ad ad

कारोबार


नयाँ स्टकबारे पूर्वअध्यक्ष कार्कीलाई ५ सवाल : लगानीकर्तालाई के फाइदा हुन्छ?

नयाँ स्टकबारे पूर्वअध्यक्ष कार्कीलाई ५ सवाल : लगानीकर्तालाई के फाइदा हुन्छ?

धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की


केशर बोगटी
बैशाख २०, २०८० बुधबार ११:२८, काठमाडौँ

नेपालमा हालसम्म एकमात्र धितोपत्र विनिमय बजारका रूपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालनमा छ।

नेपाल धितोपत्र बोर्डले थप एउटा स्टक एक्सचेन्ज खोल्न गरेको आह्वानमा तीनवटा आवेदन परेको छ।

हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जका नाममा परेका आवेदन परेको छ। 

धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले नयाँ स्टक छनोटको लागि कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको छ। 

गौतमको संयोजकत्वमा ५ सदस्यीय मूल्यांकन समिति भएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए। 

समितिमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट १–१ जना र बोर्डबाट २ जना सदस्य छन्। समितिले हाल आवेदन दिएका ३ मध्ये एउटा चयन हुनेछ।

सेयरबजारलाई प्रतिस्पर्धी बनाउन र लगानीकर्तालाई सहज र सस्तो सेवा दिने उद्देश्यले नयाँ स्टक सञ्चालन गर्न दिइने बोर्डले जनाउँदै आएको थियो। 

नयाँ स्टकबारे केही विज्ञहरु सकारात्मक त केहीले नेपालजस्तो सानो मुलुकमा दोस्रो स्टक आवश्यक नरहेको बताउँदै आएका छन्। 

तर थप एउटा स्टक एक्सचेन्ज आउने सन्दर्भमा अब पुरानो एक्सचेन्ज के हुन्छ अनि त्यसमा सूचीकृत कम्पनी अर्कोमा पनि कारोबार गर्न सक्छन् कि सक्दैनन् भन्ने जिज्ञासा उठेको छ।

नेपालखबरले यिनै जिज्ञासाको समाधान धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीमार्फत खोजेको छ– 

कुनै एक कम्पनी दुवै स्टकमा सूचीकृत हुन पाउँछ कि पाउँदैन? 
अर्थविद् तथा सेबोनका पूर्वअध्यक्ष डा. कार्कीका अनुसार कुनै एक कम्पनी दुवै स्टकमा सूचीकृत हुन पाउँछन्। 

‘अन्तर्राष्ट्रिय रुपमा समेत (जुन देशमा दुई वा दुईभन्दा बढी स्टक भएका देशमा) एकै कम्पनी दुई ठाँउमा सूचीकृत हुने व्यवस्था छ’, कार्कीले भने, ‘तर, कम्पनीहरु कुनै एउटैमा मात्र समेत बस्ने भन्न पाउँछन्।’ 

ब्रोकर कम्पनी दुवै स्टकमा दर्ता हुनुपर्छ कि पर्दैन? 
कार्कीका अनुसार ब्रोकर कम्पनीहरु दुवै स्टकमा दर्ता हुन पाउँछन्। तर, कसैले एउटामा मात्र दर्ता हुन्छु भन्न पाउने उनको भनाइ छ। 

‘तर, एउटा स्टकमा मात्र दर्ता भएर लगानीकर्तालाई सेवा दिन सकिएला? त्यसैले ब्रोकर कम्पनीहरु दुवैतिर दर्ता हुनुपर्ने हुन्छ र देखिन्छ’, कार्कीले भने। 

लगानीकर्ताले दुवै स्टकमा सूचीकृत कम्पनीमा कारोबार गर्न पाउँछन्?
नयाँ स्टक सञ्चालनमा आए लगानीकर्ताले दुवै स्टकमा सूचीकृत कम्पनीको सेयरमा लगानी गर्न पाउँछन्। 

यो त लगानीकर्ताको लागि दोस्रो बजारमा लगानी अवसर भएको कार्की बताउँछन्। 

उनका अनुसार प्रतिस्पर्धाका आधारमा जुन एक्सचेन्जले पारदर्शिता, जवाफदेहिता वा कम लागतका साथ राम्रो व्यवस्थापन दिन सक्छन्, त्यतैपट्टि कम्पनीहरू आकर्षित हुने अवसर सिर्जना हुन्छ।

नयाँ स्टक आए अर्को डिम्याट खाता चाहिन्छ? 
अब नयाँ स्टक आउँदा अर्को डिम्याट खाता खोल्नु नपर्ने उनले बताए। तर, त्यसको लागि बोर्डले नयाँ कार्यविधि बनाउनुपर्ने हुन्छ। 

नयाँ स्टक आए लगानीकर्तालाई के फाइदा हुन्छ? 
दुईवटा स्टक भए लगानीकर्ताको लागि धेरै विकल्पहरू खुला हुने र दीर्घकालमा सेवा शुल्कजस्ता लागत घट्ने सम्भावना बढ्ने कार्कीले बताए। 

तर लगानीकर्ताले चाहे एउटा एक्सचेन्ज होस् वा दुईवटा लगानीकर्ताले लगानी गर्दा ती कम्पनीको वित्तीय विश्लेषण र जानकारी राखेर अनि बुझेर गर्नुपर्ने उनको भनाइ छ।

‘आफूले लगानी गर्न खोजेको कम्पनीको आम्दानी सुनिश्चितता, नाफा गर्नसक्ने हैसियत, सञ्चालकहरू कस्ता छन् अनि प्रतिस्पर्धा कस्तो छ भन्ने जस्ता प्रश्नहरूको लेखाजोखा गरेरमात्र लगानी गर्नुपर्छ’, उनले थपे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .