बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ल्याएको बजेटमाथिको छलफल जारी छ। गत मंगलबारबाट सुरु भएको छलफल जारी रहँदा सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्रको विवादले बजेट पास गर्ने विषयमै अन्यौलता सिर्जना गरेको छ।
बागमतीमा कांग्रेसको दुई धार छ। निर्वतमान मुख्यमन्त्री बहादुर सिंह लामा र मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँबीच दूरी बढेको कांग्रेस नेताहरू बताउँछन्।
निवर्तमान मुख्यमन्त्री लामाका अनुसार पठाएको योजना कटौती गरेर आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आफ्ना मान्छेहरूको योजनामात्रै समावेश गराएका हुन्।
‘योजनाहरू सबै अर्थमन्त्री, मुख्यमन्त्री र अरु केही मन्त्रीको जिल्लामा मात्रै केन्द्रित देखियो,’ लामाले भने, ‘विवाद भनेर बाहिर चर्चामा आए जस्तो ठुलो विवाद होइन। सरकारले बजेट सच्याउन जरुरी छ। यत्तिकै बजेट पास गराउने मनस्थितीमा हामी छैनौँ।’
सरकारकै नेतृत्व गरिरहेको दलभित्र देखिएको मतभेदका कारण बजेटमाथिको छलफलसमेत प्रभावित बनेको छ। विपक्षी दलले बजेटमाथि प्रश्न उठाउन नपाउँदै सत्तारुढ दलकै सांसदहरूले विभिन्न विषयमा असन्तुष्टि जनाएपछि राजनीतिक वृत्तमा सरकार परिवर्तनको खेल सुरु भएको हो कि? भन्ने चर्चा चुलिएको छ।
यद्यपि, बजेटसँग सम्बन्धित विषयमा देखिएको यो असन्तुष्टि र मतभेदलाई लिएर नेपाली कांग्रेसभित्र तत्काल नेतृत्व परिवर्तनको कुनै प्रक्रिया वा खेल सुरु हुने अवस्था नरहेको पूर्वमन्त्री एवम् सांसद तीर्थ लामा बताउँछन्। बजेटका केही विषयमा फरक मत देखिनु स्वाभाविक राजनीतिक प्रक्रिया भए पनि त्यसलाई नेतृत्व परिवर्तनसँग जोडेर हेर्नु अहिलेका लागि हतारो हुने उनको भनाइ छ।
‘हरेक माननीयको आ–आफ्नो क्षेत्रमा ठुला योजनाहरू लैजाने चाहना हुन्छ,’ लामाले भने, ‘यही विषयमा सामान्य मतभेद भएको हो। तर दलको नेता फेर्ने, सरकारको नेतृत्व नै फेर्ने जस्ता काम हुँदैन। सभापति गगन थापाज्यूसँग मुख्यमन्त्रीज्यू लगायत हाम्रो टोली एक चरणको छलफलमा बसिसकेका छौँ। मुख्यमन्त्रीज्यू आफैं प्रदेश सभापति पनि हो। सामान्य विवादले कांग्रेसभित्र दरार आउँदैन।’
लामा समूहका सांसद सदनमा उपस्थित भएनन् भन्ने चर्चा नै गलत भएको उनी बताउँछन्। लामा पक्षकै अर्का सांसद रामकृष्ण चित्रकार पनि प्रदेशका सरकारको नेतृत्व परिवर्तको चर्चा हल्ला मात्रै भएको दाबी गर्छन्।
‘पहिले के भयो भन्ने कुरा हामी खोतल्न चाहान्नौँ, चित्रकारले भने, जेन–‘जी आन्दोलन पश्चात् देशको राजनीतिक अवस्था संकटमा छ। यस्तो परिस्थतीमा नेतृत्वको लागि बार्गेनिङ गर्दै हिँड्ने समय पनि होइन। कोही त्यसरी हिँडेको पनि छैन। बजेट विनियोजमा गरिएको विभेदका कारण मतभेद भएको हो। अरु हल्ला मात्रै हुन्।’
यता, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ निकट स्रोतका अनुसार आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर नयाँ संरचनामा सरकार सञ्चालन गर्ने तयारी भइरहेका बेला आफ्नो समूहको प्रतिनिधित्व सुनिश्चित गर्न आन्तरिक दबाब बढेको चर्चा छ।
हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ मन्त्रालय रहेको प्रदेश सरकारमा लामा समूहबाट एक जना पनि मन्त्री नबनेपछि उक्त समूह असन्तुष्ट रहेको बताइन्छ। यही पृष्ठभूमिमा मन्त्रालयको संख्या घटेर ८ मा सीमित हुने तयारी भइरहेका बेला केही महत्वपूर्ण मन्त्रालय आफ्ना निकट सांसदलाई दिलाउन पावर सेयरिङको प्रयास भइरहेको बताइएको छ।
यसैबीच, कांग्रेसभित्र देखिएको मतभेदलाई समाधान गर्ने प्रयासस्वरूप कांग्रेस संसदीय दलको बैठक शनिबार (भोलि) बोलाइएको सांसदहरूले बताएका छन्। कांग्रेस महामन्त्री गुरु बरालको नेतृत्वमा बस्ने उक्त बैठकमा पार्टीभित्र उत्पन्न असन्तुष्टि, बजेटसँग सम्बन्धित विवाद तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। बैठकका लागि कांग्रेसका सबै सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको स्रोतको दाबी छ।
मंगलबारदेखि सुरु भएको बजेटमाथिको छलफलपछि आज बजेट पारित गर्ने सरकारको तयारी रहेको थियो। तर सत्तारुढ कांग्रेसकै अधिकांश सांसद सदनमा अनुपस्थित भएपछि बजेट पारित गर्ने कार्यसूची प्रभावित बनेको छ।
Shares

प्रतिक्रिया