अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघ (आइरेना) को १०औं वार्षिक सम्मेलन संयुक्त अरब इमिरेट्को अबुधावीमा शनिबार सुरु भएको छ।
विश्वका १ सय १० भन्दा बढी मुलुकका उर्जामन्त्रीहरुको सहभागिता रहेको सम्मेलनमा नेपालबाट उर्जा, जलश्रोत तथा सिचाईमन्त्री वर्षमान पुन नेतृत्वको पाँच सदस्यीय टोली सहभागी भएको छ।
प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा र भूमि त्रिपाठी पनि सम्मेलनमा सहभागी भएका छन्।
सम्मेलनको उदघाटनशत्रपछि आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री पुनले नेपाल नवीकरणीय उर्जाको श्रोतमा धनी रहेको बताए। मन्त्री पुनले जलवायु परिवर्तनको असरका कारण जलविद्युत क्षेत्रमा नयाँ चुनौती खडा भएको चर्चा गर्दै दिर्घकालिन सोच र योजनासहित उक्त परिस्थितिको सामनाका लागि विश्व समुदायको ध्यानकर्षण गराए।
आर्थिक र प्राविधिक हिसाबले नेपालमा तत्कालै ४२ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सकिने सम्भवना रहेको उनले औंल्याए।
हाल १३ सय २६ मेगावाट राष्ट्रिय ग्रिडमा रहेको र २५ सय मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु र ६ सय मेगावाट सौर्य उर्जा निर्माण क्रममा रहेको जानकारी मन्त्री पुनले दिए। यस्तै १८ हजार मेगावाटभन्दा बढी अध्ययनका क्रममा रहेको उनको भनाइ थियो।
‘८८ प्रतिशत जनताको विद्युतमा पहुँच पुगेको छ र त्यसमध्ये करिब १० प्रतिशत योगदान नवीकरणीय उर्जाबाट भएको छ’, मन्त्री पुनले भने।
नवीकरणीय उर्जाको क्षेत्रमा इरिनाको अर्थपूर्ण सहयोगको अपेक्षा गर्दै थप लगानी, शुलभ र पहुँचयोग्य प्रविधिमा विशेष ध्यान दिन इरिनालाई पुनले विशेष आग्रह गरे।
सम्मेलन प्रभावकारी र नतिजाउन्मुख योजना बनाउन तथा बजेट तय गर्न प्रभाव सक्षम हुने विश्वास व्यक्त गर्दै मन्त्री पुनले सम्मेलन पूर्ण सफलताको कामना गरे।
Shares

प्रतिक्रिया