गत माघ १६ गते नियमित रुपमा मन्त्रिपरिषद्को बैठक बसेको थियो। सामान्यतया सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने तालिका छ। यसअनुसार बसेको बैठकले योजना आयोगको सदस्यहरु नियुक्त गरेको थियो।
मन्त्रिपरिषद् बैठक सकिनेबित्तिकै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रीपरिषद्को बैठकको निर्णय सुनाइन्।
उनका अनुसार त्यस दिन सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र महतलाई नियुक्त गरेको थियो।
उनले मन्त्रिपरिषद्मा सुनाएको नाममध्ये अन्जान शाक्य भने योजना आयोगको सदस्यमा नियुक्त भइनन्।
उनको स्थानमा डा. संगीता सिंह नियुक्त भएकी छिन्। आयोगको सदस्यमा एक जना महिला अनिवार्य छ। उक्त कोटामा सरकारको प्रवक्ताले नाम लिएको अन्जान शाक्यको स्थानमा डा. सिंह नियुक्त भएकी हुन्।
कसरी भयो नाम हेरफेर?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषद्को बैठकमा अन्जान शाक्यको नाम उच्चारण भएको र छलफल समेत भएको थियो।
नेकपा एमालेको कोटाबाट सदस्यको लागि उनको नाम छलफल भएको थियो। सोहीअनुसार निर्णय गर्ने पनि भनियो। तर शाक्यले राजदूतमा बढी जोड दिएको कुरा आएको भनी मन्त्रिपरिषदमै छलफल भएको थियो।
मन्त्रिपरिषद् बैठकको निर्णयको माइन्यूट मुख्य सचिवले गर्छन्। छलफल भए पनि त्यो निर्णय माइन्युट भने भइसकेको थिएन।
त्यसकारण पछि माइन्युट गर्दा उनको स्थानमा डा. संगीता सिंहलाई नियुक्त गरिएको हो। योजना आयोगका प्रवक्ता डा. रामकुमार फुयालले मन्त्रिपरिषदमा के कसरी छलफल र निर्णय भयो आफूलाई थाहा नभए पनि डा. सिंह योजना आयोगको सदस्यमा आएको जानकारी दिए।
उनले भने, ‘डा सिंहलाई जिम्मेवारी समेत बाँडफाँट भइसकेको छ।’
योजना आयोगमा कसलाई के जिम्मेवारी?
योजना आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। यसको कार्यकारी अधिकार उपाध्यक्षले लिन्छन्। उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्।
उनलाई आर्थिक क्षेत्र, अर्थ मन्त्रालय , रक्षा, गृह, परराष्ट, भौतिक पूर्वाधार, यातायात , विदेशी सहायता लगायतका क्षेत्र हेर्नेछन्।
दोस्रो वरीयतामा रहेका सदस्य डा. रामकुमार फुयालले उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, केन्द्रीय तथ्यांक कार्यालय, श्रम तथा रोजगारलगायतका क्षेत्र हेर्नेछन्।
सुशील ज्ञवालीले ऊर्जा, जलस्रोत, सिँचाइ, वन, वातावरण, सार्वजनिक निजी साझेदारीलगायतका विषय हेर्ने भएका छन्।
यता कुशेन्द्र बहादुर महतले कृषि पशुपन्छी, भूमि व्यवस्था सहकारी, गरिबी निवारण खानेपानी, दिगो विकासलगायतका क्षेत्र हेर्नेछन्।
डा. संगीता सिंहले शिक्षा विज्ञान तथा प्रविधि, सहरी विकास, महिला बालबालिका लगायतका क्षेत्र हेर्नेछिन्।
गीताभक्त जोशीले स्वास्थ्य जनसंख्या, संघीय मामिलालगायतका क्षेत्र हेर्नेछन्।
त्यस्तै जयकान्त राउतले सञ्चार तथा सूचना प्रविधि, खेलकुद कानुन संसदीय मामिलालगायतका क्षेत्र हेर्नेछन्।
योजना आयोगको सचिव केवल भण्डारी छन्। उनले संवैधानिक अंगहरु प्रधानमन्त्री कार्यालय, प्रशासनिक सुशासनका क्षेत्र हेर्ने गरी कार्यक्षेत्रहरु बाँडफाँट भएको योजना आयोगले जानकारी दिएको छ।
प्रतिक्रिया