कारोबार


समग्र कर्जा प्रवाह खुम्चिँदा सेयर धितो कर्जा भने बढ्दै

समग्र कर्जा प्रवाह खुम्चिँदा सेयर धितो कर्जा भने बढ्दै

फाइल तस्बिर


केशर बोगटी
असोज १, २०८० सोमबार १९:४, काठमाडौँ

५० करोडसम्मको सेयर धितो कर्जा बढ्न थालेको छ। ५० करोडसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारिएसँगै यस्तो कर्जा बढ्न थालेको हो।

२०८० असारको तुलनामा साउनमा समग्र कर्जा प्रवाह ०.४ प्रतिशतले घटेको छ।

२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह गरेकोमा साउनसम्म आइपुग्दा १७ अर्ब ८८ करोडले घटेर ४८ खर्ब ६१ अर्बमा खुम्चिएको हो।

समग्र कर्जा प्रवाह खुम्चिँदा टर्म लोन र ५० लाखसम्मको सेयरधितो कर्जा भने बढेको छ। नेपाल राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतको व्यवस्थाले यस्तो कर्जा बढ्न थालेको देखिएको छ।

यसअघि २५ लाख माथिको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशत थियो। राष्ट्र बैंकले सर्कूलर जारी गरी ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्न निर्देशन दिएको छ। योसँगै ५० लाखसम्मको सेयरधितो कर्जा बढ्न थालेको हो।

आर्थिक वर्ष २०८०/०८१को साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा वापत ७६ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

जसमा २५ लाखसम्मको सेयर धितो वापत ७ अर्ब ४ करोड, २५ देखि ५० लाखम्मको १४ अर्ब ८ करोड, ५० देखि १ करोडसम्मको १० अर्ब ९७ करोड र १ करोड माथिको ४४ अर्ब ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

५० लाखसम्मको सेयर धितो बापत मात्रै वित्तीय संस्थाले २२ अर्ब ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

अघिल्लो महिनाको तुलनामा २५ लाखसम्मको सेयर धितो कर्जा ०.१ प्रतिशत र २५ देखि ५० लाखसम्मको सेयर धितो कर्जा १०.२ प्रतिशतले बढेको छ। ५० लाखदेखि १ करोडसम्मको सेयरधितो कर्जा भने ६.८ प्रतिशत र एक करोड माथिको सेयर धितो कर्जा भने ०.९ प्रतिशतले घटेको छ।

५० लाख माथिको सेयरधितो कर्जाको जोखिम भार १५० प्रतिशत छ। जोखिम उच्च हुँदा यस्तो कर्जा बढ्न नसकेको आकलन गरिएको छ।

गतवर्ष २५ देखि ५० लाखसम्मको सेयरधितो कर्जाको वृद्धिदर उच्च अंकले घट्दा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत यस्तो कर्जाको जोखिम भार घटाएको हो।

अघिल्लो वर्षको तुलनामा गत वर्ष २५ देखि ५० लाखसम्मको सेयरधितो कर्जामा उच्च गिरावट देखिएको थियो।

गत वर्ष २५ देखि ५० लाखसम्मको सेयरधितो कर्जा उच्च दरले घट्दा लगानीकर्तालाई मार परेको देखिएपछि मौद्रिक नीतिमा यस्तो कर्जाको जोखिम भार घटाइएको राष्ट्र बैंकका एक अधिकारीले बताए।

उनका अनुसार अन्य सेयर कर्जामा भने खासै गिरावट देखिएको छैन।

‘गत वर्ष २५ देखि ५० लाखसम्म सेयरधितो कर्जा करिब ३० प्रतिशतले घटेको थियो’,ती अधिकारीले नेपालखबरसँग भने,‘२५ देखि ५० लाखसम्मको कर्जाको गिरावट हेर्दा लगानीकर्ता मारमा परेको अभास भयो। र, यो वर्ष ५० लाख सम्मको सेयरधितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारिएको हो।’

५० लाख बढीको सेयर धितो कर्जाको जोखिम भार भने १५० प्रतिशत नै कायम छ। ठूलो कर्जाको जोखिमभार उच्च हुँदा ५० लाखदेखि १ करोडसम्मको सेयरधितो कर्जा ६.८ प्रतिशतले घटेको छ। साथै, १ करोड माथिको सेयर धितो कर्जा ०.९ प्रतिशतले घटेको छ।

यता साउनमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह खुम्चिएका छन्। साउन एक महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह २० अर्बले घटेको छ। साउनमा कर्जा प्रवाह खुम्चिँदासमेत टर्म लोन भने बढेको छ।

अघिल्लो महिनाको तुलनामा टर्म लोन २.४ प्रतिशतले बढेको छ। औद्योगिक क्षेत्रमा जाने टर्म लोन ३.९ प्रतिशत, व्यवसायिक क्षेत्रमा जाने टर्म लोन ५ प्रतिशत र सर्भिस सेक्टरमा जाने जाने १.५ प्रतिशतले बढेको छ।

साउनमा अघिकांश बैंकहरुले निक्षेपको समेत ब्याजदर घटाएका थिए। तर, भदौ र असोजमा निक्षेपको ब्याजदर समेत बढाएका छन्। बढेको निक्षेपका ब्याजदरले कर्जाको समेत ब्याजदर बढ्ने गर्छ।

अधिक तरलता हुँदा बैंकहरुले ब्याजदर बढाउँदा लगानीकर्ताको मनोबल खस्किने आकलन गर्न थालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .