ad ad

कारोबार


सुनकोशी–मरिन डाइभर्सनका कारण स्थानान्तरण हुँदै बीपी राजमार्ग, १ किलोमिटर नयाँ सडक बन्ने

१०.४ किमि सुरुङ खनियो, २.९ किमि बाँकी
सुनकोशी–मरिन डाइभर्सनका कारण स्थानान्तरण हुँदै बीपी राजमार्ग, १ किलोमिटर नयाँ सडक बन्ने

वसन्त अर्याल
मंसिर १२, २०८० मंगलबार २१:२७, काठमाडौँ

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण गर्दा बीपी राजमार्ग स्थानान्तरण हुने भएको छ। करिब १ किलोमिटर सडक डुबानमा पर्ने भएकाले स्थानान्तरण गर्न लागिएको हो। 

आयोजनाको सर्ज ट्यांक र टेलरेसको स्थान प्राविधिक कारणले स्थानान्तरण गरिने भएको हो। २६ मिटर चौडा र ६२ मिटर गहिरो सर्ज ट्यांक कुकुमटारमा स्थानान्तरण हुनेछ। ट्यांकका कारण बीपी राजमार्ग डुबानमा पर्छ।

‘आयोजना निर्माण पश्चात बीपी राजमार्गको खण्ड डुबान क्षेत्रमा पर्ने भएकाले स्थानान्तरण गर्न आवश्यक छ,’ पूरक वातावरणीय मूल्यांकन प्रतिवेदनमा भनिएको छ, ‘बीपी राजमार्गका लागि थप १४.०९ हेक्टर वन क्षेत्र आवश्यक पर्ने भएको छ।’

बीपी राजमार्गको १ हजार ६२ मिटर नयाँ सडक बन्ने छ। यसका लागि ०.३८ हेक्टर सामुदायिक वन र १३.७१ हेक्टर राष्ट्रिय वन आवश्यक हुने छ।

‘अहिले भएको सडक डुबानमा पर्ने भएकाले आयोजना निर्माण अवधिभर साढे २ किमी नयाँ सडक बनाएर ट्राफिक डाइभर्सन गछौँ,’ आयोजना प्रमुख मित्र बरालले भने, ‘आयोजना बनेसँगै नजिकैबाट करिब १ किलोमिटर नयाँ सडक बन्छ।’

सर्ज ट्यांक पनि सुरुङको निकासविन्दु र पावरहाउस नजिक स्थानान्तरण गर्दा पहुँचका लागि साजिलो तथा पहुँचमार्ग निर्माण गर्नु नपर्ने प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, स्थानान्तरण हुने ठाउँ अयोजनाले भोगाधिकार लिई सकेको जग्गामा बन्नेछ। रुख कटान गर्नु नपर्ने भएकाले स्थानान्तरण सान्दर्भिक रहेको आयोजनाले जनाएको छ। 

बीपी राजमार्गको ४२५ मिटर डुबान क्षेत्रमा पर्ने आयोजनाले उल्लेख गरेको छ। त्यस्तै प्रवेश मार्ग, डिस्यान्डर लगायतको संरचनाहरु व्यवस्थापन गर्न ४७५ मिटर प्रयोगमा आउने छ। जसका कारण १ हजार ६२ मिटर (१ कि.मी ६२ मिटर) नयाँ बनाउनु पर्नेहुन्छ। 

आयोजना निर्माण स्थल राजमार्गको नजिक तथा बीपी राजमार्गको स्थानान्तरण र पहुँच सडक निर्माण गर्दा सो राजमार्ग भएर गुड्ने सवारी साधनलाई केही समय रोकेर काम गर्नुपर्ने हुन्छ। 

उक्त समयमा ट्राफिक जाम हुने र व्यवस्थापनमा कठिनाई हुन सक्ने आयोजनाले जनाएको छ। 

सर्ज ट्यांक र टेलरेसको स्थाना सार्दा साढे २ मेगावाट विद्युत् थप हुन्छ। पुरानो डिजाइन अनुसार २८.६२ मेगावाट ३१.०७ मेगावाटमा वृद्धि गर्न लागिएको छ। उत्पादित जलविद्युत् डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिड अन्तर्गत सर्लाहीको नवलपुर उप केन्द्रमा जोडिने छ। 

टेलेरेसको स्थान पनि केही मिटर पूर्व सार्दा अयोजनाले भोगाधिकार लिएको जग्गामा नै रहने तथा मरिण खोलामा पानी निकासका लागि सजिलो हुनेछ। 

आयोजनाको पहुँच सडकको सुरुको १ किलोमिटर खण्ड तुलनात्मक रुपमा ट्राफिक कम हुने समय विहान ६ देखी ९ बजेसम्म निर्माण गर्ने योजना छ। 

१०.४ किमी सुरुङ खनियो, २.९ किमी बाँकी
२०७७ सालमा सुरु भएको अयाोजना टीबीएम मेसिन प्रयोग गरेर सुरुङ तयार गरिँदै छ। सुरुङमार्ग लक्ष्य भन्दा छिटो खनिएपनि विद्युत् उत्पादनका लागि हेडवक्र्स लगायतका काम पूर्वधार भर्खर सुरु हुँदैछ। 

‘आयोजनाको हालसम्म कूल प्रगति १०.२ किमी खनिएको छ। अब २.९ किमी मात्रै बाँकी छ,’ बरालले भने, ‘सुरुङ बनेको डेढ वर्ष फिनिसिङको काम गर्न लाग्छ।’

ड्याम्प, पावर हाउस बनाउने ४ वर्षको ठेक्का लागेको छ। सुरुङ मार्गको पूरा काम सकिदाँ बाँकी निर्माण सकिने बराल बताउँछन्। 

सुनकोशी मरिन डाइभर्सन आयोजना २०२७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हेडरेस टनेल निर्माणको ठेक्का सम्झौता भई अघि बढेको छ। कमलामाई नगरपालिका वडा नम्बर ३ को कुसुमटाबाट टनेल निर्माण भइरहेको छ।

आयोजनाको लागत ४६ अर्ब १९ करोड रुपैयाँ रहेको छ। ३१.०७ मेगावाटको जलविद्युत् उत्पादन हुने छ। आयोजना सम्पन्नपछि बागमती सिंचाई आयोजनामा थप १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिंचाई पुग्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .