कारोबार


लगानी निर्देशिकाविपरीत बीमा कम्पनीको लगानी, मुद्दतीमा पैसा थुपारे, पूर्वाधारमा छैन

लगानी निर्देशिकाविपरीत बीमा कम्पनीको लगानी, मुद्दतीमा पैसा थुपारे, पूर्वाधारमा छैन

फाइल तस्बिर


केशर बोगटी
असोज ११, २०८० बिहिबार ११:४१, काठमाडौँ

बीमा कम्पनीहरुले बीमा लगानी निर्देशिकाविपरीत लगानी गरेका छन्।  लगानी निर्देशिकाविपरीत बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी गरेका हुन्। 

बीमा कम्पनीहरुले कुल लगानीको ३० प्रतिशत मात्रै वाणिज्य बैंक र पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा राख्न पाउने व्यवस्था छ।  

तर, बीमा कम्पनीहरुले कुल लगानीको ७० प्रतिशतसम्म वाणिज्य बैंकको मुद्दतीमा लगानी गरेको पाइएको छ। 

गत वर्ष जीवन बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थामा ६ खर्ब २६ अर्ब बढी रुपैयाँ राखेको बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ। जसमा वाणिज्य बैंक र पूर्वाधार विकास बैंकको मुद्दतीमा मात्रै ४ खर्ब ३१ अर्ब रुपैयाँ लगानी छ।

यो कुल लगानीको ६९.१५ प्रतिशत हो। २०७९ पुसमा बीमा प्राधिकरणले बिमक लगानी निर्देशिका संशोधन गरी लगानीको क्षेत्र तोकेको थियो।

बीमा कम्पनीहरुको लगानी मुद्दती निक्षेपमा मात्रै गएको भन्दै लगानी विविधिकरण गर्न लगानीको क्षेत्र छुट्याइएको हो। बीमा प्राधिकरणले विभिन्न ११ क्षेत्रमा लगानीको सीमा तोकेर कम्पनीहरुलाई लगानी गर्न भनेको छ। तर, कम्पनीहरु भने वाणिज्य बैंकको निक्षेपमा सीमित देखिए। 

निक्षेपको ब्याजदर उच्च हुँदा कम्पनीहरु अन्यन्त्र लगानी नगरी मुद्दतीमा लगानी गरी बसेको आकलन छ। 

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा गइरहेको स्वीकार गरे।  

बीमा कम्पनीहरुलाई लगानी विविधिकरण गर्न निर्देशन दिँदा पनि उनीहरुले बैंकहरुको मुद्दतीमा लगानी गरिरहेको बताए। बीमा कम्पनीको लगानी विविधिकरण गर्न गत वर्ष बिमक लगानी निर्देशिका संशोधन गरी लगानीको क्षेत्रहरु तोकिएको पौडेल बताउँछन्। 

कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा मात्रै लगानी गर्न थालेपछि लगानी विविधिकरणको निर्देशिका संशोधन गरी लगानीको सीमा नै तोकिदिएको पौडेलको भनाइ छ। बीमा कम्पनीहरुले थोरैथोरै अन्य क्षेत्रमा लगानी बढान थालेपनि अपेक्षा अनुरुप नदेखिएको उनको भनाइ छ। 

‘बीमा कम्पनीहरुको लगानी मुद्दतीमा मात्रै नभएर पूर्वाधार लगायतका क्षेत्रमा जाओस् भन्ने उदेश्य हो,’ पौडेलले भने, ‘अहिले कम्पनीहरु पूर्वाधार लगायतका क्षेत्रमा थोरैथोरै लगानी बढाएका छन्। तर, हाम्रो उदेश्य अनुसार कम्पनीहरुले लगानी विविधिकरण गर्न सकेका छैनन्।’

एकै पटक कम्पनीहरुलाई लगानी विविधिकरण गर्न गाह्रो छ। प्राधिकरणले कृषि, स्वास्थ्य, शिक्षा, जलविद्युत्, सडक र होटलमा लगानी गर्न जोड गरिरहेको छ,’ पौडेलले भने। 

‘एसियन लाइफले होटलमा लगानी गरेको छ। अन्य कम्पनीहरुले पर्यटन, हाइड्रोमा लगानी बढाउन थालेका छन्,’ उनले भने, ‘अधिकांश कम्पनीहरुले हाइड्रोमा लगानी गरेका छन्। विस्तारै कृषि, स्वास्थ्य र शिक्षामा लगानी गर भनिरहेका छौँ।’

यो वर्षबाट कम्पनीहरुले तोकिएको क्षेत्रमा लगानी नगरेको भेटिए कारबाही थाल्ने पौडलले बताए। 

‘पहिलो वर्ष कम्पनीहरुलाई एकै पटक लगानी विविधिकरण गर्न गाह्रो हुन्छ। किन अफ्ठेरोमा पार्ने भनेर लगानी बढाउन भनेका छौँ,’ उनले भने, ‘सधैँ छुट पाउने भन्ने हुँदैन। यो वर्षबाट तोकिएको क्षेत्रमा लगानी नगर्ने कम्पनीलाई कारबाही थाल्छौँ।’

बीमा शुल्क मार्फत आर्जन गरेको पैसा बीमा कम्पनीहरुले विभिन्न सेक्टरमा लगानी गर्ने गरिरहेका छन। बीमा कम्पनीहरुमा माग दाबी परे भुक्तानी दिनुपर्छ। बीमा कम्पनीहरुले अधिकांश पैसा सुरक्षित ठाँउमा लगानी गर्दछन्। 

मागदाबी आउँदा सहजै झिकेर भुक्तानी दिनसक्ने क्षेत्रमा लगानी पनि गर्नुपर्छ। तर, एकैपटक सबै पैसाको मागदाबी पर्छ भन्ने होइन। 

जसकारण बीमा कम्पनीहरुको सबै पैसा मुद्दतीमा मात्रै नभएर अन्य कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार र जलविद्युत् लगायतका क्षेत्रमा गएर विविधिकरण होस् भन्ने उदेश्यले लगानीको क्षेत्र छुट्याइएको हो। 

हाल बीमा कम्पनीले कुल लगानीको ३० प्रतिशत वाणिज्य बैंकको मुद्दतीमा राख्न पाउँछन्। त्यसैगरी पूर्वाधारमा १० प्रतिशत र सेयर, घरजग्गा, सरकारी बन्ड लगायतका क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ। 

जीवन बीमा कम्पनीहरुले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मुद्दती निक्षेपमा ९० करोड, विकास बैंकको ४० अर्ब २५ करोड र फाइनान्स कम्पनीको मुद्दतीमा ६ अर्ब ३३ करोड राखेका छन्। 

पब्लिक कम्पनीको प्राथमिक सेयरमा ११ अर्ब रुपैयाँ, पूर्वाधार क्षेत्रमा ६ अर्ब ५९ करोड ४ लाख रुपैयाँ लगानी गरेका छन्। पूर्वाधारमा (कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा, जलविद्युत्)मा सो लगानी गरेका हुन्। 

जीवन बीमा कम्पनीले कुल लगानीको १० प्रतिशत पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था रहेकामा १.१६ प्रतिशत मात्रै लगानी गरेका छन्। 

यसले प्राधिकरणको बेवास्ता गर्दै कम्पनीहरु आफ्नै ढंगले लगानी गरिरहेको पुष्टि गर्छ। यता प्राधिकरण कम्पनीहरुको मनपरी नदेखेजसरी नै बसेको छ। 

गत वर्ष निर्जीवन बीमा कम्पनीले कुल ५८ अर्ब ८५ करोड ८५ लाख रुपैयाँ लगानी गरेका छन्। जसमध्ये वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४१ अर्ब २६ करोड, लगानी गरेका छन्। 

विकास बैंकको मुद्दतीमा ५ अर्ब १६ करोड, फाइनान्स कम्पनीको मुद्दतीमा १ अर्ब १ करोड र पब्लिक कम्पनीको सेयरमा २ अर्ब ८७ करोड रुपैयाँ, सरकारी बन्डमा २२ करोड र पूर्वाधार क्षेत्रमा ४१ करोड ४६ लाख रुपैयाँ लगानी गरेका छन्। 

पछिल्लो समय बीमा कम्पनीहरु होटल, कृषि, जलविद्युत लगायतको क्षेत्रमा लगानी बढाउन थालेको बिमक संघका अध्यक्ष चंकी क्षेत्री बताउँछन्। 

‘अहिले नै बीमा कम्पनीहरुले फरकफरक क्षेत्रमा लगानी गरेका त छैनन्। तर, लगानी सुरु थालेका छौँ,’ उनले भने, ‘अहिले अधिकांश कम्पनीहरु लगानीको क्षेत्र खोजिरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .