वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै कर्जा (ऋण)को ब्याजदर सस्तो हुन थालेको छ।
निक्षेपको ब्याजदर घटेपछि बैंकहरूको आधारदर घट्न गई ऋणको ब्याजदरसमेत कम हुन थालेको हो।
मंसिरमा मात्रै वाणिज्य बैंकहरूको व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर ०.३३१ प्रतिशतले घटेर ९.६३२ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर ७.५४३ प्रतिशतमा झरेको छ।
बैंकहरूले निक्षेपकर्तालाई दिने ब्याजदर घट्दै गएकाले आधार दर पनि घट्दो क्रममा छ, यसले ऋणीलाई ब्याजदर महिनैपिच्छे घट्न गई राहत पुग्छ।
आधारदरमा भएको परिवर्तन हेरी पछिल्लो तीन महिनाको औसत दर अनुसार महिनापिछे ब्याजदर पनि परिमार्जन गर्नुपर्छ।
जसअनुसार पछिल्लो तीन महिनामा बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको औसत ०.६३१ प्रतिशत र संस्थागततर्फ ०.६९५ प्रतिशतले ब्याजदर घटाएका छन्।
बैंकहरूले निक्षेपकर्तालाई दिने ब्याजदर घट्दै गएकाले आधारदर कम भई ब्याजदर घट्न थालेको छ।
बैंकहरूले ब्याजदर घटाउन थालेपनि कर्जा प्रवाह बढ्न सकेको छैन।
पछिल्लो दुई महिना (असोज र कात्तिक)मा १७१ अर्ब निक्षेप थपिँदा ६६ अर्ब मात्रै कर्जा प्रवाह भएको छ। यसले पनि कर्जा प्रवाह सुस्त रहेको देखाउँछ।
साथै, बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) समेत ८१ प्रतिशत र अन्तर बैंक ब्याजदर २.९८ प्रतिशत छ। यसले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेको देखाउँछ।
कर्जा प्रवाह सुस्त रहेको बेला बैंकहरूको खराब कर्जा उल्लेख्य मात्रामा बढेको देखिन्छ।
असोज मसान्तसम्म आइपुग्दा बैंकहरूको औसत खराब कर्जा साढे ३ प्रतिशत पुगेको छ। आधा दर्जन वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशत माथि पुगेको छ। कृषि विकास बैंकको खराब कर्जा ५ प्रतिशत नाघेको छ।
खराब कर्जा ५ प्रतिशत नाघ्नु जोखिम युक्त मानिन्छ।
निरन्तर बढ्दो ब्याजदरले उद्योगी व्यवसायीको कन्फिडेन्ट घटेर कर्जाको माग नदेखिएको जानकारहरू बताउँदै आएका थिए। तर, पछिल्लो समय ब्याजदर घट्न थालेपनि कर्जाको माग बढ्न सकेको छैन।
प्रणालीमा अधिक तरलता भएको बेला कर्जा प्रवाह नहुनु निष्कृय कर्जा सुधार नहुँदा भविष्यमा समस्या देखा पर्न सक्ने जानकार बताउँछन्।
सरकारले पुँजीगत खर्च गर्न सकिरहेको छैन। अर्कोतिर व्यवसायीको कन्फिडेन्ट घटेको अवस्था छ।
सरकारले पूर्वाधार क्षेत्रमा खर्च गर्न नसक्नु र उद्योगी व्यवसायीमा कन्फिडेन्ट नदेखिँदा कर्जाको माग बढ्न नसकेको उनीहरूको भनाई छ।
उद्योगी व्यवसायीमा कन्फिडेन्ट बढाउन सके मात्रै कर्जाको माग बढ्ने देखिन्छ।
ब्याजदर घट्न थालेपनि कर्जाको माग नबढ्दा बैंकहरू प्रिमियमा छुट दिन थालेको नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसी बताउँछन्।
‘ब्याजदर घट्न थालेको छ, चाडपर्व सकिएपछि कर्जाको माग बढ्दै जाला’, केसीले भने।
बैंकहरूको निष्कृय कर्जा साढे ३ प्रतिशत पुगेको बेला ब्याजदर १३/१४ प्रतिशत हुँदा व्यवसायीलाई ऋण तिर्न गाह्रो हुन्छ, यस्तो बेला ब्याजदर ९/१० प्रतिशतमा ल्याएर उत्पादनमूलक क्षेत्रमा कर्जा प्रोत्साहन गरे कर्जाको माग बढ्ने र खराब कर्जा सुधार हुने देखिन्छ।
प्रणालीमा लगानीयोग्य रकम (तरलता) छ, उद्योगी व्यवसायीको कन्फिडेन्ट बुस्ट गर्ने काम गरे कर्जा प्रवाह विस्तारै बढ्दै जाने बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल बताउँछन।
ब्याजदर सकारात्मक दिशामा रहेकाले अब आत्मबल बढाउने काम गरे कर्जा प्रवाह बढ्ने दाहाल भनाई छ।
‘ब्याजदर सकारात्मक डिरेक्सनमा छ। बैंकहरूसँग लोन दिन सक्ने पैसा छ। विदेशी विनिमय सञ्चिती १६ खर्ब ४३ अर्ब पुगेको छ, ६÷७ वर्षपछि चालु खाता ५९ अर्ब ९ करोड बचतमा देखिएको छ’, दाहालले नेपालखबरसँग भने, ‘कर्जा प्रवाहको लागि वातावरण सहज देखिएको छ। यतिबेला विजनेश कन्फिडेन्ट पाटो मात्रै सम्बोधन गरिए कर्जा प्रवाह बढ्छ।’
बैंकहरूको खराब कर्जा बढ्दै गइरहेकाले यस्तो खराब कर्जा घटाउन आर्थिक गतिविधि चलायमान बनाउन आवश्यक रहेको दाहालको भनाई छ।
‘अधिकांश बैंकहरूले आधार दरमा कर्जा दिइरहेका छन्। केही क्षेत्रमा वेशरेट भन्दा २ प्रतिशत भन्दा बढी लिन नपाउने गरी राष्ट्र बैंकले नै तोकिदिएको छ’, उनले भने, ‘नयाँ व्यापार व्यवसाय गर्नेलाई यसले उत्साह प्रेरणा दिन्छ।’
कर्जा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पर्छ। आयात मात्रै गर्ने हो भने भोलि फेरि समस्या हुन सक्छ, त्यसैले उत्पादनमूल्क क्षेत्रमा थप सुविधा दिन राष्ट्र बैंक, बैंकर र उद्योगी बसेर छफलफ गरे हुन्छ, दाहालले भने।
Shares
प्रतिक्रिया