कारोबार


खराब कर्जा न्यून भएका बैंकको सेयरमा झुम्मिँदै लगानीकर्ता

खराब कर्जा न्यून भएका बैंकको सेयरमा झुम्मिँदै लगानीकर्ता

फाइल तस्बिर


केशर बोगटी
भदौ २०, २०८० बुधबार १९:५८, काठमाडौँ

गत वर्ष २० वाणिज्य बैंकले ७० अर्ब ३ करोड नाफा गरे। अघिल्लो आर्थिक वर्ष ती वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब १७ करोड थियो। 

केही बैंक मर्जमा गएपछि एकीकृत वित्तीय विवरण सार्वजनिक भएकाले नाफामा उल्लेख्य वृद्धि देखिएको छ। जसले गर्दा तत्कालीन नेपाल बंगलादेश बैंक गाभेको नबिलको नाफा सबैभन्दा धेरै ७६ प्रतिशत बढेको देखिन्छ।

गत वर्ष प्रकाशित वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकमध्ये कुमारी र प्राइम बैंकको नाफा घटेको छ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष वाणिज्य बैंकहरुको नाफा बढे पनि खराब कर्जा अनुपात (एनपीएल) दोब्बर पुग्यो। 

औसतमा वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात २.७ प्रतिशत पुगेको छ। गत वर्ष सबैभन्दा धेरै कुमारी बैंकको खराब कर्जा ४.७७ प्रतिशत पुगेको छ। 

त्यसैगरी हिमालयन बैंक ४.५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट गेगा बैंकको ४.३५ प्रतिशत र प्रभु बैंकको एनपीएल ४.१६ प्रतिशत पुगेको छ। 

आर्थिक मन्दीको असरस्वरुप कर्जा असुलीमा समस्या बढेसँगै निष्क्रिय कर्जा दोब्बर पुगेको हो। एनपीएल बढ्दा बैंकहरुको कर्जा नोक्सनी (प्रोभिजन) बढ्न गई नाफा र लगानी खुम्चिने गर्छ। लगानी र नाफा खुम्चिँदा लगानीकर्ताले पाउने प्रतिफल घट्ने हुन्छ। 

गत वर्षको नाफाबाट यतिबेला बैंकहरु लगानीकर्ताका लागि लाभांश घोषणा गर्न थालेका छन्। यद्यपि, लगानीकर्ता उच्च प्रतिफल दिनेसक्ने खराब कर्जा न्यून भएका बैंकहरुको शेयरमा झुम्मिन थालेका छन। 

हालै माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ। माछापुच्छ्रे ले १४ प्रतिशत लाभांश पनि घोषणा गरेको छ। यता, एनआईसी एशिया र एभरेष्ट बैंक लाभांश स्वीकृतिको पर्खाईमा छन। स्वीकृति पाएसँगै यी दुई बैंकले लाभांश घोषणा गर्नेछन्।

यता सेयरबजार निरन्तर ओरालो यात्रामा देखिएको छ। साउन ७ गते २२२७.७९ बिन्दुमा रहेको बजार निरन्तर ओरालो लागेर भदौ १९ सम्म आइपुग्दा १९६१.३७ बिन्दुमा अडिएको छ।  

बजार २ हजारभन्दा तल आउँदा लगानीकर्ता राम्रो प्रतिफल दिन सक्ने खराब कर्जा न्यून भएका कम्पनीमा झुम्मिन थालेका हुन्। 
खराब कर्जा न्यून भएका वाणिज्य बैंक 

एभरेष्ट बैंक 
यो साता लगानीकर्ता एभरेष्ट बैंकको सेयरमा झुम्मिएका छन। बैंकको खराब कर्जा ०.७९ प्रतिशत छ। गत वर्ष बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाउन सफल भयो। 

अघिल्लो वर्ष त्यही अवधिको तुलनामा बैंकको नाफा उल्लेख्य मात्रामा बढ्नु र खराब कर्जा १ प्रतिशत कम हुँदा बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो।  

यता खराब कर्जा कम हुँदा कर्जा नोक्सानीसमेत सामान्य रहेको छ। अधिकांश सूचकमा देखिएको प्रगतिका कारण बैंकले लगानीकर्तालाई ४० प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता देखिएको छ। 

बैंकले ४० प्रतिशत लाभांश क्षमता देखिदा लगानीकर्ता बैंकको सेयरमा भुम्मिएका छन।  

बैंकको प्राथमिक पुँजी कोष समेत १० प्रतिशतमाथि नै देखिएको छ। बैंकको पुँजीकोष अनुपात लाभांश वितरणका लागि सुरक्षित देखिन्छ।

बैंकको अधिकांश सूचक देखिएको प्रगतिले एभरेष्ट बैंकको सेयरमूल्यसमेत बढ्दै जान थालेको छ। २०८० भदौ १९ सम्म आइपुग्दा बैंकको सेयर मूल्य ५९९ रुपैयाँ छ। 

स्टान्डर्ड चार्टर्ड बैंक 
स्टान्डर्ड चार्टर्ड बैंकको सेयरमा समेत लगानीकर्ता भुम्मिन थालेका छन्। गत वर्ष बैंकको अधिकांश सूचनामा देखिएका सुधारका कारण यतिबेला लगानीकर्ता उसको सेयर खरिदमा झम्मिएका हुन्। 

गत वर्ष बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाउन सफल भयो। यता खराब कर्जासमेत १ प्रतिशत हाराहारी छ। जसकारण लगानीकर्ता बैंकको सेयर झुम्मिएका हुन्। 

यता बैंकको प्राथमिक पुँजी कोषसमेत १३ प्रतिशत छ। पुँजी कोष हेर्दा यो बैंक लाभांश वितरणमा सुरक्षित देखिन्छ। भदौ १९ गते बैंकको प्रतिकित्ता सेयरमूल्य ५५७ रुपैयाँ छ। 

एनआईसी एशिया बैंक 
अघिल्ला दुई वर्ष निरन्तर लाभांश वितरण गर्न नपाएको एनआईसी एसिया बैंकको सेयरमूल्य सर्वाधिक छ। 

वाणिज्य बैंकहरूमध्ये एनआईसी एशियाको सेयरमूल्य सबैभन्दा धेरै हो।  भदौ १९ गते बैंकको प्रतिकित्ता सेयरमूल्य ७७८ रुपैयाँ छ। 

गत वर्ष बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ४ अर्ब २१ करोड नाफा गरेको थियो। बैंकले नाफा बढाउँदा खराब कर्जा १ प्रतिशतभन्दा कम नै छ।

खराब कर्जा न्यून भई नाफा बढ्नु सेयरधनी र लगानीकर्ताका लागि राम्रो हो। अघिल दुई वर्षमा बैंकको प्राथमिक पुँजी कोष (सीसीएआर) कायम गर्न नसक्दा लाभांश वितरणमा केन्द्रीय बैंकले रोक लगाएको थियो। 

बैंकको कुनै एक त्रैमासिकमा सीसीएआर ८।५ प्रतिशत कम हुँदा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गर्दछ। 

बैंकको सेयर भोलुमसमेत थोरै छ। जसकारण बैंकको राम्रो प्रतिफल राम्रो पाउने देखिएपछि लगानीकर्ताको आकर्षण बैंकको सेयरमा बढेको छ। 

सानिमा बैंक 
२०८० भदौ १९ गतेसम्म आइपुग्दा सानिमा बैंकको सयरमूल्य २९६ रुपैयाँ रहेको छ। गत वर्ष बैंकको अधिकांश सूचकमा देखिएको प्रगतिका कारण बैंकको सेयरमा डिमान्ड बढ्दै गएको छ। बैंकले गत वर्ष २ अर्ब ६१ करोड नाफा गरेको छ।

बैंकको नाफादेखिको प्रगति र १ प्रतिशत हाराहारीमा खराब कर्जा राख्न सफल हुँदा बैंकको सेयरमा डिमान्ड बढ्न थालेको हो। 

नेपाल बैंक 
गत वर्ष नेपाल बैंकले खराब कर्जा १.२३ प्रतिशत देखिएको छ। गत वर्षको तुलनामा नाफामा राम्रो प्रगति गरेको छ। तर, कर्जा नोक्सानी भने बढेको छ। 

अधिकांश बैंकहरूको तुलनामा खराब कर्जा १ प्रतिशत हाराहारीमा राख्न सफल भई नाफामा राम्रो प्रगति हुँदा बैंकको सेयरमा डिमान्ड बढ्न थालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .