ad ad

कारोबार


सावधिक जीवन बीमा व्यवसायबाट पुससम्म साढे २८ अर्ब आर्जन

९ पोलिसीमध्ये कुनबाट कति उठ्यो प्रिमियम?
सावधिक जीवन बीमा व्यवसायबाट पुससम्म साढे २८ अर्ब आर्जन

केशर बोगटी
चैत १०, २०७९ शुक्रबार १८:५४, काठमाडौँ

जीवन बीमा कम्पनीहरुले सावधिक जीवन बीमामार्फत सर्वाधिक व्यवसाय गरेका छन्। 

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सावधिक जीवन बीमा व्यवसायमार्फत जीवन बीमा कम्पनीले २८ अर्ब ५४ करोडको आर्जन गरेका छन्। 

जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्म कुल ७१ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेकोमा सावधिक जीवन बीमामार्फत मात्र २८ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको बीमा प्राधिकरणले जनाएको छ। जुन कुल जीवन व्यवसायको ३९.८३ प्रतिशत हो। 

हाल जीवन बीमा व्यवसाय गर्दै आएका जीवन बीमा कम्पनीहरुले ९ वटा छुट्टाछुट्टै बीमालेखहरु सञ्चालनमा ल्याएका छन्।

कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरित सावधिक जीवन बीमा, बालबच्चासम्बन्धी सावधिक जीवन बीमा, वैदेशिक रोजगार म्यादी जीवन बीमा, आजीवन जीवन बीमा, एकल बीमाशुल्क जीवन बीमा, म्यादी जीवन बीमा र लघु जीवन बीमा सञ्चालनमा ल्याएका छन्। कम्पनीहरुले यी सबै बीमालेख देशभरका ७ वटै प्रदेशमा बिक्री गरी बीमाशुल्क संकलन गरिरहेका छन्।

जीवन बीमा व्यवसायमा अग्रिम भुक्तानी सावधिक जीवन बीमाको हिस्सा २३.४९ प्रतिशत छ। पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले अग्रिम भुक्तानी सावधिक जीवन बीमा व्यवसायबाट १६ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेका छन्। 

त्यसैगरी, बालबच्चासम्बन्धी सावधिक जीवन व्यवसायको हिस्सा बढ्दै गइरहेको छ। चालू आवको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले बालबच्चासम्बन्धी सावधिक जीवन व्यवसायका गरी १० अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेका छन्। 

सबैभन्दा थोरै एक बीमा शुल्क जीवन बीमा हिस्सा छ। एक बीमा शुल्क जीवन बीमा हिस्सा ०.७८ प्रतिशत छ। पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीले एक बीमा शुल्क जीवन बीमामार्फत ५६ करोड रुपैयाँ आर्जन गरेका छन्। 

यता आजीवन जीवन बीमाको हिस्सा समेत बढ्दै गइरहेको छ। आजीवन जीवन बीमा व्यवसाय गरी जीवन बीमा कम्पनीले २ अर्ब ३५ करोड रुपैयाँ आर्जन गरेका छन्। 

लघुबीमा व्यवसाय बढाउँदै जीवन बीमा कम्पनी 
बीमा प्राधिकरणले नयाँ लघुबीमा कम्पनी सञ्चालनमा ल्याउने भएसँगै जीवन बीमा कम्पनीहरुले लघुबीमा व्यवसाय बढाएका छन्।

पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ४३ लाख ८६ हजार ३५४ बीमा लेख जारी गरी १ अर्ब १८ करोड रुपैयाँ आर्जन गरेका छन्। 

गत वर्ष सोही अवधिमा जीवन बीमा कम्पनीहरुले १२ लाख १९ हजार १२५ बीमालेख जारी गरी १६ करोड ७६ लाख रुपैयाँ आर्जन गरेका छन्। 

साथै, रुपान्तरित सावधिक जीवन बीमामार्फत जीवन बीमा कम्पनीहरुले ९ अर्ब ४६ करोडको आम्दानी गरेका छन्। 

वैदेशिक रोजगार म्यादी जीवन बीमामार्फत १ अर्ब ७१ करोड र म्यादी जीवन बीमामार्फत ६७ करोड ४२ लाख रुपैयाँको व्यवसाय गरेका छन्। 

कुन प्रदेशमा कति व्यवसाय? 
जीवन बीमा कम्पनीको व्यवसाय ठूलो हिस्सा बागमती प्रदेशमा छ।

बागमतीमा जीवन बीमा कम्पनीहरुले कुल ९ बीमा पोलिसीमार्फत १ करोड २ लाख ३७ हजार ९९४ बीमालेख जारी गरी ३३ अर्ब रुपैयाँ आर्जन गरेका छन्। जुन कुल जीवन बीमाको करिब ५० प्रतिशत व्यवसाय हो।  

त्यसैगरी कोशी प्रदेशमा ९ बीमा लेखमार्फत ११ लाख ६ हजार ५२१ पोलिसी जारी गर्दै ८ अर्ब ४६ करोड रुपैयाँ आर्जन गरेका छन्। 
मधेश प्रदेशमा ५ लाख १० हजार ६६ पोलिसी जारी गर्दै ६ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ। 

गण्डकी प्रदेशले ६ लाख ३० हजार बीमालेख जारी गर्दै ७ अर्ब ७ करोड रुपैयाँ छ। 

लुम्बिनी प्रदेशले ९ लाख २९ हजार बीमा लेख जारी गर्दै १० अर्ब १० करोड रुपैयाँ आर्जन गरेको देखिन्छ। 

कर्णाली प्रदेशले २ लाख २२ हजार बीमा लेख जारी गर्दै २ अर्ब ९३ करोड आर्जन गरेको छ। सुदूरपश्चिम प्रदेशमा जीवन बीमा कम्पनीहरुले ४ लाख ७२ हजार बीमालेख जारी गर्दै ३ अर्ब ५८ करोड रुपैयाँ आम्दानी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .