कारोबार


५० लाखभन्दा बढीको सेयरधितो कर्जा दिन मान्दैनन् बैंकहरू

एकल ग्राहक सीमा बढाउँदा के फरक पर्ला?
५० लाखभन्दा बढीको सेयरधितो कर्जा दिन मान्दैनन् बैंकहरू

फाइल तस्बिर


केशर बोगटी
असोज ६, २०८० शनिबार ७:०, काठमाडौँ

लगानीयोग्य रकम (तरलता) अधिक हुँदा पनि बैंकहरु ५० लाखभन्दा माथिको कर्जा दिन अनिच्छुक छन्। 

सेयरधितो कर्जाको विज्ञापन गर्न थालेका बैंकहरु ५० लाखभन्दा माथिको कर्जा प्रवाहमा अनिच्छुक देखिएका हुन्। 

बैंकहरुले ५० लाखसम्मको सेयरधितो कर्जा भने सहज रुपमा प्रवाह गर्न थालेका छन्। तर, ५० लाखभन्दा माथिको कर्जा प्रवाह घटाउन थालेका छन्।

यद्यपि, साउनमा ५० लाखमाथिको सेयर धितो कर्जासमेत उच्च दरले घटेको छ। 

घट्दो कर्जाले पनि बैंकहरु ५० लाखमाथिको सेयर धितो कर्जा दिन अनिच्छुक रहेको देखाउँछ। 

२०८० असारको तुलनामा साउनमा ५० लाखदेखि १ करोडसम्मको सेयरधितो कर्जा ६.८ प्रतिशतले घटेको छ। १ करोडमाथिको सेयरधितो कर्जा पनि ०.९ प्रतिशतले घटेको छ। 

त्यही अवधिमा ५० लाखसम्मको सेयरधितो कर्जा भने उच्चदरले बढेको छ। 

बैंकहरुले ५० लाखसम्मको कर्जा लिन आग्रह गरिरहेका छन्। तर, त्योभन्दा बढीको कर्जा दिन नचाहेको लगानीकर्ताहरु बताउँछन्। 

ठूला लगानीकर्ताहरुले करोडभन्दा माथि कर्जा माग गर्दा बैंकहरुले ५० लाखसम्म लिनुस् भनेर पन्छाउने गरेका छन्। 

‘हामी भिन्न भिन्न बैंकमा गएर १ करोडको सेयर धितो कर्जा माग गर्दा बैंकहरुले ५० लाखसम्म लिनुस् भन्ने जवाफ दिनुहुन्छ’, एक लगानीकर्ताले भने, ‘फरक फरक बैंकहरुबाट २०-४० लाख कर्जा लिन पनि झन्झटिलो छ।’ 

मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एक ग्राहक सीमा नै १२ करोड छ। २० वटा बैंक धाउँदासमेत यस्तो सीमा पुरा हुने नदेखिने  ती लगानीकर्ताले बताए।

‘साउन र भदौमा बैंकहरुले ५० लाखसम्मको कर्जा सजिलै दिए। तर, त्यसमाथिको कर्जा दिन चाहिरहेका छैनन’, उनले भने, ‘१ करोड बढीको कर्जा नगएसम्म बजारमा धेरै फरक पर्दैन।’

सानो–सानो सेयरधितो कर्जा सेयर खरिदभन्दा व्यक्तिगत प्रयोजनका लागि जाने उनले बताए। 

जबसम्म बैंकहरु १ करोडमाथिको सेयर धितो कर्जा दिन मान्दैनन, तबसम्म बजार धेरै माथि जान नसक्ने उनको बुझाई छ।

जोखिम भार उच्च भएकै हुँदा ५० लाखमाथिको सेयरधितो कर्जा दिन इच्छुक नरहेको बैंकरहरु बताउँछन्। 

‘५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत र त्यो बढीको कर्जाको हकमा १५० प्रतिशत छ,’ एक बैंकरले भने, ‘जोखिमभारका कारण ५० लाख माथिको कर्जा दिन बैंकहरुलाई अफ्ठेरो परेको छ।’

अधिक तरलता भए पनि जोखिम भार धेरै भएको क्षेत्रमा बैंकहरुले कर्जा प्रवाहमा केही कडाइ गरेको उनले बताए। 

‘जोखिमभार धेरै हुनु भनेको राष्ट्र बैंकले त्यस क्षेत्रमा धेरै कर्जा प्रवाह नगर भन्ने संकेत नै हो’, उनले भने, ‘त्यस्तो क्षेत्रमा लगानी गर्दा बैंकहरुको रिस्क वेट धेरै हुन्छ। रिस्क वेट धेरै भएको क्षेत्रमा लगानी गर्दा बैंकहरुको क्षमतासमेत घट्ने गर्छ।’

जोखिम भार कम रहेको कर्जा भने बैंकहरुले सहजै प्रदान गरिरहेको उनले बताए। 

पछिल्लो समय सेयर धितो कर्जाको एकल ग्राहक सीमा संशोधन गरी १२ करोड बनाइने चर्चा छ। 

त्यही चर्चाका कारण असोज ४ गते (बिहीबार) सेयर बजार ४४ अंकले बढ्न सफल भयो। साथै, कारोबारसमेत पछिल्लो ४० दिनपछिकै उच्च भयो।

तर, आजको बजारको उचाइ र कारोबार टेक्निकल नदेखिएको जानकारहरु बताउँछन।

सेयर कर्जाको जोखिम भार नघटाई एकल ग्राहक सीमा बढाउँदा बजारलाई खासै सहयोग नगर्ने उनीहरुको बुझाई छ। 

यद्यपि, जोखिमभार धेरै भएको भन्दै बैंकहरुले कर्जा कसिलो पारेका बेला एकल ग्राहक सीमा बढाउँदा त्यसको प्रभाव नपर्ने उनीहरुको तर्क छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .