कारोबार


बढ्यो तरुलको कारोबार

बढ्यो तरुलको कारोबार

प्रकाश न्यौपाने
माघ १, २०७६ बुधबार ६:४५,

 माघी तथा माघे संक्रान्तिको अवसरमा तरुलको कारोबार बढेको छ। खासगरी कन्दमुलका रुपमा रहेको सखरखन्ड र तलाउ पोखरीमा फल्ने सिंगडा कार्तिकको तुलसी रोपण गर्ने एकादशीका दिन बढी कारोबार हुने गरे पनि तरुलको कारोबार माघीमा बढी हुने गर्छ।

विशेष गरेर हिमाली तथा पहाडी जिल्लाहरुमा माघीमा खिचडी खाने र वर्त बसी मन्दिर जाने चलन हुन्छ। तराईमा आदिबासीका रुपमा रहेको जाति थारु समुदायले माघी पर्वमा विशेष उल्लासका साथ मनाउने गरेको रुपन्देही क्षेत्र नं। ३ प्रदेश सभा २ का सदस्य तुलसीप्रसाद चौधरीले बताए। उनका अनुसार तराईका जिल्लाहरुमा माघीमा वर्त बसी विभिन्न प्रकारका तरुल खाने प्रचलन छ।

माघीमा तराई तथा हिमाली–पहाडी जिल्लाहरुमा सिमल, स्कुसको जरा, वन तरुल, भारतीय तरुल, हात्तीपाइले तरुल, रातो तरुल, पानी तरुल, पिँडालु, सखरखण्ड लगायतको बढी कारोबार हुन्छ।

माघीका लागि रुपन्देहीमा तरुल नेकपालकै पहाडी जिल्लाहरु र केही भारतबाट आयात भएको व्यापारी अब्दुल मुसलमानले बताए। उनले माघीका दिन तरुलको कारोबार बढ्ने गरेको बताए। मुसलमानले पर्वका सिजनमा धेरै मात्रमा माग हुने भएकाले ग्राहकहरु खोजीखोजी तरुल खरिद गर्न आउने गरेको जनाए।

माघीलाई लक्षित गरी भैरहवाका चोकचोकमा बिहानैदेखि विभिन्न प्रकारका तरुल र कन्दमूल बिक्री गर्न बस्ने घुमन्ते ब्यापारीहरु बढेका छन्। विशेषगरी बाह्रै महिना व्यापार नहुने भएकाले पनि फुटकर बिक्रीकर्ताहरु बजारमा उल्लेख्य देखिन्छन्।

यस्तै, भैरहवा क्षेत्रका हाटबजारहरु तथा दैनिक बजारहरुमा पनि माघीलाई लक्षित गरी कन्दमुल बिक्रीका लागि राखिएको छ।

यता एकसाता अघिसम्म ५० देखि सय रुपैयाँसम्म पाइने विभिन्न खालका तरुल तथा कन्दमूलहरु भने माघीमा ह्वात्तै मूल्य बढेर ८० रुपैयाँ देखि २ सयसम्म पुगेको छ। मौसमी परिकारका रुपमा रहेकाले पनि मूल्य बृद्धि भएको व्यापारीहरुले बताएका छन्।

बजारमा सिमल तरुल एक सय रुपैयाँ, स्कुसको जरा ८० रुपैयाँ, वन तरुल २ सय रुपैयाँ, भारतीय तरुल एक सय रुपैयाँ, हात्तीपाइले तरुल १ सय ५० रुपैयाँ, रातो तरुल ९० रुपैयाँ, पानी तरुल १ सय रुपैयाँ, पिँडालु ८० रुपैयाँ, सखरखण्ड १ सय ७० रुपैयाँसम्म बिक्री हुने गरेको छ।

खासगरी माघीमा जिल्ला सदरमुकाम भैरहवा, बुटवल, लुम्बिनी, मर्चवार, धकधई, देबदह, सैनामैना, सालझण्डी, हरैया, रुद्रपुर, मणिग्राम लगायतका ग्रामीण तथा सहरी बजारहरुमा तरुल तथा कन्दमूल र सखरखन्डको ब्यापार बढेको ब्यबसायीहरुले बताएका छन्।

तरुल उत्पादनमा मुलुक आत्मनिर्भर बन्दै गइरहेको बेला रुपन्देहीमा भने ब्याबसायिक खेती नहुँदा तरुल तथा कन्दमूल बढी प्रयोग हुने ठूला चाडपर्वहरुमा आयातका लागि लाखाँै रुपैयाँ बाहिरिने गरेको कृषकहरु बताउँछन्। रुपन्देहीमा मात्रै माघी पर्बमा करिब २५ टनभन्दा बढी तरुल तथा कन्दमूल खपत हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad