बागमती


सुनसरीमा गर्न लागिएको धर्मसभा स्थगित गर्न स्थानीय प्रशासनको आग्रह

सुनसरीमा गर्न लागिएको धर्मसभा स्थगित गर्न स्थानीय प्रशासनको आग्रह

नेपालखबर
मंसिर ४, २०८० सोमबार १७:३९, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय सुनसरीले मुस्लिम धर्मावलम्वीहरुले आयोजना गर्न लागेको धर्मसभा तत्कालका लागि स्थगित गर्न अनुरोध गरेको छ।

सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले खनार र दुहवीमा आयोजना गर्न लागिएको सो कार्यक्रम स्थगित गर्न आयोजकहरुलाई आग्रह गरेको हो।

गृह मन्त्रालयको निर्देशन, आयोजक संस्थाहरुसँगको छलफल र जिल्लास्थिति सर्वदलीय बैठकको निर्णयअनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सो कार्यक्रम स्थगित गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

उनले आयोजक संस्थाहरुले मुलुकको कानुनको पालना गर्न पनि सो कार्यक्रम स्थगित गर्ने विश्वास व्यक्त गरिन्।

उनले भनिन्, ‘इस्लाम धर्मावलम्वीहरुको इस्तिमा कार्यक्रमलाई तत्कालका लागि सुरक्षा संवेदनशीलताका कारण स्थगित गर्न, गराउन भनि गृह मन्त्रालयको लिखित निर्देशन भए बमोजिम आयोजक पक्षसँग पटकपटक छलफल गरेर लिखित सहमति पनि कायम गरिएको अवस्था छ। र, सँगसँगै राजनीतिक दलसँग पनि सर्वपक्षीय र सर्व दलीय बैठक गरेर पनि यो कार्यक्रमलाई स्थगित गर्ने, गराउने गरी निर्णय गरिएको छ। सो अनुसार आयोजक पक्षलाई जानकारी पनि गराइसकिएको छ।’

उनले थपिन्, ‘हामीले अपेक्षा गरेका छौं–यो कार्यक्रम उहाँहरुले स्थगित गर्नुहुनेछ। र, नेपाल सरकारको निर्देशन र कानूनलाई उहाँहरुले पालना गर्नु हुनेछ भन्ने विश्वास हामीले लिएका छौं।’

सुनसरीको खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गतेसम्म दुई फरक समूहले छुट्टाछुट्टै मुस्लिम धर्म सभा इस्तिमा कार्यक्रम आयोजना गर्न लागेका थिए। जसलाई गृह मन्त्रालयले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै इजाजत दिन नसकिने जनाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .