कारोबार


लघुवित्तको सामाजिक हित खर्च प्रभावहीन र अपारदर्शी

लघुवित्तको सामाजिक हित खर्च प्रभावहीन र अपारदर्शी

केशर बोगटी
भदौ ६, २०८० बुधबार ९:२५, काठमाडौँ

लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व (सीएसआर) र ग्राहक संरक्षण कोषअन्तर्गत रहेर सामाजिक हितको काम गर्नुपर्ने व्यवस्था छ। लघुवित्तले अघिल्लो वर्षको खुद नाफाको १ प्रतिशत रकम सीएसआर कोष र १ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा जम्मा गरी पछिल्लो वर्ष खर्च गर्नुपर्ने हुन्छ। 

सोही व्यवस्थाअनुरुप लघुवित्तहरुले खुद नाफाको १ प्रतिशत सीएसआर कोष र १ प्रतिशत ग्राहक संरक्षण कोषमा जम्मा गरी सामाजिक हितको लागि खर्च समेत गरिरहेका छन्।

लघुवित्तहरुले ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम ऋणीको हकमा र सीएसआर अन्तर्गत जम्मा भएको रकम सामाजिक परियोजनाहरुमा खर्च गरिरहेका छन्। 

लघुवित्तहरुले गरेको यस्तो खर्चको कुनै प्रभाव भने देखिएको छैन। वार्षिक करोडौं खर्च गरे पनि प्रभावकारी नदेखिएको राष्ट्र बैंकका अधिकारीले बताएका छन्।

नेपालमा यस शीर्षकमा हुने खर्चबारे मापदण्ड र प्रावधान अझै राम्ररी स्पष्ट नभएको उनको भनाइ छ। 

‘लघुवित्तले जसरी खर्च गरिरहेका छन्, त्यसलाई सकारात्मक नै भन्नुपर्ने हुन्छ। यद्यपि यसमा सुधार गर्नुपर्ने क्षेत्र छन्,’ उनले भने, ‘तर यसमा अनुगमन नपुगेको र यसलाई प्रभावकारी बनाउन नियम र मार्गदर्शनहरू अलि स्पष्ट नभएको देखिन्छ।’

लघुवित्तहरुले सीएसआर अन्तर्गतको रकम शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण (फोहोरमैला संकलन गर्ने फोहरदानी), संस्कृति प्रबद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, यात्री प्रतीक्षालय निर्माण, सडक बत्ती, सार्वजनिक शौचालय र वित्तीय साक्षरतामा खर्च गर्छन्। 

साथै, बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरता सम्बन्धी विविध कार्यक्रम तथा लक्षित तालिमहरु सञ्चालन गरी महिला तथा सामाजिक रुपले पिछडिएका वर्गलाई वित्तीय सेवा सम्बन्धमा साक्षर बनाई वित्तीय सेवामा पहुँच अभिवृद्धिका लागि सामाजिक उत्तरदायित्व कोषको ५ प्रतिशत रकम छुट्याउनु पर्नेछ। 

साथै, लघुवित्तले वार्षिक १५ प्रतिशत बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको १० प्रतिशतले हुने रकम सीएसआर कोषमा जम्मा गर्नुपर्छ। 

यता ग्राहक संरक्षण कोषमा रहेका रकम ऋणीको हकमा खर्च गर्ने गरी अलग्गै ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। 

ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम ऋणीहरुको सामूहिक हित हुने कार्य गर्न, समस्यामा परेका ऋणीको व्यवसायको सुरक्षण एवम् पुनर्स्थापना गर्न तथा ग्राहकहरुको शिक्षा र क्षमता विकास एवम् ग्राहकका सन्तानको विद्यालय स्तरको शिक्षा, स्वास्थ्य, पोषण सम्बन्धी कार्यक्रममा उपयोग हुने गरी मात्र खर्च गर्नु पर्नेछ। साथै यस्तो कोषमा वार्षिक १५ प्रतिशत बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम यस कोषमा राख्नु पर्छ। 

लघुवित्तहरुको सीएसआर र ग्राहक संरक्षण कोष ठूलो बन्दै जाँदा उनीहरुले भने सम्पर्कको आधारमा खर्च गर्ने गरेको ती अधिकारी बताउँछन्।

यसअघि नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले नेपालका वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) शीर्षकमा गरेको खर्च सुगम ठाउँमा बढी भएको र पिछडिएको स्थानमा ज्यादै कम भएको देखाएको थियो। 

लघुवित्तको सीएसआर कोष सानो हुने हुँदा धेरै अपेक्षा गर्न नहुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल बताउँछन्। 

उनका अनुसार लघुवित्तले सीएसआर अन्तर्गत रकम विभिन्न सामाजिक हितको लागि खर्च गर्ने गरेका छन्। 

‘लघुवित्तहरुले कतै डस्टबिन बाँड्ने गरेका छन् त कतै रक्तदानमा खर्च गर्छन्,’ उनले भने, ‘कतै स्कुललाई चन्दा दिएका छन्। कोहीले आफ्ना ग्राहकका छोराछोरीको पढाइमा खर्च गरेका छन्। कुनै ठाउँमा बाटोघाटो सरसफाइको काम गरेका छन्।’

लघुवित्तले सीएसआर अन्तर्गतको खर्च छिटफुट रुपमा गर्दा पारदर्शी नदेखिएको नेपालले बताए। 

‘सीएसआर कोष सानै छ। त्यसमा पनि संस्थाहरुले छिटफुट छिटफुट खर्च गरेका छन्,’ उनले भने, ‘सबैले मिलेर काम गरे प्रभावकारी हुन्थ्यो। तर, छिटफुट खर्च गर्दा प्रभावकारी भने नदेखिएको नै हो।’

लघुवित्तहरुले संगठित रुपमा सीएसआरको पैसा खर्च गर्दा प्रभावकारी हुने उनको भनाइ छ। 

‘सबैले चुबुर चुबुर सम्पर्कको आधारमा खर्च गर्छन्। यसरी सम्पर्कको आधारमा भएको खर्च हावामा बगाए जस्तै हो,’ उनले भने, ‘२०÷३० फोहोर फाल्ने डस्टबिन दियो, त्यो अर्को वर्ष कता हराउँछ। कहिले सञ्चालकले भन्छ, कहिले सीईओले यसमा खर्च गर भन्छ। त्यसरी काम गर्दा प्रभावकारी नदेखिएको हो। पारदर्शी भएर काम गर्नुपर्यो। जसले माग्यो, त्यसैलाई दिइहाल्ने प्रवृत्ति देखिन्छ।’

लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्त लम्सालले पछिल्लो समय लघुवित्तले  सीएसआर अन्तगर्तको खर्च केही कम भएको स्वीकार गरेका छन्। 

उनले कोभिडको बेलामा लघुवित्तहरुले सीएसआर अन्तर्गत अस्पतालहरुलाई औजारउपकरण, स्थानीय तहलाई स्यानिटाइजर, मास्क लगायतको लागि नगद दिएको बताए। 

राष्ट्र बैंकले तोकेको क्षेत्रभन्दा बाहिर गएर खर्च गर्न नपाइने र नगरेको उनले बताए। पछिल्लो समय लघुवित्तको नाफा घटेका कारण फण्डमा पैसा कम रहेको लम्सालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .