ad ad

कारोबार


सरकारले गम्भीरता नदेखाएका ३ क्षेत्र, जसले घटायो आर्थिक वृद्धि

सरकारले गम्भीरता नदेखाएका ३ क्षेत्र, जसले घटायो आर्थिक वृद्धि

दीपक भट्ट
बैशाख १९, २०८० मंगलबार १९:३३, काठमाडौँ

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर निकै कमजोर देखिएको छ। 

कोभिड संक्रमण सुरु भएको वर्ष अर्थात् आर्थिक वर्ष २०७६/०७७ पछि अहिले निकै कमजोर आर्थिक वृद्धिदर देखिएको हो।

२०७६/०७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भएको थियो। देशभर लकडाउन हुँदा आर्थिक वृद्धिदर १ दशमलव ९१ प्रतिशतले ऋणात्मक देखिएको थियो। 

त्यसयता सरकारले उच्च आर्थिक वृद्धिदर गर्ने लक्ष्य लिँदै आएको छ। 

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा, योजना आयोगका तत्कालीन उपाध्यक्ष विश्वनाथ पौडेललगायतको मुख्य प्रक्षेपणको आधारमा गत वर्ष जेठ १५ गते सार्वजनिक भएको बजेट कार्यक्रममा चालू आवमा ८ प्रतिशतको आर्थिक वृद्धि रहने र सोहीअनुसार नेपालको अर्थतन्त्र चलायमान हुने उल्लेख थियो। 

तर लक्ष्य एकातिर र अहिलेको अवस्था भने त्यसको ठीक उल्टोतर्फ रहेको तथ्याङ्कले देखाएको छ। 

नेपालको अर्थतन्त्र कोभिड, भूकम्पको समयमा कमजोर बनेको थियो। चालू आर्थिक वर्षमा त्यति ठूलो प्रकोप नरहँदा पनि आर्थिक वृद्धिदर निकै कमजोर बनेको छ। 

चालू आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि नै नेपालमा केही वस्तुको आयात प्रतिबन्ध गरिएको थियो भने वस्तु उत्पादन घट्न थालेको गुनासो उद्योगी व्यवसायीबाट आउन थालेको थियो। 

तर वस्तुको आयातमा गरिएको कडाइ खुल्ला गर्ने काम मंसिरबाट मात्रै भयो। त्यसयता वस्तु उत्पादन बढाउने गरी सरकारले अहिलेसम्म नीति लिनसकेको छैन। 

त्यसको प्रभाव आर्थिक वृद्धिदरमा देखिएको मंगलबार सार्वजनिक भएको तथ्याङ्कले प्रष्ट्याएको छ।  

३ मुख्य क्षेत्र ऋणात्मक, वृद्धिदर २.१६ प्रतिशतमात्रै 
चालू आर्थिक वर्षको अहिलेसम्मको तथ्याङ्कलाई आधार मानेर राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको अनुमानअनुसार नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत कायम हुने भनिएको छ। 

कार्यालयले चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लगायत राष्ट्रिय लेखा अनुमान समेत सार्वजनिक गरेको हो। यसले नेपालको अर्थतन्त्रमा उत्पादन, निर्माण र उपभोग क्षेत्र मानिएको व्यापार क्षेत्र समेत ऋणात्मक देखाएको छ।

यी तीन क्षेत्रको वृद्धिदर ऋणात्मक रहनु र अन्य क्षेत्र समेत कमजोर बन्दा यो वर्षको आर्थिक वद्धिदर कमजोर बनेको तथ्याङ्कले उल्लेख गरेको छ। 

कार्यालयले चालू आवको नौ महिनासम्मको आर्थिक क्षेत्रसम्बन्धित यथार्थ आँकडा तथा सूचनाका आधारमा तयार गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार उत्पादनमूलक औद्योगिक क्षेत्रको वृद्धिदर यो वर्ष माइनस २ दशमलव ०४ प्रतिशत रहने अनुमान छ। त्यस्तै निर्माण क्षेत्रको वृद्धिदर माइनस २ दशमलव ६२ प्रतिशत रहने अनुमान छ। 

त्यस्तै व्यापार क्षेत्र अर्थात् होलसेल र खुद्रा साथमा अटो मोटर र त्यसका पार्ट्सको वृद्धिदर माइनस २ दशमलव ९६ प्रतिशत छ। 

ऋणात्मक नरहेपछि खानी तथा उत्खनन क्षेत्र गत आर्थिक वर्षको ८ दशमलव ८४ प्रतिशतको वृद्धि रहेकोमा १ दशमलव ११ प्रतिशत कायम छ। इन्धन क्षेत्रको वृद्धिदर ५३ प्रतिशत गत वर्ष रहेकोमा यो वर्ष १९ प्रतिशत छ। धेरै क्षेत्रको वृद्धिदर कमजोर रहँदा होटल तथा रेष्टुरेन्ट सेवा क्षेत्रको वृद्धिदर भने बढेको छ। 

गत आर्थिक वर्षमा १२ दशमलव ६१ प्रतिशत रहेकोमा यो वर्ष १८ दशमलव ५६ प्रतिशतको वृद्धिदर देखिएको छ। 

‘आर्थिक वृद्धि ३ प्रतिशतले कमजोर’
राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख डा हेमराज रेग्मीका अनुसार यो तथ्याङ्क ९ महिनामा आधारित भएर गरिएको हो। 

उनले भने, ‘तर अहिलेसम्मको अब उत्पादन, निर्माणलगायतका क्षेत्रहरु बढी चलायमान बन्न पनि सक्छन्। अहिलेकै स्थिति रहने हो भने मात्रै २ दशमलव १६ प्रतिशतको आर्थिक वृद्धि रहन पनि सक्नेछ। तर अहिलेसम्मको तथ्याङ्कले गत आर्थिक वर्षभन्दा ३ प्रतिशत हाराहारीमा कमजोर बनेको छ।’ 

चालू आर्थिक वर्ष सकिन अझै ३ महिनाको समय बाँकी छ।

कुन क्षेत्रको वृद्धिदर कस्तो छ?

  • १. कृषि, वन र मत्स्य क्षेत्र : २ दशमलव ७३
  • २ खानी तथा उत्खनन : १ दशमलव ११ 
  • ३ उत्पादन :  –२दशमलव ०४
  • ४.इन्धन : १९ दशमलव ३६
  • ५.पानी सप्लाई तथा फोहोरमैला व्यवस्थापन : २ दशमलव १६ 
  • ६. निर्माण : –२ दशमलव ६२ प्रतिशत 
  • ७. व्यपार : –२ दशमलव ९६ प्रतिशत 
  • ८. यातायात : १ दशमलव १४ प्रतिशत
  • ९. होटल तथा रेष्टुरेन्ट सेवा : १८ दशमलव ५६
  • १०. सूचना र सञ्चार : ४ दशमलव ०७ प्रतिशत
  • ११. वित्त तथा बीमा : ७ दशमलव २९
  • १२. घरजग्गा : २ दशमलव १७ प्रतिशत
  • १३. प्रविधि : ४ दशमलव ३०
  • १४. प्रशासन तथा सहयोग सेवा : ५ दशमलव ०१ प्रतिशत
  • १५. सामाजिक सुरक्षा सेवा : ५ दशमलव ३० 
  • १६ शिक्षा : ४ दशमलव ०७ प्रतिशत 
  • १७.मानव स्वास्थ्य : ६ दशमलव ५१ प्रतिशत 
  • १८. मनोरञ्जन : ५ दशमलव २१ प्रतिशत 

कुल गार्हस्थ्य उत्पादनमा कुन क्षेत्रको योगदान कस्तो छ? 
कार्यालयले समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीय र सेवा क्षेत्रमा वर्गीकरण गरेको छ। 

यसअनुसार जीडीपीमा प्राथमिक क्षेत्रको २४ दशमलव ६ प्रतिशत योगदान हुने कार्यालयको प्रारम्भिक अनुमान छ। त्यसैगरी द्वितीय क्षेत्रबाट १२.९ प्रतिशत योगदान मिल्ने देखिएको छ। यता सेवा क्षेत्रले जीडीपीलाई चालू आवमा ६२ दशमलव ४ प्रतिशत योगदान दिनेछ।

यता कृषि क्षेत्रबाट नेपालको कुल गार्हस्थ्य उत्पादनमा २४ दशमलव १२ प्रतिशत तथा गैरकृषि क्षेत्रबाट ७५ दशमलव ८८ प्रतिशत योगदान रहेको कार्यालयले जनाएको छ। कृषि क्षेत्रमा कृषि वन र मत्स्य रहेको छ। 

खानी तथा उत्खनन क्षेत्रले जीडीपीमा ० दशमलव ५१ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ। निर्माण क्षेत्रमा भएको गिरावटले यस क्षेत्रको मूल्यअभिवृद्धि वृद्धिदर न्यून रहने अनुमान गरिएको हो। 

नेपालको जीडीपीमा उद्योग क्षेत्रले ५ दशमलव ३२ प्रतिशत योगदान गर्ने प्रारम्भिक अनुमान गरिएको छ। वनस्पति, तोरी, सोयाबिन तथा सूर्यमुखी तेलको उत्पादनको साथै फलाम तथा स्टिलजन्य उत्पादनमा आएको कमीले उद्योग क्षेत्रमा गत आवको तुलनामा चालू आवमा कुल मूल्यअभिवृद्धि वृद्धिदर २ दशमलव ०४ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान छ। 

यता चालू आवको जीडीपीमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यो क्षेत्रले १।६४ प्रतिशत योगदान दिने कार्यालयले अनुमान गरेको छ। यस क्षेत्रले यो वर्ष मूल्य अभिवृद्धि वृद्धिदरमा १९ दशमलव ३६ प्रशित वृद्धि हुनेछ। खासगरी सोलुखोला, सुपरदोर्दीलगायतका आयोनाबाट चालू आवमै विद्युत् उत्पादन सुरु भइसकेको तथा थप नयाँ आयोजनाबाट समेत चालू आवमै उत्पादन सुरु भई उत्पादन बढाउने भएकाले मूल्यअभिवृद्धिमा उल्लिखित वृद्धि हुने देखिएको छ। 

त्यस्तै, चालू आवको जीडीपीमा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापबाट दशमलव ४६ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ। 

यता निर्माण क्षेत्रबाट यो वर्ष निर्माण क्षेत्रबाट जीडीपीमा ५.५२ प्रशित योगदान मिलेको देखिएको छ। यसको कुल मूल्यअभिवृद्धि वृद्धिदर ६.६२ प्रतिशतले ऋणात्मक हुने कार्यालयले जनाएको छ। 

निर्माण क्षेत्रमा आएको शिथिलता, निर्माण सामग्री आयात र आन्तरिक उत्पादनमा कमीले वृद्धिदर ऋणात्मक हुने अनुमान छ। 

यो वर्ष जीडीपीमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाबाट १५ दशमलव ३९ प्रतिशत योगदान मिल्ने अनुमान गरिएको छ। यो क्षेत्रको पनि कुल मूल्यअभिवृद्धि वृद्धिदर २ दशमलव ९६ प्रतिशतले ऋणात्मक हुनेछ। 

त्यस्तै यो वर्ष जीडीपीमा यातायात तथा भण्डारण क्षेत्रले ६.७९ प्रतिशत योगदान दिनेछ। आवास र भोजनबाट १ दशमलव ९८ प्रतिशत यो वर्ष जीडीपीमा आवास र भोजन क्षेत्रले १ दशमलव ९८ प्रतिशत योगदान दिने देखिएको छ। यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर गत आवको तुलनामा चालू आवमा १८ दशमलव ५६ प्रतिशतले उल्लेख्य वृद्धि हुने अनुमान छ।

सूचना तथा सञ्चारबाट १ दशमलव ९७ प्रतिशत ,चालू आवमा वित्तीय तथा बीमा क्षेत्रले ७ दशमलव ३७ प्रतिशत, घरजग्गा कारोबार सेवाले ८ दशमलव ३७ प्रतिशत, पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रले ० दशमलव ९७ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापबाट ० दशमलव ७२ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रबाट ८ दशमलव १५ प्रतिशत योगदान दिएका छन्। त्यसैगरी शिक्षा क्षेत्रले ८ दशमलव २२ प्रतिशत, स्वास्थ्य तथा सामाजिक कार्यबाट १ दशमलव ९२ प्रतिशत योगदान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .