ad ad

कारोबार


शिक्षा क्षेत्रका आयोजना पनि शोकेस गराउने गरी लगानी सम्मेलनको तयारी

शिक्षा क्षेत्रका आयोजना पनि शोकेस गराउने गरी लगानी सम्मेलनको तयारी

दीपक भट्ट
बैशाख २५, २०८० सोमबार ९:१६, काठमाडौँ

यही वर्ष लगानी सम्मेलन हुँदै छ। विदेशी लगानी बढाउन नेपाल सरकारले लगानी सम्मेलनको तयारी सुरु गरेको हो। 

त्यसो त लगानी सम्मेलन गर्ने निर्णय समेत भइसकेको छ। लगानी बोर्डका सहसचिव अमृत लम्सालका अनुसार बोर्ड बैठकले नै लगानी सम्मेलन गर्ने निर्णय गरिएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा रहने लगानी बोर्डको बैठकले २०८० सालमा आयोजना गर्ने र त्यसको अवधारणापत्र स्वीकृत गर्नुका साथै सम्मेलनको तयारीको लागि लगानी बोर्डलाई जिम्मेवारी दिने निर्णय समेत बोर्ड बैठकले गरेको उनले जानकारी दिए। 

यसअनुसार अहिले लगानी बोर्डले लगानी सम्मेलनको तयारी सुरु गरेको जनाएको छ। बोर्डका एक अधिकारीका अनुसार यो वर्षको लगानी बोर्ड सम्मेलनमा पूर्वाधारका आयोजनाहरु धेरै शोकेस हुनेछन्। 

आयोजना शोकेस हुन पनि प्रारम्भिक अध्ययन हुनुपर्छ भने अनुमानित लागतको अवस्था जानकारी गराउनुपर्ने हुन्छ। त्यसको लागि समेत केही बजेट आवश्यक पर्छ। उक्त विषयमा अहिले बोर्डले अध्ययन गरेको छ। यो वर्षको लगानी सम्मेलनमा सडक पूर्वाधार, सुरुङ मार्ग, रेलमार्ग र शिक्षा क्षेत्र बढी ‘फोकस’ हुनेछ।

यो वर्षको सम्मेलनमा शिक्षा क्षेत्रको लागि समावेश गर्ने तयारी भएको छ। तर के कुन आयोजना राख्ने विषय टुंगिएको छैन। 

आइतबार काठमाडौंमा भएको बिजनेस समिटमा समेत प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा क्षेत्रमा वैदेशिक लगानी ल्याउने विषय बोलेका छन्।  

उनले कार्यक्रममा भने, ‘शिक्षा क्षेत्रमा विदेशी लगानी आवश्यक छ, त्यसको लागि के आवश्यक छ, त्यो सबै तयारी गर्ने गरी अहिले सरकार छलफलमा छ।’

यसअघि दुई पटक लगानी सम्मेलन भएको छ। सो समयमा शिक्षा क्षेत्रका आयोजनाहरु समावेश थिएनन्। २०७२ चैतमा दाता सम्मेलन भएको थियो। जसमा भूकम्पको लागि सहयोग र पूर्वाधारमा लगानी गर्ने गरी सम्मेलन भएको थियो। त्यस्तै २०७३ फागुनमा लगानी सम्मेलन भएको थियो। त्यसमा शिक्षा क्षेत्रका आयोजनाहरु समावेश थिएन। भौतिक पूर्वाधार र आइटी सम्बन्धी आयोजनाहरु समावेश भएका थिए। 

तर यो पटक शिक्षा क्षेत्रमा समेत वैदेशिक लगानीको लागि प्रयास हुने भएको हो। प्रधानमन्त्रीले विदेशी लगानीमा नै विश्वविद्यालय निर्माण गर्न आवश्यक रहेको बताएका छन्। 

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा २८ अर्ब ११ करोड रुपैयाँको लगानी प्रतिबद्धता भएको छ। जसमा लगानीको प्रतिबद्धता १० हजार जनालाई रोजगारी दिने उद्योगहरुको प्रस्ताव आएको छ। तर विगतमा आएका वैदेशिक लगानीको प्रतिफल लाने क्रम भने घटिरेहको तथ्याङ्कले देखाएको छ। त्यसको लागि वैदेशिक लगानीको लागि वातावरण बनाउन भने पहल गर्नुपर्ने देखिएको छ। त्यसको लागि नेपाल सरकार प्रतिबद्ध रहेको र ऐन नियमावलीहरु समेत परिवर्तन गर्न तयार रहेको आइतबार प्रधानमन्त्रीले समेत बताएका छन्। 

कस्तो छ वैदेशिक लगानीकर्ताको प्रतिफल?
विदेशी लगानीकर्ताले नेपालमा गरेको लगानीबाट पाउने प्रतिफलले उनीहरुको थप लगानीलाई प्रोत्साहन गर्छ। 

नेपालले विदेशी लगानी आकर्षण गर्न भरपूर प्रयास गरिरहेको छ। त्यसको लागि नेपालमा पटक–पटक लगानी सम्मेलन समेत भइसकेको छ। त्यसकै स्वरुपमा यो वर्ष लगानी सम्मेलनको तयारी थालेको हो। 

विदेशी लगानीकर्ता आकर्षण गराउने प्रमुख सूचक भनेको यहाँबाट पाउने प्रतिफल नै हो। तर विदेशी लगानीकर्ताहरुले नेपालबाट पाउने प्रतिफलमा भने उच्च गिरावट आएको देखिएको छ। नेपालबाट अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष १० अर्ब रुपैयाँ रकम कम विदेश गएको हो।

नेपालबाट अघिल्लो आर्थिक वर्षमा २८ अर्ब रुपैयाँ विदेशी लगानीकर्ताले प्रतिफलको रुपमा लगेका थिए। तर गत वर्ष भने जम्मा १८ अर्ब  रुपैयाँ हाराहारीमा गएको देखिएको छ। नेपालबाट विदेश जाँदा भने विदेशी मुद्रामा नै जाने गरेको छ। उक्त रकम नेपाली मुद्रामा मूल्याङ्कन गर्दा १८ अर्ब रुपैयाँ हाराहारीमा गएको देखिएको हो। 

गत आवमा १३ अर्ब ६६ करोड रुपैयाँ लाभांशबापत गएको देखिएको छ। त्यस्तै रोयल्टीमार्फत भने ४ अर्ब ६४ करोड रुपैयाँ गएको देखिएको हो। गत आर्थिक वर्षभरिमा नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपैयाँ स्वीकृत गरेको हो। अघिल्लो आर्थिक वर्षमा भने उनीहरुले २८ अर्ब ३ करोड रुपैयाँ लगेका थिए। 

नेपाल राष्ट्र बैंकबाट नेपालखबरलाई उपलब्ध तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १ सय २१ पटक रोयल्टी लगेका छन्। १ सय १२ पटक राष्ट्र बैंकले रोयल्टी रकम स्वीकृत गर्दा ४ अर्ब ६४ करोड रुपैयाँ देखिएको हो। 

त्यस्तै लाभांश विभिन्न कम्पनी गरेर २८ पटक लगेको देखिएको हो। २८ पटकमा १३ अर्ब ६६ करोड रुपैयाँ देखिएको हो।

राष्ट्र बैंकले स्वीकृत गरेको आधारमा अघिल्लो आर्थिक वर्ष र यो वर्ष उस्तै प्रकारका कम्पनीहरुबाट विदेशमा रकम गएको छ। अघिल्लो आर्थिक वर्षमा एनसेल, सूर्य नेपाल, गोर्खा ब्रुअरीजस्ता कम्पनीहरुले धेरै रोयल्टी लगेका थिए।

यो वर्ष पनि सोही कम्पनीले धेरै रकम विदेश लगेको देखिएको हो। त्यस्तै लाभांश धेरै लानेमा डाबर नेपाल, युनिलिभरजस्ता कम्पनी समावशे रहेको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .