समाज


मुगुका गणेश नेपालीले काठमाडौँमा आत्मदाहको प्रयास किन गरे?

मुगुका गणेश नेपालीले काठमाडौँमा आत्मदाहको प्रयास किन गरे?

नेपालखबर
असार २६, २०८३ शुक्रबार १२:१, काठमाडौँ

बिहीबार दिउँसो काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका गणेश नेपाली यतिबेला जीवन र मृत्युको दोसाँधमा छन्। 

शरीरको ५५ प्रतिशत भन्दा धेरै भाग जलेका गणेशलाई वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

यसअघि सरकारले उनलाई थप उपचारको लागि भारत लैजाने र सबै खर्च बेहोर्ने प्रचार पनि गरिएको थियो। तर, यस्तो ‘क्रिटिकल’ अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा ज्यानमा झन् जोखिम हुने सुझाव चिकित्सकहरूले दिएपछि सरकारले उनलाई तत्काल भारत नलैजाने जनाएको छ। 

गणेशको उपचारमा संलग्न वीर अस्पतालका चिकित्सकले कुनै पनि समयमा गणेशको अवस्था झन् बिग्रन सक्ने बताएका छन्। 

मुगुको सोरु गाउँपालिका-१ घर भइ श्रीमती र तीन वर्षकी छोरीसँगै भक्तपुरमा बस्दै आएका गणेश ‘राइड सेयरिङ एप’मार्फत राइडरको काम गर्थे।

उनले बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागअघि आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर आत्मदाहको प्रयास गरेका हुन्। 

आखिर उनी आत्मदाहको अवस्थामा कसरी पुगे? यसको यथार्थ विवरण प्रहरीले सार्वजनिक गरेको छैन। तर, काठमाडौँमै बस्दै आएका गणेशका दाजु मदनले भने काठमाडौँ महानगरको प्रहरीले अनावश्यक रूपमा दुःख दिँदा आफ्नो भाइले आक्रोसमा आएर आत्महत्याको प्रयास गरेको बताएका छन्। 

स्थानीय प्रत्यक्षदर्शीले पनि गणेशले यात्रु ओराल्न रोकेको मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्विल लक’ गरेपछि उनी आवेशमा आएको बताएका छन्। त्यसक्रममा उनको महानगरका प्रहरीसँग केहीबेर भनाभनसमेत भएको थियो। 

सार्वजनिक भएका कतिपय भिडिओमा उनी रोकिराखेको मोटरसाइकमा बसेर महिला प्रहरीसँग पनि विवाद गरिरहेको देखिन्छ। 

हिजो आत्मदाह प्रयास गरेका गणेशले यही असार १३ पनि पनि ‘महानगर प्रहरीले दुःख दिएको’ भन्दै गाउँका भतिज पर्नेलाई म्यासेज पठाएका थिए। जसमा उनले ‘हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो यार। १००० तिर्नुपर्ने भो,’ भनेर लेखेका छन्।

उनले म्यासेजको अन्तिममा दुई वटा रोइरहेको इमोजी पनि राखेका छन्। यसले पनि उनमा काठमाडौँ महानगर र ट्राफिक प्रहरीले गर्ने कारबाहीप्रति असन्तुष्टि रहेको बुझ्न सकिन्छ। 

गणेशका दाजु मदनका अनुसार आर्थिक समस्यासँगै बारम्बार जरिवाना तिर्नुपर्ने अवस्थाले भाइमा मानसिक तनाव बढेको हुनसक्ने बताएका छन्। गणेश वैदेशिक रोजगारीका लागि दुबई जाने प्रक्रियामा थिए। 

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार बिहीबार गणेशले राहदानी विभागअघि मोटरसाइकल पार्किङ गरेका थिए। केहीबेरपछि महानगर प्रहरीले उनको मोटरसाइकलमा ‘व्हीललक’ गर्दा बढेको विवादकै बिचमा उनले शरीरमा आगो लगाएका हुन्।।

घिमिरेले आफ्नो बाइकमा व्हीललक गरेको भन्दै रिसाएका गणेशले बाइकबाटै पेट्रोल निकालेर शरीरमा आगो लगाएका बताएका छन्। 

वीर अस्पतालका बर्न युनिट प्रमुख डा. पियूष दाहालका अनुसार सुरुमा गणेशलाई आकस्मिक कक्षमा उपचार सुरु गरिएको थियो। त्यतिबेलासम्म उनी थोरैथोरै बोलिरहेका थिए। तर, अहिले उनी बोल्न सक्ने अवस्थामा छैनन्। अवस्था निकै चिन्ताजनक छ। 

वैदेशिक रोजगारीमा दुबई जान सकिन्छ कि भनेर प्रयास गरिरहेका उनी लोकसेवाको तयारी पनि सँगसँगै गरिरहेका थिए। दैनिक घरखर्च जुटाउन भने उनी राइड सेयरिङको काम गर्थे। 

यो घटनामा ट्राफिक प्रहरी र काठमाडौँ महानगर प्रहरीले सवारी चालकलाई अनावश्यक रुपमा दुःख दिने गरेको र त्यसकै कारण गणेश नेपालीले आत्मदाहको बाटो रोजेको भन्दै सरकारको आलोचना गरिरहेका छन्। 

तर, ट्राफिक प्रहरीले भने गणेश नेपाली प्रकरणमा तथ्यहीन प्रचार गरिएको भन्दै आफ्नो बचाउ गरेको छ। 

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चार माध्यमले ट्राफिक प्रहरीले अनावश्यक रुपमा गणेशलाई जरिवाना तिराएर दुःख दिएको र सोही कारणले आहत भएर उनले आत्मदाहको प्रयास गरेको भन्दै सरकार, ट्राफिक प्रहरी र महानगर प्रहरीको आलोचना गरेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा सुरक्षासम्बन्धी जानकारसमेत रहेकी इन्द्र अधिकारीले पनि गणेशको आत्मादाहको प्रयासमा बाहिर आएका केहि कुरा गम्भीर लापर्वाही र आपत्तीजनक रहेको बताएकी छन्। 

उनले सामाजिक सञ्जालमा पठाउ ड्राइभरले यात्री झार्दा नै नगर प्रहरीले यो नो पार्किङ् क्षेत्र भएको संम्झाएर पठाउनुको सट्टा मोटरसाइकलमा ह्वीललक लगाएको, ट्राफिक प्रहरी आएर १० हजारको चिट थमाएको, गणेशले मोटरसाइकलबाट प्रट्रोल झिक्दादेखि शरीरमा छर्किदा र आगो लगाउँदासमेत प्रहरी साक्षी मात्र बनेको, रोक्न केही पहल नगरेको भनेर आएका विषयमा चासो व्यक्त गरेकी छन्।  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले भने गणेश नेपाली प्रकरणमा ट्राफिक प्रहरीलाई बदनाम गर्ने प्रयास भएको जनाएका छन्।  

उनले सडकमा खटिने ट्राफिक प्रहरीले विधि र कानुनसम्वत रुपमा काम गर्ने, विवेक गुमाएर कुनै पनि कारबाही नगर्ने दाबी गरे। 

‘सडक सुरक्षा र दुर्घटना न्यूनीकरणको लागि खटिने ट्राफिक प्रहरीले विवेक गुमाएर कहिल्यै पनि नागरिकलाई कारबाही गर्दैन,’ सुवेदीले नेपालखबरसँग भने, ‘नेपालमा टाफिक प्रहरीले काम गर्ने भनेको सवारी तथा यातायात व्यवस्था ऐन- २०४९ अनुसार, त्यसले प्रदान गरेको अधिकार क्षेत्रभित्र बसेर कारबाही गर्ने हो। जसमा ५ सयदेखि १५ सयसम्म मात्रै जरिवाना गर्ने अधिकार ट्राफिक प्रहरीलाई छ। यस सम्बन्धमा आएका अन्य विषय भ्रमपूर्ण हुन्।’ 

सुवेदशीले गणेश नेपालीको आत्मदाह प्रकरणमा सामाजिक सञ्जालमा आएका विभिन्न भिडिओहरूको अध्ययन भइरहेको बताए।

‘हामी भिडिओहरू संकलन गर्दैछौँ,’ सुवेदीले भने, ‘उनले बाइकबाट पेट्रोल निकाल्नुन्जेलसम्म प्रहरीले किन नरोकेको भनेर पनि प्रश्नहरू गरिएका छन्, हामी यी सबै विषयमा अध्ययन गर्दैछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad