कारोबार


सुरु भयो आठौं आईसीटी अवार्डको अनलाइन नोमिनेसन, यी हुन् अवार्डका १३ विधा

सुरु भयो आठौं आईसीटी अवार्डको अनलाइन नोमिनेसन, यी हुन् अवार्डका १३ विधा

नेपालखबर
साउन २, २०८० मंगलबार १९:५२, काठमाडौँ

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको आठौं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) सुरु भएको छ।

लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आईसीटी अवार्ड’मा यस वर्ष थप एक विधा सहित १३ विधाहरुमा नोमिनेसन खुल्ला गरिएको आयोजकले जनाएका छन्।

प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड यस वर्ष थप गरिएको विधा हो भने गतवर्षदेखि दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुलाई लक्षित गरेर साउथ एसिया आईसीटी अवार्ड पनि सञ्चालनमा रहेको छ।

सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ। यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन’ पनि सुरु गरेको छ। यी बाहेक यस वर्ष स्टार्टअप तथा इन्नोभेसन अन्तगर्त स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार एण्ड इन्नोभेसन आईसीटी अवार्ड २०२३ विधाहरु रहेका छन्।

व्यक्तिगत योगदानको आधारमा प्रदान गरिने अवार्डहरुमा, प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड, पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर्स आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड र नेपाली डायस्पोरा आईसीटी अवार्ड २०२३ को लागि पनि नोमिनेसन खुल्ला गरिएको छ।

संस्थागत विधाहरुमा डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइवेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२३ विधाहरु रहेका छन्। यसैगरी साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड र प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसनमा पनि नोमिनेसन खुल्ला गरिएको छ।

यी सम्पूर्ण विधाहरुमा अफिसियल वेबसाइट मार्फत अनलाइन नोमिनेशन दर्ता गर्न सकिने आयोजक समितीका अध्यक्ष राजन लम्सालले बताए। आफू स्वंम वा अन्य कोहीले सम्बन्धित व्यत्ति, कम्पनी वा संस्थाको सम्पूर्ण विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिनेछ। साउन १ देखि सुरु भएको नोमिनेसन दर्ता गर्ने अन्तिम मिति साउन ३१ गतेसम्म रहेको आयोजकले जानकारी दिएको छ।

आईसीटी अवार्डको छनौट प्रकृया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकले दाबी गरेको छ। भदौदेखि सञ्चालन हुने अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितीको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन। स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र प्रोफेसनल एक्सिलेन्स विधाहरुमा उत्कृष्ट १० प्रतिस्प्रधीको टेलिभिजन शो पनि प्रशारण हुनेछ।

सातै प्रदेशमा गएर आयोजकले स्थानीय स्टार्टअपहरु खोज्दै हरेक प्रदेशका उत्कृष्ट ५ स्टार्टअप तथा आइडियाहरुलाई काठमाडौंमा बुटक्याम्प र मेन्टरिङ सेसनहरु पनि सञ्चालन गर्नेछ। यसैगरी एक महिनासम्म पब्लिक भोटिङ पनि सञ्चालनमा रहनेछ। सातै प्रदेश र काठमाडौंमा प्रि–इभेन्टको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट पनि सञ्चालन गरिने अध्यक्ष राजन लम्सालले बताए।

अवार्ड छनौट प्रकृयाको क्रममा, सर्वोत्कृष्ट छनौटको लागि जुरी समितिले सम्बन्धित संस्था वा कम्पनीको कार्यालय भ्रमण गरेर अध्ययन समेत गर्नेछ। जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिहरु सहित १४ जना विज्ञ रहेका छन् भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यक्तिहरु रहेका छन्। साउथ एसिया स्टार्टअप अवार्ड २०२३ मा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका देशहरुबाट विज्ञ जुरी समिति मार्फत छनौट प्रकृया सञ्चालन गरिने जुरी संयोजक हेमपाल श्रेष्ठले बताए। यस विधामा उत्कृष्ट १० प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेमा सहभागी हुन नेपाल आउनेछन्।

गत वर्ष २३ डिसेम्बरमा, एक हजारभन्दा बढीको प्रत्यक्ष सहभागितामा द सोल्टी काठमाडौंमा इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले सम्पन्न भएको थियो। सातौं संस्करणमा सातै प्रदेशका उत्कृष्ट स्टार्टअप र जुरी मेन्सन सम्मान सहित अन्य १३ विधामा आईसीटी अवार्ड २०२२ प्रदान गरिएको थियो। सन् २०१६ देखि हालसम्मका विजेता, सम्पुर्ण कार्यक्रम र नोमिनेसनबारे सम्पुर्ण जानकारी वेबसाइट धधध।ष्अतबधबचम।यचन  मा समावेश गरिएको छ।

अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीबाट विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन्। स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन्। गतवर्ष माइक्रोसफ्ट, ह्वावे, एनसेल र नेपाल टेलिकमले विजेताहरुलाई आकर्षक अफर र सुविधाहरु पनि प्रदान गरेका थिए। यस वर्ष अवार्ड विजेताहरुलाई अझ धेरै पुरस्कारसहित कार्यक्रम भब्य र परिस्कृत हुने आयोजकले जनाएको छ।

यी हुन आईसीटी अवार्ड २०२३ का १३ विधाहरु
आईसीटी अवार्ड २०२३ मा १३ विधामा अनलाइन नोमिनेशन खुल्ला गरिएको छ। यसैगरी सातै प्रदेशका स्थानिय स्टार्टअपहरुले पनि प्रदेशको उत्कृष्ट स्टार्टअपको सम्मान र निशुल्क बुटक्याम्प र मेन्टरिङ सेसनमा सहभागि हुनको आगि आवेदन खुल्ला गरिएको छ। नोमिनेशन दर्ता गर्न आधिकारिक वेबसाइटमा गएर गएर विधा (क्याटेगोरी) छनौट गरी आवश्यक विवरण उल्लेख गरी अनलाइन फारम बुझाउनुपर्नेछ। नोमिनेसनको अन्तिम मिति यहि साउन ३१ गते रहको छ।

१) स्टार्टअप आईसीटी अवार्ड
आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।

२) प्रडक्ट आईसीटी अवार्ड
आईसीटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ। विस २०७९ सालमा सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ।

३) राइजिङ स्टार एण्ड इन्नोभेसन आईसीटी अवार्ड
राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाहरुको इन्डस्ट्री प्रोजेक्ट रिसर्च, आइडिया, इन्नोभेसन तथा प्रडक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ।

४) प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड
यस वर्ष थप भएको प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड विधामा आईसीटी क्षेत्रसँग सम्वन्धित रहेर कम्तिमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्वपुर्ण योगदान, विशेष कामको आधारमा आईसीटी प्रोफेसनलहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन।

५) पायोनियर आईसीटी अवार्ड
यो अवाडर्, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ। यस विधामा नोमिनेशन दर्ता गर्न यस क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव आवश्यक पर्दछ।

६) नेपाली डायस्पोरा आईसीटी अवार्ड
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आईसीटीको माध्यमबाट देश र यस क्षेत्रमा पुर्याएको योगदानको आधारमा यस विधामा नोमिनेशन दर्ता गर्न सकिनेछ।

७) आन्टरप्रेनर आईसीटी अवार्ड
आन्टरप्रेनर आईसीटी अवाडर्, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ। नोमिनेशनको लागि आईसीटी उद्यमीको रुपमा कम्तिमा ७ वर्षको अनुभव आवश्यक रहेको छ।

८) वुमन आइकन आईसीटी अवार्ड
वुमन आइकन आईसीटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ। यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आईसीटीको क्षेत्रमा उदाहरणिय काम गर्नुभएको महिलाहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन्।

९) डिजिटल एजुकेशन आईसीटी अवार्ड (पल्लिक सेक्टर)
डिजिटल एजुकेशन आईसीटी अवार्ड, आईसीटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन ।

१०) डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइवेट सेक्टर)
डिजिटल एजुकेशन आईसीटी अवार्ड आईसीटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका नीजि शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन्।

११) डिजिटल गभर्नेन्स आईसीटी अवार्ड
यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन्।

१२) डिजिटल सर्भिसेस आईसीटी अवार्ड
यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल तथा अनलाइन मार्फत सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन्। यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन्।

१३) साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड
यस विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका, मालदिभ्श, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपहरुले सहभागिता जनाउन सक्नेछन्। ५ वर्षसम्मका स्टार्टअपहरुले यस विधामा नोमिनेशन दर्ता गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .