभरीभन्दा रेष्टुरेन्टमै बसेर खान बढी रुचाउने गरेको उनीहरुको अनुभव छ।
डिल्लीबजारको सफलतासँगै कुमारीपाटीमा रेष्टुरेन्ट थिममा
दुई भाइले नाफा कमाउने उद्देश्यभन्दा पनि नेपालमा बस्ने बाटो खोजिरहेका थिए।
उनीहरुलाई लाग्छ– बाहिरबाट फर्किएकालाई असफल हुने सुविधा हुँदैन। आफूहरुले सुरु गरेको व्यवसायलाई टिकाउन सके भविष्यमा अरु ठाउँमा योजना बनाउन सकिन्छ।
‘थोरै लगानी र थोरै अपरेटिङ कस्ट (सञ्चालन खर्च)मा सुरु गर्दा सफल भइयो’, पोषणको भनाइमा सहमत हुँदै पुजन भन्छन्, ‘२ वर्ष अस्ट्रेलियाको किचनमा काम गरेको अनुभव काम लाग्यो।’
आफूलाई इच्छा लागेको काम र लगन कति छ भन्नेले सफलता पाउने उनीहरु बताउँछन्। त्यसबाहेक विदेशबाट ल्याएको पुँजी र आइडियाले व्यवसायमा हात हाल्न सहज भएको उनीहरुलाई लाग्छ।
त्यसो त विदेशबाट आएर व्यवसाय खोल्दा सबै सफल भएका उदाहरण छैनन्।
डिल्लीबजारमा सफलता पाएसँगै दुईभाइले ललितपुरको कुमारीपाटीमा पनि रेष्टुरेन्ट थिममा हाँडी बिरयानी विस्तार गरेका छन्।
‘राम्रो योजनाको साथ गर्यौँ भने सफलता मिल्दो रहेछ। हामी सस्टेनसँगै एक्सपान्ड समेत गर्यौँ’, हाँडी बिरयानीको ४ वर्षबारे पोषण भन्छन्, ‘३२ लाखमा सुरु गरेका थियौँ। रेष्टुरेन्ट बनाउँदा ७५ लाख पुगेको थियो।’
डिल्लीबजारको ‘कन्फिडेन्स’ले कुमारीपाटीमा उनीहरुले १ वर्षअघि हाँडी बिरयानी विस्तार गरेका थिए। जहाँ करिब १ करोड ६० लाख लाग्यो। अब भक्तपुरमा एउटा रेष्टुरेन्ट थिममा खोल्न चाहेका छन्।
‘भक्तपुरसहित काठमाडौंबाहिरका ३–४ वटा सहरमा रेष्टुरेन्ट चलाउन सक्ने देखेका छौँ’, आगामी योजनाबारे पुजन भन्छन्, ‘काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा साना आउटलेट्स राख्ने र सेन्ट्रल किचनबाटै पकाएर पुर्याउने सोचमा छौँ।’
प्रतिक्रिया