ad ad

कारोबार


२० दिनमा ३० अर्बले बढ्यो कर्जा प्रवाह, अझै किन कम छ माग?

२० दिनमा ३० अर्बले बढ्यो कर्जा प्रवाह, अझै किन कम छ माग?

केशर बोगटी
असोज २४, २०८० बुधबार १९:४६, काठमाडौँ

पछिल्लो २० दिनमा कर्जा प्रवाह ३० अर्ब बढेको छ। बैंकिङ प्रणालीमा १०० अर्ब निक्षेप थपिँदा ३० अर्ब कर्जा प्रवाह बढेको हो। 

वैशाखदेखि साउनसम्म ठप्प रहेको कर्जा भदौ लागेपछि बढ्न थालेको हो। भदौ सुरुदेखि बढ्न थालेको कर्जा असोज २० गतेसम्म आइपुग्दा ७४ अर्बले बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।

भदौ (एक महिना)मा बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह बढाएका थिए। असोज (२० दिन) मा मात्रै कर्जा प्रवाह ३० अर्बले बढेको छ। 

पछिल्लो दुई महिनामा बैंकिङ प्रणालीबाट ७४ अर्ब कर्जा प्रवाह बढेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा धेरै हो। 

गत वर्ष सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ५४ अर्बले बढेको थियो। गतवर्षको तुलनामा यो वर्ष (भदौ र असोज)मा भएको कर्जा प्रवाह २० अर्ब बढी हो।  

साउनमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह खुम्चिए पनि विस्तारै बढ्न थालेको छ। 

आर्थिक वर्षको सुरुदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) हुँदा पनि साउनमा कर्जा घटेको थियो। भदौपछि भने बैंकहरुले कर्जा प्रवाह बढाउन थालेका छन्।

भदौ लागेपछि एलसी खोल्ने क्रम पनि बढेको बैंकरहरुले बताएका छन्। गत वर्षको तुलनामा केही उत्साह बढेको छ तर त्यसअघिका वर्षहरुको तुलनामा अहिलेको कर्जा प्रवाह भने निकै नै सुस्त रहेको उनीहरुको भनाइ छ। 

अधिकांश बैंकले सेयर, अटो र घर कर्जामा केन्द्रित भएर कर्जा योजना सार्वजनिक गरेका छन्। कतिपयले आधार दरमा कम मात्र प्रिमियम थपेर त कतिपयले फिक्स्ड दरमा कर्जा योजना ल्याएका छन्। परिणामतः विस्तारै कर्जा प्रवाह बढ्न थालेको उनीहरुको भनाइ छ। 

गत वर्ष बाह्य क्षेत्रलाई सन्तुलनमा ल्याउन आयातमा गरिएको कडाइले एलसी खोल्ने क्रम निरुत्साहित हुँदा कर्जाको माग भएन भने समष्टिगत मागमा पनि कमी आयो। अहिले भने सरकारले अर्थतन्त्र चलायमान बनाउन जग्गाको कित्ता काट खुलाएको छ। साथै, स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने सुविधा दिएको छ। 

नेपाल राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गरेको छ। यसले बैंकको खराब कर्जामा सुधार हुने देखिन्छ। गत वर्ष खराब कर्जा बढ्ने डरले कर्जा खुम्चिएका बैंकहरुलाई यसले थप मद्दत मिल्ने देखिएको छ। 

राष्ट्र बैंकको निश्चित नियमले गर्दा बैंकको ब्याजदर बढेको पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री बताउँछन्। उनले गत वर्षको तुलनामा यो वर्ष कर्जा प्रवाह विस्तारै बढ्न थालेको बताए। 

‘गत वर्षको तुलनामा कर्जा बढ्न थालेको छ। तर, अघिल्ला वर्षको तुलनामा न्यून हो,’ उनले भने, ‘बजार सुस्त छ। विश्वासको पनि कमी छ। यी कारणले कोभिडअघिको जस्तो कर्जा प्रवाह नभए पनि विस्तारै कर्जा बढ्न थालेको देखिन्छ।’

कर्जाको ब्याजदर नघटेसम्म कर्जा प्रवाह उल्लेख्य रुपमा नबढ्ने उनको भनाइ छ। 

कर्जाको ब्याजदर नै उच्च हुँदा माग नभएको एक बैंकरले बताए। उनका अनुसार उद्योगी व्यवसायीलाई कर्जा चाहिएको छ। तर, बढ्दो ब्याजदरले उनीहरु कर्जा लिन तयार छैनन्। 

‘चाडपर्वका कारण केही उपभोग्य कर्जा बढे पनि अन्य कर्जाको माग बढ्न सकेको छैन,’ उनले भने, ‘अटो कर्जा र ५० करोडसम्मको सेयर धितो कर्जा र उपभोग्य कर्जाको सामान्य माग छ। अन्य कर्जाको माग नै आएको छैन।’

दसैँअघि कर्जा माग बढ्ने उनी बताउँछन्। 

‘डिपोजिटको ब्याजदर बढिरहेको छ, त्यसले कर्जालाई पनि असर गर्छ,’ उनले भने, ‘ब्याजदर बढाएर पनि बैंकहरुलाई फाइदा त छैन। डिपोजिटमै ११÷१२ प्रतिशत ब्याजदर पुगेको छ। निक्षेपको ब्याज ११÷१२ प्रतिशत आएपछि मान्छेले किन रिस्क लिएर व्यापार व्यवसाय गर्ने भन्ने पनि होला।’

एकातिर अस्थिर नीति र बढ्दो ब्याजदरले कर्जाको माग बढ्न नसकेको उनको भनाइ छ।

‘ब्याजदर घटेको भए नव उद्यमीलाई पनि कर्जा लिन सहज हुन्थ्यो। उनीहरुको हौसला पुग्ने र मनोबल बढ्ने हुन्थ्यो,’ उनले भने, ‘हामीले कर्जा लिन आऊ भन्दा कोही कर्जा लिन आएको र आउन अवस्था नै छैन।’

बैंकहरुको औसत बेसरेट नै १० प्रतिशतमाथि छ। त्यसमा प्रिमियम जोड्दा ब्याजदर नै महँगो छ। यस्तो अवस्थामा ऋण माग नबढ्ने उनको भनाइ छ। 

फिक्स रेटको कर्जाको समेत माग नभएको ती बैंकर बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .