कारोबार


काठमाडौंमा सम्पन्न भयो सापलिङको क्षेत्रीय सम्मेलन

दक्षिण एसियामा प्रभावकारी कृषि–खाद्य प्रणालीबारे छलफल
काठमाडौंमा सम्पन्न भयो सापलिङको क्षेत्रीय सम्मेलन

नेपालखबर
बैशाख १३, २०८० बुधबार १२:१५, काठमाडौँ

नेपालले दक्षिण एसियामा प्रभावकारी कृषि–खाद्य प्रणाली विषयक सापलिङको क्षेत्रीय सम्मेलनको आयोजना गरेको छ।

सुधारिएको पोषण तथा वृद्धिको लागि दक्षिण एसियाली नीति निर्माताहरुको संगठन साप्लिङको दोस्रो बैठक कृषि–खाद्य प्रणालीमा सुधार गर्ने सम्बन्धमा काठमाडौ, नेपालमा २४ र २५ अप्रिलमा सम्पन्न भएको हो। 

सापलिङको सुरुवाती पहल सन् २०१९ मा भएको थियो र यस संगठनले दक्षिण एसियामा कुपोषणविरुद्ध लड्न दिगो विकास लक्ष्यहरुसँग आबद्ध भएर खाद्य प्रणालीमा पहुँच पुर्याउने लक्ष्य राखेको छ। साप्लिङको सम्मेलन डेढ दिनसम्म चलेको थियो र उक्त कार्यक्रममा सापलिङका सदस्य राष्ट्रहरु नेपाल, बँगलादेश, श्रीलँका, भारत र .भुटानका ट० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

सम्मेलनलाई राष्ट्रिय योजना आयोग, नेपालले हाल सापलिङको अध्यक्षता गरिरहेको ब्राक, बंगलादेश र आईपीई ग्लोबल लिमिटेड, भारत, विश्वकै सबैभन्दा ठूलो गैर सरकारी विकास संस्था, विकास क्षेत्र थिङ्क एण्ड डु ट्यांक र काठमाडौंमा प्रधान कार्यालय रहेको मुनाफारहित थिङ्क ट्यांक सर्वाङ्गीण विकास अध्ययन केन्द्र, नेपालसँगको सहकार्यमा आयोजना गरेको हो। सापलिङलाई बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको सहयोग प्राप्त छ।

सम्मेलनको पहिलो दिन सन्दर्भ तयारीमा केन्द्रित थियो। बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनका वरिष्ठ कार्यक्रम अधिकृत सिद्धार्थ चतुर्वेदीले कृषि खाद्य प्रणालीको दृष्टिकोणबाट नीति निर्माताहरुको आवश्यकता र प्राथमिकताहरु अनुरुप कुपोषण विरुद्ध लड्न प्रमाणमा आधारित नीति, कार्य र नेतृत्वलाई मूल प्रवाहमा समाहित गर्न विभिन्न सरोकारवालाहरुबीच आपसी सहमति जुटाउनकै लागि क्षेत्रीय मञ्चको औचित्य र यसको महत्वका बारेमा आफ्नो धारणा राखेका थिए। 

राष्ट्रिय योजना आयोगका सचिव श्री केवल प्रसाद भण्डारीले अन्तर सरकारी सहकार्य र साथै निजी क्षेत्रका साझेदारहरु, अन्य सम्बद्ध सरोकारवालाहरुलाई साथमा ल्याउनुपर्ने आवश्यकतालाई दर्शाउँदै आफ्ना विचारहरु व्यक्त गरेका थिए। राष्ट्रिय योजना आयोग, नेपाल सरकारका सदस्य डा. जय कान्त राउतले दक्षिण एसियाली राष्ट्रहरु लगायत यस क्षेत्रका सबै देशहरुले जलवायु परिवर्तन र फसल उत्पादनपछिको नोक्सानी जस्तो समान चुनौतीहरुको सामना गरिरहेको वर्तमान सन्दर्भमा यो सहकार्य र सहायताका लागि यो एकदम सही समय भएको र सापलिङ जस्तो संस्थाले यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए।

दोस्रो दिनमा नीति निर्माताहरुको वीच विभिन्न ४ वटा प्यानेल छलफल गरिएको थियो, जहाँ बँगलादेश, श्रीलँका, भुटान र नेपालका उच्च पदस्थ सरकारी अधिकारीहरुले प्राथमिकताहरु, कृषि खाद्य प्रणालीहरुलाई मजबुत बनाउनका लागि क्षेत्रीय सहायताका एजेण्डाहरु र सो परियोजनको लागि विभिन्न प्रारुपहरुबारे विचार विमर्श गरेका थिए। साथै क्षेत्रीय सहकार्यलाई अघि बढाउन फसल उत्पादनपछिको नोक्सानी न्यून गर्ने र जलवायु मैत्री कृषिका लागि प्रविधिहरुको उपयोगिताको विषयमा पनि मन्थन गरिएको थियो। 

कृषि तथा पशुपंक्षी मन्त्रालय, नेपाल सरकारका सचिव डा.गोविन्द प्रसाद शर्माले छलफलमा भाग लिएका थिए। सम्मेलनमा सीमापारका निजी क्षेत्रका लगानीकर्ताहरुलाई प्रवद्र्धन गर्ने वातावरण निर्माण गर्ने, सापलिङ राष्ट्रहरुबीच ज्ञान र सीपका सिकाईहरु सम्बन्धी सहकार्यलाई अघि बढाउने विषयमा पनि छलफल गरिएको थियो।

सम्मेलनमा सहभागी विज्ञहरु र सरकारी पदाधिकारीहरुले अन्तर सरकारी सहयकार्यलाई बढावा दिन र जलवायु मैत्री प्रविधिहरुको प्रयोग, फसल उत्पादनपछिको नोक्सानी न्यूनीकरण, दक्षिण एसियाली क्षेत्रभरीका सदस्य राष्ट्रहरुबाट खाद्य सुरक्षामा सुधार गर्न सापलिङ जस्तो एक पहलले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेमा जोड दिएका थिए। पोषण सुरक्षित दक्षिण एसियाको लागि आहार प्रभावित खाद्य प्रणालीहरु परिपालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .