काठमाडौंको क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका पूर्व प्रबन्ध सञ्चालक पवनकुमार कार्की अहिले अमेरिकामा छन्। उनलाई नेपालको अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ। अमेरिकामा उनलाई यसको कुनै मतलब छैन। किनकि, कार्कीले आफूलाई पक्राउ गर्न जारी भएको इन्टरपोलको रेड नोटिस नै खारेज गराइसकेका छन्।
तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई २०७१ वैशाखमा डेढ वर्ष कैद र साढे ३ करोड बढी जरिवाना सुनाएको थियो। पवनले उक्त सजाय अझै भुक्तान गरेका छैनन्।
यो बैंकिङ ठगीमा मुख्य भूमिका उनकै भए पनि अर्काको नाममा कारोबार गर्दा कार्कीलाई मतियारका रुपमा मात्रै सजाय तोकिएको छ।
उनको पुर्ख्यौली थलो काभ्रेको धुलिखेल नगरपालिका ६ मुखिया गाउँका २० जना भने अझै जेलमा छन्। १५ जना जेल परेर छुटे। १० जना भने भागिरहेका छन्।
२०६८ सालको त्यो घटनाका कारण केहीको चेत उड्यो, केहीले आफ्नो थातथलो नै गुमाए।
धुलिखेलका शम्भु कार्कीको जग्गा मुखिया गाउँका ३५ जनाको नाममा जग्गा पास गरियो। यसको सबै कारण थियो बैंकबाट कर्जालिनु। मुखिया गाउँका यी सोझा गाउँलेलाई आश्वासनमा पारेर नयाँ कम्पनी खडा गरियो। जग्गा र कम्पनी धितो राखेर कर्जा लिइयो। गाउँलेको नाममा लिएको त्यो कर्जा पवन कार्कीसहितका व्यक्तिले चलाए।
बदनियतको उदेश्यले लिएको कर्जा उनीहरुले तिरेनन्। त्यसपछि बैंक कर्जा जारी भएका व्यक्तिहरुलाई खोज्दै घरघर पुग्यो। कम्पनी पनि नक्कली रहेको खुल्यो। धितोबापत राखिएको जग्गा पनि मूल्यांकन अनुसार पुगेन।
३ अर्बको कर्जा धितोबाट चुक्ता हुन नसक्ने भएपछि क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले राष्ट्र बैंक गुहार्यो। राष्ट्र बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन निर्देशन दियो।
राष्ट्र बैंकले २०७० सालमा तीन अर्ब बराबरको कर्जा अपचलन गरी बैंकलाई धरासायी बनाएको अभियोगमा मुद्दा दायर गर्यो। जसमा क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका सञ्चालक, कर्मचारी र ४४ जना ऋणीहरु थिए। उनीहरुलाई दोषी ठहर गर्दै अदालतले फैसला गर्यो।
यसका मुख्य डिजाइनर पवन कार्की भने त्यतिबेला अमेरिका पुगिसका थिए। यो घटनामा समातिएकाहरुले मुख्य अभियुक्त नै पवन कार्की रहेको बयान दिएका छन्। पछि सजाय भुक्तानका लागि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत कार्कीलाई पक्राउ गर्न रेड नोटिस जारी गरायो। तर जारी भएको ५ वर्षपछि कार्कीले रेडनोटिस नै खारेज गराए।
अहिले उनी निस्फिक्री अमेरिकामा बसिरहेका छन्। उनीसँगै यो मुद्दामा मतियारको रुपमा जोडिएका शम्भु केसी भने २ वर्ष कैद भुक्तान गरेर छुटिसकेका छन्। अहिले उनी घरजग्गाको कारोबार गर्छन्। अरु कोही जेल कटाउँदैछन्। २ जनाको त मृत्यु नै भइसक्यो। केहीको मानसिक अवस्था बिग्रिएको छ। केही भागिसकेका छन्।
कसरी खारेज भयो इन्टरपोलबाट ‘रेड नोटिस’
अदालतले दोषी ठहर गरेपछि प्रहरीले पवनविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरायो। प्रहरी प्रधान कार्यालयका अनुसार उनीविरुद्ध सन् २०१६ मा रेड नोटिस जारी भएको थियो।
आफूविरुद्ध रेड नोटिस जारी भएको कार्कीले थाहा पाए। तर उनले इन्टरपोलको ‘कमिसन फर द कन्ट्रोल अफ इन्टरपोल्स फाइल्स’मा आफू निर्दोष रहेको भन्दै अपिल गरे। यो कमिसनले इन्टरपोलबाट जारी भएका नोटिसको बारेमा अपिल परे थप अध्ययन गरेर निर्णय गर्छ।
कार्कीले यो मुद्दाका बारेमा प्रतिरक्षा गर्ने मौका आफूले नपाएको भन्दै अपिल गरेका थिए। उनको अपिलबारे इन्टरपोलको यो समितिले थप अध्ययन गर्ने निर्णय गर्यो।
नेपाल प्रहरीलाई कार्कीले अपिल गरेको बारेमा सोध्दै पत्र पनि पठायो। नेपाल प्रहरीले उनीविरुद्धको कसुर र फैसलासम्मको प्रक्रियाको बारेमा जानकारी दिँदै इन्टरपोलमा पत्र पठायो।
नेपाल प्रहरीको जवाफपछि इन्टरपोलको यो कमिसनले सन् २०२१ मा कार्कीविरुद्ध जारी भएको रेड नोटिस हटाउने निर्णय लियो। यससँगै कार्की अन्तर्राष्ट्रिय प्रहरीको निगरानीबाट मुक्त भए।
अहिले अमेरिकामा उनलाई यो घटनाका कारण कुनै तनाव छैन। तर नेपाल प्रहरीले फेला पारेमा भने उनलाई सजाय भुक्तानका लागि अदालतमा बुझाउने छ।
यस्तो छ करोडौं ठगीको डिजाइन
क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सबाट ऋण लिनकै लागि विभिन्न कम्पनीहरु खडा गरियो। यी संस्थाहरु पनि मुखिया गाउँकै व्यक्तिहरुका नाममा थिए। डिजाइन भने फाइनान्सकै पवन लगायतका व्यक्तिले गरे।
यसरी खडा गरिएका थिए– गणेश उमेश फर्निचर उद्योग, साजन चिनी मिल प्रालि, श्रीकृष्ण टी उद्योग, सीता खाँडसरी सुगर मिल, सेतीदेवी फर्निचर उद्योग, श्रीबुढा महाँकाल खाद्य प्रोडक्सन उद्योग, आरके स्टिल फर्निचर उद्योग, जेसप खाद्य प्रोडक्सन, मेगा सप्लायर्स, रुविसा खाद्य स्टोर। तिनै कम्पनीका नाममा कर्जा प्रवाह गरिएको थियो।
यस्तै सुविन्द्र श्रेष्ठ रिद्धिसिद्धी विटन एन्ड राइस मिल, राजेश काष्ठ उद्योग, संवृद्धि इन्भेस्टमेन्ट कम्पनी प्रालि, काभ्रे ब्रोइलर सप्लायर्स, मनोरम हाउजिङ, फुल्चोकी दाना उद्योग, श्रीगणेश जेन्टल फिल्म प्रोडक्सन, चित्रकुमार श्रेष्ठ हलमार्क रेस्टुरेन्टको नाममा पनि फाइनान्सबाट कर्जा लिइएको थियो। यी कम्पनीका नाममा फाइनान्सबाट एक अर्ब ४७ करोड, ४९ लाख, ७५ हजार रुपैयाँ कर्जा जारी भएको थियो।
यसरी कर्जा दिलाउनमा पवनकुमार कार्कीसहित अमिरजंग खड्का, मुरारी कार्की, जानुका केसी, श्रीराम खत्री लगायतलाई प्रतिवादी बनाइएको थियो। राष्ट्र बैंकले उनीहरुविरुद्ध कारबाही माग गर्दै २०६८ असार १० गते जाहेरी दिएको थियो।
तर यो कसुरमा प्रतिवादी बनाइएका व्यक्तिहरुले भने यसको मुख्य योजनाकार नै पवनकुमार कार्की रहेको बयान दिएका थिए।
जानुका केसीले बयानमा भनेकी थिइन्, ‘पवनकुमार कार्की मेरो ज्वाईं नाताका व्यक्ति हुन्। उनको विश्वासमा मैले आफ्नो नागरिकता दिएँ र उनले भने अनुसार दस्तखत गरेको हुँ। ती कम्पनीहरु मेरो पनि नाममा छन् भन्ने अहिले आएर थाहा पाएको हुँ। फाइनान्समा सेयर रहेको कुरा पनि मलाई थाहा छैन। रकम दुरुपयोग उनीहरुले नै गरेका हुन्, मलाई थाहा छैन।’
यही घटनामा जोडिएका अमिरजंग खड्काले पनि यस्तै बयान दिएका थिए। उनी पनि पवनका नाताका मान्छे हुन्। उनले पनि जानुकालाई जस्तै झुक्याएर फसाएको बयान दिएका थिए। पछि छानबिनका क्रममा उनीहरुको कुनै पनि संलग्नता नरहेको भन्दै राष्ट्र बैंकले नै पत्र पठायो।
तर पवनकुमार कार्की र हरिप्रसाद आचार्यले भने मिलेमतोमा सञ्चालन नै नभएको परियोजनालाई सञ्चालनमा रहेको भनी विभिन्न कागजात तयार गरी बैंकमा पेस गरेको, बैंकका कर्मचारी तथा पदाधिकारीलाई प्रभावमा पारी ऋण दिलाएको अभियोग लगाइएको थियो।
यी दुईको कार्यले संस्थामा २० करोड ९६ लाख २४ हजार ४६२ रुपैयाँ हानिनोक्सानी भएको उल्लेख छ। यी कसुरमा जोडिएका ऋणी र प्रत्यक्ष संलग्न देखिएका कर्मचारीलाई मुख्य अभियुक्त मान्दै कार्कीलाई भने मतियारका रुपमा मात्रै सजाय तोकिएको थियो।
‘कर्जा प्रवाहमा पर्दापछाडि बसेर पवनकुमार कार्कीले खेलेको भूमिकालाई दृष्टिगत गर्दा कर्जा प्रवाहमा फाइनान्स कम्पनी र ऋणीहरुका बीचमा सम्पर्क गराउने कडीको रुपमा प्रमुख योजनाकारसम्म देखियो,’ फैसलामा भनिएको छ।
तर कार्कीले सम्पूर्ण कर्जा दुरुपयोग गरेको भन्ने तथ्ययुक्त प्रमाणको अभाव रहेको भन्दै मागबमोजिम सजाय हुन सक्ने स्थिति नदेखिएको अदालतको ठहर छ। कार्कीको भूमिका गलत मनसायबाट कर्जा लिन दिन दुरुत्साहन गर्ने मतियारको रुपमा देखिएको ठहर गर्दै अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५ को उपदफा (६) बमोजिम सजाय गर्ने फैसला गरेको थियो।
जसअनुसार पवनकुमार कार्कीलाई डेढ वर्ष कैद र ३ करोड, ४९ लाख, ३७ हजार ४१० रुपैयाँ जरिवानाको फैसला भएको थियो।
सम्बन्धित समाचार
बैंकिङ कसुरमा एउटै गाउँका ३५ जना जेलमा, ठग प्रबन्धक कार्की अमेरिकामा
प्रतिक्रिया