समाज


चिकित्सक संघको बोर्ड बैठकले आवश्यक निर्णय लिन सकेन

चिकित्सक संघको बोर्ड बैठकले आवश्यक निर्णय लिन सकेन

नेपालखबर
असोज १०, २०८० बुधबार १८:४२, काठमाडौँ

नेपाल चिकित्सक संघको बैठकले आन्दोलनरत रेसिडेण्ट चिकित्सकहरुसँग छलफल गर्ने भएको छ।

बुधवार संघको बोर्ड बैठकले आन्दोलनबारे आवश्यक निर्णय लिने भनेपनि ठोस निर्णय गर्न भने सकेन। बैठकपछि न्युज एजेन्सी नेपालसँगको कुराकानीमा संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले आवासीय चिकित्सकसँग छलफल गरेपछि मात्रै आन्दोलनका कार्यक्रम अघि बढाउने वा नबढाउने भन्नेबारेमा निक्र्योल गर्न सकिने बताए।

यद्यपी आवासीय चिकित्सकहरुले आन्दोलन जारी राखेका छन्।

मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु मंगलवारदेखि आन्दोलनमा छन्। अध्यक्ष कार्कीले चिकित्सकहरुमाथि बारम्बार आक्रमण भइरहेको भन्दै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कार्यान्वयनको विश्वसनीय आधार दिनुपर्ने बताए।

कार्कीले चिकित्सकहरुको आन्दोलनमा ऐक्यवद्धता कायम रहेको बताए। उनले कानूनको कमजोरीलाई थप संशोधन गरेर मजबुत बनाउनुपर्ने बताए। डा.कार्कीले गृह मन्त्रालयमा भएको वार्ताबारे आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने र आन्दोलनलाई कसरी अगाडी बढाउनेबारे थप निर्णय हुने बताए। उनले आन्दोलन जायज भएकाले आन्दोलन फिर्ता नलिने बताए।

डा.कार्कीले भने, ‘सबैको कुरा यो आन्दोलन जायज छ। हाम्रो ऐक्यवद्धता पहिलेदेखि नै थियो। र, केही उपलब्धी नभएर हामी आन्दोलनबाट फर्किनुहुँदैन। त्यो ठोस हुनुपर्यो। कानून कार्यान्वयनको विश्वसनीय आधार निस्किनु पर्यो। कानूनको कमजोरीलाई थप संशोधन गरेर मजबुत बनाउनु पर्यो। यस्ता घटनाहरु क्यान्सर जस्ता भइसके। अप्रेशन गरेर यस्ता घटनाहरुलाई ट्रयाकमा ल्याउनुपर्यो भन्ने सबैको आशय रह्यो।’

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित बुधवार भएको छलफलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टाँस्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .