काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ परेका छन्।
शनिबार होल्डिङ सेन्टरबाट अन्सारीसहित जेनजी अभियन्ता नहेन्द्र खड्का र सरिश्मा थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले बताए। होल्डिङ सेन्टरमा गएर होहल्ला गरेकाले उनीहरूलाई नियन्त्रणमा लिएको प्रवक्ता भट्टराईको भनाइ छ।
बागमतीको बाढीले गए राति होल्डिङ सेन्टरमा डुबान भएको थियो। त्यहाँ राखिएका सुकुम्वासीको विचल्ली भएको थियो।
उनीहरूलाई सघाउन अन्सारीसहितका जेनजी युवा कीर्तिपुर पुगेका थिए। उनीहरूलाई लछारपछार गर्दै प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले अन्सारीलाई धक्कामुक्का पनि गरेको छ। उनको अनुहारबाट रगत बगेको भिडिओका देखिन्छ।
अन्सारीसहित तीनै जनालाई कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको अर्को जेनजी अभियन्ता अमीत उर्जाले जनाएका छन्। उनले सामाजिक फेसबुकमार्फत यसबारे जानकारी दिएका छन्।
प्रहरीले पक्राउ गर्दा अन्सारीलाई कुटपिट गरेको उनले बताएका छन्। कुटपिटबाट उनको अनुहारमा चोट लागेको छ।
Shares

प्रतिक्रिया