ad ad

कारोबार


संसद् पसे अर्थमन्त्रीका हरेक वाक्य केलाउनसक्ने अर्थशास्त्री

संसद् पसे अर्थमन्त्रीका हरेक वाक्य केलाउनसक्ने अर्थशास्त्री

डा. स्वर्णिम वाग्ले


दीपक भट्ट
बैशाख १२, २०८० मंगलबार २३:३, काठमाडौँ

संघीय संसदमा हिउँदे अधिवेशन अन्त्य गर्ने र बजेट अधिवेशन बोलाउने समय आएको छ। 

सामान्यतया बजेट अधिवेशनलाई सरकारको नीति तथा कार्यक्रम, वार्षिक योजनालगायतबारे छलफल गर्ने समयका रुपमा लिइन्छ। 

अहिले संघीय सरकार बजेट निर्माणका क्रममा छ। त्यसको लागि बजेट लेखन टिम नै बनाएर अर्थ मन्त्रालयले काम गरिरहेको छ। प्रि–बजेटको छलफल संसदमा सुरु गर्ने समय आइरहँदा अर्थतन्त्र बुझेका डा. स्वर्णिम वाग्ले संसदमा प्रवेश गरेका छन्। 

प्रतिनिधिसभामा चार जना पूर्वअर्थमन्त्रीहरू वर्षमान पुन, जनार्दन शर्मा, विष्णुप्रसाद पौडेल र ज्ञानेन्द्रबहादुर कार्की छन्। उनीहरुसँग अर्थ मन्त्रालयमा काम गरेको अनुभव भए पनि प्राज्ञिक अनुभव छैन। 

अहिलेका अर्थमन्त्री डा. प्रकाशशरण महत भने प्राज्ञिक हिसाबले पनि अर्थतन्त्र बुझेका व्यक्ति हुन्। तर उनलाई अर्थमन्त्री हुनु अघिसम्म कहिल्यै आर्थिक विषय र एजेण्डामा बहस नगरेको आरोप लाग्ने गर्छ। महत अर्थमन्त्री भएसँगै अर्थतन्त्र बुझेको मान्छेले अर्थ मन्त्रालय सम्हालेका छन् भन्ने धारणा कर्मचारीदेखि सर्वसाधारणसम्मचाहिँ पुगेकै छ। 

अब भने संसदमा अर्थमन्त्रीले आफ्नो नीति प्रस्तुत गर्दैगर्दा उनका हरेक वाक्यांशमा टिप्पणी गर्नसक्ने नेताको रुपमा संसद् छिर्न लागेका छन्, स्वर्णिम वाग्ले। गत १० गते सम्पन्न उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका हुन्। 

योसँगै अब आर्थिक विषयमा आएर बोल्ने र अर्थमन्त्रीदेखि अन्य सांसदले उठाएको विषयमा समेत ठोस टिप्पणी गर्नसक्ने व्यक्तिको रुपमा वाग्लेलाई लिइएको छ। 

अर्थविद् डा. डिल्लीराज खनाल संसदमा धेरै अनावश्यक विषयमा समय खर्च भइरहेको बताउँछन्। ती विषयहरु विकासको एजेण्डा हुनसक्छन् वा सक्दैनन् भन्ने सामान्य ज्ञान समेत नलिई बोल्ने धेरै सांसद रहेको उनको भनाइ छ।

‘बजेटरी विषयमा त सरकारको स्रोत कस्तो छ, अनिवार्य दायित्व कति छ, अतिरिक्त दायित्वका दायरा कतिसम्म हुनसक्छ भन्ने विषयमा कुनै अध्ययन नै नगरी प्रायः सांसदहरु बोल्ने गरेका छन्’, खनाल भन्छन्, ‘बोल्नको लागि वा विषय उठाउनको लागि कोर ज्ञान हुनैपर्छ भन्ने पनि छैन तर केही अध्ययन गरेर बोल्ने कम नै छन्।’ 

यस्तोमा अर्थशास्त्री डा. वाग्ले निर्वाचित हुँदा त्यो अभावको पूर्ति हुने उनको आशा छ। 

आर्थिक मात्रै नभई अन्य विषयमा पनि केही विषय ज्ञान हासिल गरेर बोल्दा प्रभावकारी हुन्छ। नवनिर्वाचित वाग्लेले आर्थिक विषय बुझेको र अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई समेत तुलना गर्नसक्ने भएकोले संसदमा उनको उपस्थिति निकै प्रभावकारी हुनसक्ने खनालको तर्क छ।

अर्थ मन्त्रालयले बजेट निर्माणको कार्यतालिका बनाएर गत चैत १९ देखि २४ गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल भइसकेको छ। त्यस्तै चैत २० सम्म विभागहरुलाई बजेट तर्जुमा सम्बन्धमा पोलिसी पेपर तयार गरी पेस गर्न पत्राचार गरेको थियो भने चैत २१ देखि नियमित रुपमा राजस्व परामर्श समितिमा प्राप्त सुझावमाथि छलफल तथा सम्बन्धित निकायसँग छलफल गरी प्रतिवेदन तयार गरिएको छ। 

त्यस्तै चैत २४ सम्म नै एलएमबीटीएसमार्फत विषयगत मन्त्रालयहरुले बजेट प्रस्ताव गरिसकिएको छ भने चैत २६ देखि २८ गतेसम्म बजेटका उद्देश्य, प्राथमिकता र मुख्य कार्यक्रमबारे सांसदहरुसँग प्रदेशगत छलफल भएको छ। 

अहिले प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयहरुसँग सशर्त अनुदानबारे छलफल भइरहेको छ। यो छलफल वैशाख २० सम्म हुनेछ।  

त्यस्तै अहिले मन्त्रालयहरुसँग बजेट, कार्यक्रम र खर्च शीर्षकगत छलफल समेत भइरहेको छ। वैशाख २ देखि २५ गतेसम्म वैदेशिक स्रोतअन्तर्गत प्राप्त हुने रकम एकीन गरी बजेटमा तालिका अर्थ मन्त्रालयले बनाएको थियो।  

वैशाख २५ गतेसम्म बजेट सुझाव संकलन गरिने र राजनीतिक दलका प्रतिनिधि, पूर्वअर्थमन्त्री, पूर्वगभर्नर, पूर्वअर्थसचिव, वरिष्ठ अर्थशास्त्री तथा विज्ञहरु त्यसमा सहभागी हुने मन्त्रालयले जनाएको छ। 

सार्वजनिक संस्थाहरुको प्रगति विवरण, विनियोजन विधेयकका सिद्धान्तहरु र प्राथमिकताको मस्यौदा संघीय संसदका दुवै सदनमा वैशाख २५ गते पेस गर्ने कार्यतालिका अर्थ मन्त्रालयले बनाएको छ। 

अर्थ मन्त्रालयको यो तालिकाले वैशाख २५ देखि संसदमा प्रि–बजेट  छलफल सुरु गराउनेछ।

यही छलफलदेखि स्वर्णिमले संसदमा गर्ने टीकाटिप्पणी सुन्न र हेर्न पाइनेछ। 

डा. वाग्ले अन्तर्राष्ट्रिय रुपमै चिनारी पाएका व्यक्ति हुन्। स्पष्टवक्ता र अर्थतन्त्रबारे राम्रो बुझेका व्यक्तिको उपमा पाएका उनले अर्थशास्त्रमै विद्यावारिधि गरेका छन्। 

लण्डन स्कूल अफ इकोनोमिक्स र हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका उनले अष्ट्रेलियाको नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। 

सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञको रुपमा उनले ख्याति कमाएका छन्। नेपालमा उनी योजना आयोगका सदस्यदेखि उपाध्यक्षसम्मको भूमिकामा रहेर काम गरिसकेका छन्। 

नेपाली कांग्रेसनिकट रहेका वाग्ले गत चैत १५ गते राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। 

तनहुँ १मा भएको उपनिर्वाचनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट जित हासिल गरेका हुन्। १० वैशाखमा भएको उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका वाग्ले सम्पन्न मतगणनाअनुसार ३४ हजार ४८० मतसहित विजयी भएका हुन्। 

यसअघि गत मंसिरको निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन भएको हो। त्यसमा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५५५ मत मात्र प्राप्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सरकारमा छैन। सरकारलाई समर्थन गरे पनि भूमिका भने प्रतिपक्षको नै छ। सोही कारण अहिलेको अवस्थामा वाग्लेले संसदमा उपस्थित भएर प्रतिपक्षी टिप्पणी गर्ने आकलन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .