कारोबार


अटो बजारमा फर्किएन रौनक, मौद्रिक नीति खुकुलो हुने प्रतीक्षामा व्यवसायी

अटो बजारमा फर्किएन रौनक, मौद्रिक नीति खुकुलो हुने प्रतीक्षामा व्यवसायी

वसन्त अर्याल
असार १४, २०८० बिहिबार १०:४३, काठमाडौँ

एक वर्ष अघिबाटै सुस्ताएको अटोमोटिभ बजारमा अझै रौनक आउन सकेको छ। मध्यम वर्गको आयमा स्थिरता नआउँदा सवारी साधनको बजारलाई नराम्रो असर पारेको हो। 

अर्थतन्त्रका बाह्य सूचक सुधार हुँदै गए पनि अर्थतन्त्र चलायमान नहुँदा अटो व्यापारमा ठूलो असर परेको छ। 

जेठ मसान्तसम्म ४८ अर्ब ७ करोड रुपैयाँका मात्रै गाडी तथा तिनका पार्टस् नेपाल भित्रिएका छन्। अघिल्लो वर्षको तुलनामा ४८ अर्ब ४ करोड रुपैयाँले नै व्यापारमा कमी आएको भन्सार विभागको तथ्यांकले देखाउँछ। 

सरकारले सुरुमा डिजेल/पेट्रोलका (आइस)गाडीमा आयात प्रतिबन्ध लगाए पनि मंसिरपछि खुलाएको थियो। तर, व्यापार भने हुन नसकेको तथ्यांकले देखाएको छ। 

११ महिनामा पेट्रोलका कार, जिप, भ्यानगरी २१ सय ३३ वटा भित्रिएका छन्। जसमा सबैभन्दा बढी एक हजार सीसीदेखि १५ सय सीसीसम्मका १५ सय २९ गाडी भित्रिएका छन्। डिजेल इन्जिनका ६१२ गाडी मात्रै भित्रिएका छन्। जसमा १५०० देखि २५०० सीसीसम्मका छन्। 

महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले २०२३ मा २ वटा नयाँ मोडल सार्वजनिक गरेका छ। सुरुवाती मूल्य ४२ लाख ९५ हजारको एक्सयूभी ३०० र ७४ लाख रुपैयाँको एक्सयूभी ७०० सार्वजनिक गरेको थियो। 

अग्नि इन्कर्पोरेटेडका डेपुटी सेल्स डाइरेक्टर वरदान बस्नेत ग्राहकको खरिद गर्ने क्षमता नबढ्दा गाडीको व्यापारमा असर परेको बताउँछन्। 

‘उच्च आम्दानी गर्नेले गाडी खरिद गरिरहेका छन् तर त्यस्तो वर्ग सानो छ,’ बस्नेतले भने, ‘मध्यमवर्गका मानिसले गाडी खरिद गर्न सक्ने अवस्था अझै बनेको छैन।’

विद्युतीय गाडीको बढ्दो बिक्रीले पेट्रोलका गाडीको बिक्रीमा पनि सिधा असर गरेको छ। सरकारले आइस गाडीको तुलनामा विद्युतीयमा कम कर लगाउँदै आएको छ। त्यसको प्रभाव अटो बजारमा देखिन थालेको छ। 

‘सरकारले नै विद्युतीय गाडीलाई प्रोत्साहन गरेपछि व्यवसायी पनि त्यही अनुसार चल्नुपर्छ,’ बस्नेतले भने, ‘नाडा अटो शोमा महिन्द्राको विद्युतीय एक्सयुभी ४०० ल्याउने योजना छ।’

चारपांग्रेसँगै दुईपांग्रे सवारीको व्यापारमा समेत भारी गिरावट आएको छ। सरकारले १५० सीसीसम्मका मोटरसाइकलमा आयात प्रतिबन्ध नलगाउँदा पनि आयात आधाले घटेको छ। जेठ मसान्तसम्म दुईपांग्रे सवारीमा ९७ हजार २६२ वटा भित्रिएका छन्। सबैभन्दा बढी १२५ सिसीका दुईपांग्रे साधन भित्रिएका छन्। जबकि अघिल्लो वर्ष ११ महिनामा कुल २ लाख ५७ हजार मोटरसाइकल तथा स्कुटर भित्रिएका थिए। 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष मिलनबाबु मल्लले २ पांग्रेको व्यापार ५३ प्रतिशतले घटेको बताए। 

‘दुईपांग्रेको व्यापार ५३ प्रतिशतले गिरावट आएको छ,’ दुईपांग्रे साधनका बिक्रेता समेत रहेका मल्लले भने, ‘आर्थिक मन्दीकै असर हो। खरिद गर्ने क्षमता नै कम छ।’

उनले नयाँ साधन खरिद गर्ने मात्रै नभई ग्राहकक सर्भिसको लागि समेत कम आउन थालेको सुनाए। नाडाले मौद्रिक नीतिमा सुझाव दिँदा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले साउनपछि केही खुकुलो हुने आश्वासन दिएको मल्लले बताए।  

११ अर्ब २७ करोड रुपैयाँका विद्युतीय गाडी भित्रिए
समग्र अटोबजार सिथिल हुँदा पनि विद्युतीय गाडीको व्यापारमा भने आक्रामक रुपमा विस्तार भएको छ। सरकारले आइसका गाडीलाई प्रतिबन्ध लगाउँदाको सिधा फाइदा विद्युतीय गाडीलाई देखिएको हो। 

सुरुमा २–३ वटा कम्पनीबीच प्रतिस्पर्धा देखिए पनि पछिल्लो समयमा विभिन्न ब्रान्ड र मोडलबीच भिडन्त हुन थालेको छ। अघिल्लो वर्ष सरकारले १०० किलोवाटमाथिका गाडीमा कर बढाउँदा आयात रोकिएका गाडी मोटर क्षमता घटाएर भित्र्याएसँगै प्रतिस्पर्धा बढेको थियो। सरकारले आगामी वर्षको बजेटमा ५० देखि १०० किलोवाटसम्मका गाडीमा कर बढाउँदा प्रतिस्पर्धा झन् बढेको छ। 

विभागको तथ्यांक अनुसार ११ महिनामा ३८ सय ७० वटा विद्युतीय गाडी भित्रिएका छन्। जसमा १०० किलोवाटका ३७ सय ५२ भित्रिएका छन् भने १०० देखि २०० किलोवाटसम्मका ११६ वटा भित्रिएका छन्। २ सय किलोवाटमाथिका २ वटा गाडी मात्रै भित्रिएका छन्। ११ अर्ब २७ करोड रुपैयाँ बराबरका विद्युतीय गाडी भित्रिएका छन्। 

यो वर्ष सबैभन्दा बढी विद्युतीय गाडी बिक्री गरेको टाटाको आधिकारिक बिक्रेता सिप्रदी टे«डिङले पछिल्लो समय बिक्री सुस्ताएको जनाएको छ। 

‘नेक्सनको प्राइम ईभीको जस्तो बुकिङ र बिक्री रहेको थियो अहिले त्यस्तै छैन,’ सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘अहिले ग्राहकको गाडी किन्ने क्षमता नै कम छ।’

‘मौद्रिक नीतिलाई केही खुकुलो बनाउँदा व्यवसाय चलायमान हुन्छ’
अटो व्यवासायीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले अटो व्यवसायलाई सहज बनाउने विश्वास लिएका छन्। नाडा अटो मोबाइल्स एसोसिएसनका उपाध्यक्ष राजनबाबु श्रेष्ठले अहिलेको अटो बजारको मन्दीलाई खुकुलो मौद्रिक नीति आउँदा सहज हुने बताए। 

‘मौद्रिक नीतिमा अटोसँग जोडिएका २ विषय सम्बोधन गर्नुपर्ने छ,’ श्रेष्ठले भने, ‘बैंकहरुले कर्जा प्रवाह गर्दा जोखिमभार १५० पु¥याएकोमा घटाउनु पर्ने र गाडी खरिद गर्दा लोन रेसियो ५० बाट कम्तीमा ७० प्रतिशत पु¥याउनु पर्छ।’

उनले यी २ विषय सम्बोधन हुँदा अटो व्यवसाय चलायमान हुने र सरकारको राजस्व पनि वृद्धि हुने बताए। 

डेढ वर्ष अघिबाट राष्ट्र बैंकले मौद्रिक नीतिमा कडाइ गरेको थियो। व्यवसायीले नेपालको अर्थतन्त्रका विश्वव्यापी सूचक राम्रो हुँदै गएकाले मौद्रिक नीतिलाई खुकुलो बनाउँदा समग्र अर्थतन्त्र चलायमान हुने बताएका छन्। अर्थतन्त्र चलायमान भएसँगै अटोमोटिभ बजारसमेत बढ्ने व्यवसायीको विश्वास छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .