कारोबार


नक्कली विज्ञापनको भर पर्दा डुब्यो ३४ लाख

नक्कली विज्ञापनको भर पर्दा डुब्यो ३४ लाख

फाइल तस्बिर


रासस
भदौ १९, २०८० मंगलबार १२:३६, काठमाडौँ

वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरू ठगीमा परेका छन्। उनीहरूले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाए। त्यसपछि उनीहरू प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। 

कार्यालका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरू ठूलो रकम गुमाउन पुगेका हुन्। 

अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत रु पाँच लाख ४५ हजार तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो।

‘क्यानडा जानका लागि प्रोसेसका लागि आइएलटीएस सर्टिफिकेट र सीभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू पठाइदिनुहोस् भनी पटकपटक ह्वाट्सएपबाट माग गरेको पाइयो, त्यसपछि पीडितले कागजात पठाएका थिए’, प्रहरी उपरीक्षक रेग्मीले भने, ‘उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरूका नाममा रहेको बैंक खातामा पैसा हाल्न लगााएको भेटियो।’

पीडितलाई त्यसरी लोभ्याएर पटकपटक गरी जम्मा रु ३४ लाख ५७ हजार पठाउन लगाई ठगी गरेपछि उनीहरू सम्पर्कविहीन भएको भनी जाहेरी परेको थियो र सोही जाहेरीका आधारमा टोली परिचालन गरी खोजी थालिएको थियो। 

यसरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा सङ्लग्न पाइएपछि जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका-६ बस्ने ३० वर्षीय लक्ष्मण नेपाली र जिल्ला सप्तरी राजविराज नगरपालिका–४ का ३५ वर्षीय महावीरप्रसाद साहलाई पक्राउ गरी कानुनी कारबाही सुरु भएको पनि उनले बताए।

प्रहरीले क्रिप्टो कारोबारमा सङलग्न एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बूढानीलकण्ठ पासिकोट बस्ने पुरुषोत्तम कार्की छन्। उनीविरुद्ध नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत कारबाही भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad