नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।
चीन साउथ एसिया बिजनेस फोरमको तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान)नेपाल इन्डस्ट्रियल को अपरेसन प्रमोसन एण्ड इन्टरप्राइजेज म्याचमेकिंग बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले, प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यको रूपमा विकसित भइरहेको बताए।
अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था र जलस्रोतले भरिपूर्ण रमणीय स्थलहरू लगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्न सहज हुने उल्लेख गरे।
ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आईसीटी र कृषि जस्ता विविध क्षेत्रहरूमा नेपालमा थप लगानीका आकर्षक अवसरहरू रहेको जानकारी पनि अध्यक्ष ढकालले गराए।
नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूले निरन्तर नाफा कमाएको उल्लेख गर्दै भारत, ईयू र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई लगानीकर्ताहरूले उपयोग गर्न सक्ने पनि बताए।
उनले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागि समेत आह्वान गरेका छन्।
Shares

प्रतिक्रिया