राजनीति


पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन : अध्यक्ष नेपाल

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन : अध्यक्ष नेपाल

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १८:२८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन्।

शुक्रवार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरु विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका हुन्।

उनले यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि प्रतिफल नआएको बताए। सो पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने उनको भनाई छ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने धारणा राखे। उनले देशमा आवश्यकताहरुको प्राथमिकीकरण गर्न नसकिएको बताए। उनले कुनैपनि कुरामा दूरगामी सोच राख्न नसकिएको टिप्पणी गरे। 

उनले भने, ‘मैले संसदमा पनि भनेको थिएँ। पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको आज आवश्यकता थियो? लुम्बिनीको जरुरी थियो? त्यहाँ अर्बौंको खर्च भएको छ। त्यहाँ पैसा लगानी भएको छ। त्यो लगानीको प्रतिफल विचार गर्नुस् त। त्यसको ब्याज। त्यही पैसा यदी अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल प्राप्त हुन्थ्यो। उदाहरणका लागि निजगढमा विमानस्थल बनाएको भए निजगढको विमानस्थलले हाम्रो आवश्यकता पूर्ति गर्ने थियो। अहिले त्यहाँ हवाइजहाज छैन ल्याण्ड गर्नका लागि। उड्नका लागि। यात्रु छैन झर्नका लागि। चढ्नका लागि। भनेपछि हामीले आवश्यताको प्राथमिकीकरण पनि गर्दैनौँ। पुल निर्माणमा त्यस्तै छ। एउटा नदीमा दशवटा पुल छ। कुनै ठाउँमा एउटा पनि पुल छैन। कुनैपनि कुरामा दुरगामी सोचहरु पनि छैन।’

अध्यक्ष नेपालले देशको सबै क्षेत्रहरुमा समस्या भएको भन्दै समस्याको मुख्य कारण भ्रष्टाचार भएको बताए। भ्रष्टाचारको अन्त्य सिंहदरबारबाट मात्रै गर्न सकिने उनको भनाई छ। उनले मुख्य नेतृत्वबाट नै भ्रष्टाचारको अन्त्य गर्न सकिने उल्लेख गरे। मुख्य नेतृत्वहरुमा भ्रष्टाचार अन्त्य गर्ने इमान्दार प्रतिवद्धता नहुञ्जेलसम्म भ्रष्टाचारको अन्त्य गर्न नसकिने उनले बताए। 

अध्यक्ष नेपालले नेपालले विदेशीहरुसँग अनुचित सम्झौता गर्ने गरेको स्वीकार गरे। उनले नेपालले विदेशीहरुसँग कुनैपनि सम्झौता गर्दा चुक्ने गरेको उल्लेख बताए। उनले विदेशीहरुसँग भएको सम्झौताहरुको सम्बन्धमा किन अनुगमन हुँदैन? भन्ने प्रश्न समेत गरे।

उनले कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको आधारशिला बनाउनुपर्ने बताए। यसको निम्ति राज्यले उच्च प्राथमिकता दिनुपर्ने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .