ad ad

कारोबार


अब पर्यटकको भीड लाग्ने समुद्री तटजस्तै बन्नेछ नारायणी किनार

अब पर्यटकको भीड लाग्ने समुद्री तटजस्तै बन्नेछ नारायणी किनार

नारायणीको वर्तमान स्वरुप र निर्माणपछि तयार हुने स्वरुप। तस्बिर : नेपालखबर


वसन्त अर्याल
फागुन १७, २०७९ बुधबार १९:४५, काठमाडौँ

अब नारायणी नदी किनारले आफ्नो विकसित रूप देख्न पाउने भएको छ।  किनारलाई सौन्दर्यीकरण गरी ‘सि बिच’को रुपमा विकास गरिनलागेको हो। 

भरतपुर महानगरपालिकाले यसको ‘मास्टर प्लान’ बनाएपछि संघीय सरकारको सहयोगमा काम समेत सुरु भएको छ। जहाँ १५ बिघा क्षेत्रमा पर्यटकीय गतिविधिहरु गर्न मिल्ने गरी भौतिक संरचना बन्दै छन्। 

संघीय सरकारको सहयोगमा पूर्वाधार निर्माण सुरु भएका छन्। भरतपुरकी मेयर रेणु दाहालले यसको बुधबार शिलान्यास गरेकी हुन्। 

उद्घाटन कार्यक्रममा मेयर दाहालले सौन्दर्यीकरणसहितको पूर्वाधारले नारायणी नदी व्यवस्थित बन्दै गरेको बताइन्। 

‘महानगरले नारायणी नदी किनारलाई सी बिचको रुपमा विकास गर्ने लक्ष्य पूरा हुँदै गएको छ’, उनले भनिन्। 

मेयर दाहालका अनुसार नाराणणी नदी किनारामा मुख्य ३ वटा संरचना बन्नेछन्। तटबन्ध, आरती स्थल र फुट ट्रेल निर्माण हुने उनको भनाइ छ। 

भरतपुर महानगरले ५ वर्ष अघिदेखि नै गुरुयोजना बनाएर काम सुरु गरेको जनाएको छ। 

‘सुरुमा हामीले नदी किनाराको मास्टर प्लान बनायौँ’, मेयर दाहालले भनिन्, ‘चरणबद्ध रुपमा पूर्वाधार निर्माण गर्दै जान्छौँ।’

मास्टर प्लानभित्रका २ वटा पूर्वाधारको शिलान्यास भएको छ। अहिले नै हजारौँ मानिसको चहलपहल भइरहने किनारामा दैनिक ५० हजार बढी पर्यटक आउनसक्ने उनको विश्वास छ। नारायणी नदीमा अहिले पर्यटक बोक्ने जेट बोट सञ्चालनमा छन्। 

नदी तटबन्धसँगै बन्नेछ आकर्षक सेड 
मेयर दाहालले नारायणी पुलमाथिको ६ सय ४० मिटरको काम सुरु भएको बताइन्। उनका अनुसार अन्य चार क्षेत्रको समेत सम्झौता भई काम अघि बढेको छ जहाँ हरियालीसहितको तटबन्धन गरिनेछ। 

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले संघीय सरकारका निकायले पनि काम गरिरहेको बताए। 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत यसमा नारायणी तटबन्धको करिब ४ अर्ब बजेट छ। यसले नारायणी नदीभरिका नदी कटान रोक्छ। 

नारायणी नदीमा पानीको वहाव बढ्ने र छेउछाउ कटौती हुने समस्या आउने गरेको छ। नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी नदीको वहावलाई नियन्त्रण गर्न तटबन्ध बनाउँदै छ। तटबन्ध मात्रै नभई नदी नियन्त्रणसँगै सीडीसहितको आकर्षक सेड बन्नेछ। 

नारायणी नदी व्यवस्थापन आयोजनाले १५ करोड ९२ लाखका लागतमा नरायणी पुलको उत्तरतर्फको नारायणी नदी किनारमा ६ सय ४० मिटर तटबन्ध गर्नलागेको हो।  

गत पुस ५ गते ठेक्का सम्झौता भई डाइनामिक कन्स्ट्रक्सन प्रालिले बोलपत्र सकार गरी काम गरिरहेको आयोजनाका निर्देशक गणेश मरासिनीले बताए। ठेक्का सम्झौताअनुसार १८ महिनामा काम सकिन्छ। 

‘मोज्याक टायल’ लगाएर तयार हुँदै आरती स्थल 
प्रमुख प्रशासकीय अधिकृत रानाले सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी विकास कार्यक्रमअन्तर्गत आरती स्थल बनाउने, सडक बनाउने, बसपार्क बनाउनेलगायतको संयुक्त बजेट रहेको जानकारी दिए। 

जमिनको सतहबाट केही मिटर अग्लो बनाइने आरतीस्थलमा ढुङ्गा छापिनेछ। आरतीस्थलको बाहिरी भागमा ‘मोज्याक टायल’ लगाइनेछ। 

आरतीस्थल, देवघाटमा बसपार्क र महानगरभित्रका विभिन्न ठाउँका १८ किलोमिटर सडक कालोपत्र एक साथ ठेक्का सम्झौता गरिएको छ। ४१ करोड १९ लाखमा ठेक्का लगाइएको हो।

करिब २ करोड रुपैयाँ लागतमा आरती स्थल बन्नेछ। २८ मिटर लम्बाइ र पाँच मिटर चौडाइ रहनेछ। केही वर्षदेखि नारायणी नदी किनारामा नियमित रुपमा आरती हुँदै आएको छ। 

साढे ३ किलोमिटरको फुट ट्रायल 
नारायणी नदीमा फुट ट्रायल पर्यटन मन्त्रालयअन्तगर्तको पर्यटन विभागले बनाउँदै छ। 

‘फुट ट्रायल पर्यटन विभागअन्तगर्तको कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको छ’, रानाले भने, ‘फुट ट्रायलको काम ठेक्का लागेर निर्माणस्थलमा काम भइरहेको छ।’

फुट ट्रेल बनेसँगै नारायणी किनारामा पर्यटक हिँड्डुल र किनारामा समय बिताउन सहज हुनेछ। 

पर्यटकलाई आकर्षित गर्न करिब ३.५ किमि फुट ट्रेलको निर्माणसहितको काम एक साथ हुनेछ। २०७७ मंसिरमा फुट ट्रेल निर्माणको टेन्डर आह्वान गरेको थियो। 

र, पर्यटक लोभ्याउने सिग्नेचर पुल 
यता नारायणी नदीमाथि ४ लेनको ‘सिग्नेचर पुल’ समेत बन्दै छ। चितवन र नवलपरासीलाई जोड्न पुल निर्माण हुनलागेको हो। 

भरतपुर महानगरको योजना नभए पनि संघीय सरकारले बनाउन लागेको सिग्नेचर पुलले नारायणी नदी किनारालाई थप आकर्षण बनाउनेछ। 
हाल नारायणी नदीमा रहेको ४० वर्ष पुरानो २ लेनको पुल जीर्ण बन्दै गएका कारण नयाँ पुल बनाउन लागिएको हो। 

सडक विभागले डिजाइन एन्ड विल्कका आधारमा पुल निर्माण गर्ने जनाएको छ। पुलको कुल लम्बाइ ४०० मिटरको हुनेछ। 

करिब १ अर्ब लागतमा आकर्षक एवम् कलात्मक पुल बनाउने तयारी छ। 

पर्यटकलाई आकर्षण गर्नलाई नै सिग्नेचर डिजाइनमा पुल बनाइनेछ। 

सबै तस्बिर : रेणु दाहाल/फेसबुक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .