समाज


राहदानी विभागअगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाएका गणेशको निधन

राहदानी विभागअगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाएका गणेशको निधन

गणेश नेपाली। (फाइल फोटो)


नेपालखबर
असार २६, २०८३ शुक्रबार १२:३, काठमाडौँ

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको निधन भएको छ। 

वीर अस्पतालमा उपचाररत उनको आज (शुक्रबार) बिहान साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नेपालखबरलाई जानकारी दिए।  

राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उनको शरीर ५५ प्रतिशत जलेको थियो।

यसबिच उनलाई थप उपचारका लागि भारत लाने तयारी पनि गरिएको थियो। तर स्वास्थ्य अवस्था अस्थिर भएपछि अन्तिम समयमा स्थगन गरिएको थियो।

कामको सिलसिलामा मुगुबाट काठमाडौँ आएका गणेशका दाजु मदनले काठमाडौँ महानगरको प्रहरीले अनावश्यक दुःख दिँदा घटना भएको आरोप लगाएका छन्। 

स्थानीय प्रत्यक्षदर्शीले पनि गणेशले यात्रु ओराल्न रोकेको मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्विल लक’ गरेपछि उनी आवेशमा आएर आफ्नै जिउमा आगो लगाएको बताएका छन्। त्यस क्रममा महानगर प्रहरीसँग गणेशको केहीबेर भनाभनसमेत भएको थियो। 

सार्वजनिक भएका कतिपय भिडिओमा उनी रोकिराखेको मोटरसाइकमा बसेर महिला प्रहरीसँग पनि विवाद गरिरहेको देखिन्छ। 

बिहीबार जिउमा आगो लगाएका गणेशले यही असार १३ पनि ‘ट्राफिक प्रहरीले दुःख दिएको’ भन्दै गाउँका भतिज पर्नेलाई म्यासेज पठाएका थिए। जसमा उनले ‘हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो यार। १००० तिर्नुपर्ने भो’, भनेर लेखेका छन्।

उनले म्यासेजको अन्तिममा दुईवटा रोइरहेको इमोजी पनि राखेका छन्। 

गणेशका दाजु मदनले आर्थिक समस्यासँगै बारम्बार जरिवाना तिर्नुपर्ने अवस्थाले भाइमा मानसिक तनाव बढेको हुनसक्ने बताएका छन्। गणेश वैदेशिक रोजगारीका लागि दुबई जाने प्रक्रियामा थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad